जेठ ७, २०८१ सोमबार May 20, 2024

मंगल चतुर्थीमा किन गर्ने भगवान् गणेशको आराधना?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दु संस्कृतिमा भगवान् गणेश मंगलकारक देवताका रूपमा पुजिन्छन् । उनी सिद्धिदायक, वरदायक र विघ्ननाशक देवताका रूपमा चिनिन्छन् । यिनको पूजाबाट भक्तका समस्त संकट र कष्ट समाप्त हुने विश्वास गरिन्छ ।

भगवान् भाद्र शुक्ल चतुर्थीका दिन प्रकट भएका थिए । गणेशजी प्रकट भएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग थियो । त्यसैले यस्तो संयोगलाई भगवान् गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति महत्त्वपूर्ण तिथिका रूपमा लिइएको हो ।

मंगल चौथी भगवान् गणेशको आराधना गर्ने पवित्र दिन हो । यो दिन प्रातःकालमा स्नानादिबाट निवृत्त भई पवित्र वस्त्रधारण गरेर भगवान् श्री गणपतिसहित भगवान् शिव र माता पार्वतीको पूजा गर्ने परम्परा छ । यो दिन भगवान् गणेशको प्रसन्नताका निम्ति दिनभरि भजनकीर्तन गर्ने, उनको स्तोत्र पाठ गर्ने र आरती गर्ने विधान छ । त्यसैले मंगलवारलाई भगवान् गणेशको प्रिय दिन मानेर साता नै पिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि छ ।

गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मबारे वर्णन छ । भारद्वाज मुनि र पृथ्वीका पुत्र मंगलको जन्म चतुर्थी तिथिमा नै भएको थियो भने उनले सिद्धि प्राप्त गरेको दिन पनि चतुर्थी तिथि नै थियो । मंगल ग्रहको जन्मपछि उनले आफूले ज्ञान, सिद्धि र प्रतिष्ठा प्राप्त गर्न कठिन तपस्या गरे । भगवान् गणेश प्रसन्न भए र वरदान पाए । यसरी मंगल ग्रहले गणेशजीको दर्शन पाएको र वरदान प्राप्त गरेको दिन माघकृष्ण पक्षमा पर्ने चतुर्थी तिथि थियो ।

त्यसदिन ग्रह एवं नक्षत्र जसका अंश हुन्, ती गजानन गणेशको वरदानबाट मंगललाई मंगलकारक ग्रहका रूपमा आकाशमण्डलमा विशिष्ट स्थान प्राप्त भयो । भगवान् गणेशले मंगल ग्रहलाई आशीर्वाद र वर दिँदा भनेका थिए, ‘मंगलबार र चतुर्थीको संयोग भएको दिन मेरोे अनुष्ठान र भक्ति गरी व्रत लिन्छ उसका समस्त कष्ट एवं विघ्न समाप्त हुनेछन् ।’

एउटा अर्को कथाअनुसार भगवान् शंकरले गणपतिसित प्रसन्न भई प्रत्येक मंगल चतुर्थीका दिन चन्द्रमा ‘मेरो शिरबाट सरेर तिम्रो शिरमा शोभायमान हुनेछन्’ भन्ने वर प्रदान गरेका थिए । त्यसैले मंगलचौथी वा अंगारकी चतुर्थी परेको विशिष्ट दिनमा श्रीगणेशको उपासना र व्रत सम्पादन गर्नाले कायिक, वाचिक र मानसिक तीनै किसिमका पाप नाश हुनुका साथै तीनै  ताप हरण हुन्छ भन्ने मान्यता छ ।

यो तिथिका दिन जसले श्रद्धाभक्तियुक्त भई निष्ठापूर्वक श्रीगणेशको पूजा गर्छ, उसले मनोवाञ्छित फल प्राप्त गर्छ । सन्तान नहुने दम्पतीले विधिपूर्वक गणेशजीको उपासना गर्दा सन्ततिलाभ गर्छ भन्ने आशीर्वाद भगवान् शिवबाट प्राप्त भएको कथाको सन्दर्भ पनि मंगलचौथीकै माहत्म्यमा उल्लेख छ । त्यसैले भगवान् श्रीगणेशका भक्तहरू प्रत्येक चतुर्थीका दिन अति श्रद्धाका साथ व्रत लिने गर्छन् ।

कृष्णपक्षको चन्द्रोदयरहित चतुर्थीलाई पापनाशक चतुर्थी र शुक्लपक्षको चन्द्रोदययुक्त चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ । धर्मग्रन्थहरूमा चतुर्थीका दिन विधिवत् व्रत गर्नाले मंगलमूर्ति श्रीगणेश तत्काल प्रसन्न हुन्छन् भनिएको छ । यो दिन मंगलबार परेको बेला विधिवत् व्रत गर्नाले वर्षभरका चतुर्थीको व्रतको पुण्य प्राप्त हुने बताइएको छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया