असार २२, २०८१ शनिबार July 6, 2024

कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नोवेल कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ। फिलिपिन्सको मनिलामा कोरोना भाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको बिबिसीले जनाएको छ ।

ती व्यक्ति कोरोना भाइरस पहिलो पटक पत्ता लागेको चीनको वुहान शहरबाट फिलिपिन्स फर्किएका थिए। फिलिपिन्स आइपुग्नु अघि नै उनी कोरोना भाइरसबाट संक्रमित भएको पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको बताइएको छ । भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र गतिमा बढेपछि विश्वव्यापी रुपमा सतर्कता बढाइएको छ । विश्वका धेरै देशहरुले कोरोनाको प्रकोप आफ्नो देशमा फैलन नदिन अनेकन उपायहरु अबलम्बन गरिरहेका छन् ।

अमेरिका र अष्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश निधेष गरेको छ। यस्तै अमेरिकामा चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालिएको छ ।

यस अघि रसिया, जापान, पाकिस्तान र इटाली लगायतका देशहरूले यस्तै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए। चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया