श्रावण ३०, २०८३ शनिबार August 15, 2026

‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल

नीतिगत र संरचनागत कमजोरी सुधारेर उपलब्धि हासिल गर्न सकिनेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ३० गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचसाथ पर्यटनमैत्री कानुन निर्माण आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार यहाँ आयोजित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको र पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो । पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकारले समयसापेक्ष पर्यटनमैत्री कानुन र पर्यटन व्यवसायीले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउन आवश्यक छ ।”

पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्न सके आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थ अन्त्य हुने जनाउँदै उहाँले पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढ्न आग्रह गर्नुभयो ।

सभामुख अर्यालले काठमाडौँ उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताउँदै अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्र विकासका लागि नेपाललाई युरोपेली सङ्घको ‘एयर सेफ्टी लिस्ट’ बाट यथाशीघ्र हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसका लागि पर्यटन व्यवसायीको समेत सहयोग र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै गरी नेपाली र विदेशी पर्यटकबिच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो । उहाँले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई अझ बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपालको समुल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण पर्यटनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताउँदै उहाँले नीतिगत र संरचनागत कमजोरी सुधारेर उपलब्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीबाट अपेक्षित सुधार गर्न कठिन रहेको बताउँदै उहाँले बोर्डको लगानीलाई पूर्वाधार तथा प्रवर्धनमा केन्द्रित गर्ने जनाउनुभयो । त्यस्तै गरी उहाँले वायु सेवा निगमको अवस्था दयनीय रहेकाले यसलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पौडेलले युरोपेली सङ्घले नेपालका हवाई सेवाप्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको जनाउनुभयो ।

एक सांसद, एक वृक्षरोपण 

सङ्घीय संसद् सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद् भवनपरिसरमा एक सांसद, एक वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले शुक्रबार एभोकाडोको बिरुवा रोपेर उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको सहभागिता रहेको थियो ।

उक्त अवसरमा धारणा राख्दै सभामुख अर्यालले संसद् भवनपरिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले एक सांसद, एक वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले करिब पाँच सय वटा विभिन्न प्रजातिका बिरुवा रोप्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार