भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्रियसभा बैठकः त्रिविको ताला खुलाउन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सांसदहरुले मुलुककै जेठो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला खुलाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ ले त्रिवि पदाधिकारीको कार्यकक्षमा १३८ दिनदेखि लगाइएको ताला खुलाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद रावलले लामो समयदेखि त्रिविमा तालाबन्दी हुँदा  पनि सरकार बेखबर देखिएको बताउनुभयो ।

“प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहेको  संस्थामा १३८ दिनदेखि तालाबन्दी छ,” उहाँले भन्नुभयो, “सरकारको नेतृत्वमा रहेको नेपाली कांग्रेसको भ्रातृ सङ्गठनले नै तालाबन्दी गरेकाले सरकारले नै त्रिविमा ताला लगाएको जस्तो देखिन्छ ।

त्रिविको ताला तुरुन्तै खोल्नु पर्दछ ।”त्रिविका पदाधिकारीको पटक पटक सुरक्षाको माग गर्दा पनि सरकारले सुरक्षा प्रदान दिन नसकेको समेत सांसद रावलको भनाइ थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विश्वविद्यालय  सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका कुनै पनि कार्यक्रमका लागि बजेट नभएको  भन्दै उहाँले सरकार विश्वविद्यालयप्रति उत्तरदायी नदेखिएको बताउनुभयो ।

नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्दै आएका छन् ।

आंशिक शिक्षकले आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए ।नेविसङ्घ र आंशिक शिक्षकले लगाएको ताला यही जेठ १८ गते नेकपा (क्रान्तिकारी)ले फोडे पनि फेरि जेठ १९ गते पुनः उनीहरुले संयुक्त रुपमा ताला लगाइएको थियो ।

रेडक्रसको अनियमिता र हस्तक्षेप छानबिन गर्न समिति गठनको माग 

सांसद विमला राई पौडेलले वर्षायाममा प्राकृतिक प्रकोपका घटना बढ्न सक्ने भएकाले नेपाल रेडक्रस सोसाइटीलाई सक्रिय बनाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले अहिलेको सरकारले रेडक्रसलाई निष्क्रिय बनाउँदा   यसबाट प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा कठिनाइ हुने भएकाले यस्तो मानवीय संस्थालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

सांसद पौडेलले अदालतबाट पुनः स्थापित गरिएका पदाधिकारीलाई काममा लगाउनुपर्नेमा जोड दिनुभयोे । उहाँले संसदीय छानबिन समिति बनाएर त्यहाँ भएको अनिमितता र सरकारी हस्तक्षेपको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया