वैशाख ३१, २०८१ सोमबार May 13, 2024

वाचक र पण्डित बन्दै बेसाहारा किशोरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत वाचनसम्म गराउन सक्ने भएका छन् ।

केही समयअघि भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलन्यास समारोहमा तिनै किशोरीले वैदिक कर्म गरेर शिलान्यासको शुभारम्भ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यिनै किशोरीले देशका विभिन्न २० यस्ता यज्ञ गरिसकेका छन् । अन्य सबै खालका अनुष्ठान र कर्ममा यी किशोरीले काम गर्दै आएका छन् ।

आश्रममा पाँच वर्षदेखि १९ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । लोककल्याण सेवा प्रतिष्ठानले भरतपुर महानगरपालिका–१ देवघाटमा आश्रम सञ्चालन गरेको छ । आश्रमका अध्यक्ष सावित्री टण्डनको भनाइमा त्यहाँ पाँच किशोरी महायज्ञसम्मका कर्म गर्न सक्षम भएका छन् । वैष्णवी, स्मृति, राधिका, तुलसा र सुनिता यी कर्म गर्न सक्ने भएका हुन् । उनीहरुको नामको पछाडि लोककल्याणकारी राखिएको छ ।

बेसाहारा बनेका किशोरीलाई आश्रममा ल्याएर शिक्षादीक्षासँगै हुर्काइएको हो । उनीहरुलाई दिनको समयमा नजिकै रहेको सीताराम संस्कृत माविमा पढाइदै आएको छ । एक जना छोरी वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातक पढ्दै आएकी छिन् ।

अध्यक्ष टण्डनले दिनको समयमा विद्यालय र कलेज जाने किशोरीले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण, श्रीमद्देवी भागवतलगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । उनीहरु बिहान र साँझको समयमा भजनकीर्तन, योग पनि गर्ने गर्दछन् । यसका अतिरिक्त दैनिक नित्य कर्ममा पनि उनीहरु सहभागी हुन्छन् ।

अध्यक्ष टण्डनले छोरीहरु धार्मिक अनुष्ठानमा नेतृत्वदायी सहभागी हुने गरेको बताए । उनीहरुले कर्म र अन्य अवस्थामा प्राप्त गरेका दान दक्षिणालाई सहकारीमा खाता खोलेर जम्मा गर्ने गरिएको छ । चितवन र छिमेकी जिल्लामा हुने कर्ममा किशोरी बोलाउने प्रचलन बढेको उनले बताइन्। त्यसो देशैभरिका धार्मिक कार्यक्रममा उनीहरु पुग्ने गरेका छन् ।

केही समयअघि बेलायतबाट आएका नेपाली एक परिवारले यहाँ विवाह गराउने पण्डित किशोरी नै खोजेपछि यहाँबाट काठमाडौँको सोल्टी होटलमा गएर यिनै किशोरीले विवाह गराएका थिए । महिला पण्डितको खोजी गर्दै त्यो परिवारले दुई वर्ष कुरेको अध्यक्षटण्डनले जानकारी दिए । यस्ता विभिन्न कर्म गर्ने काममा किशोरी सक्रिय भएका छन् ।

विसं २०६७ मा आश्रम दर्ता भएको हो । सबै किशोरीको आमाको रुपमा रहेकी अध्यक्ष टण्डनले सडक बालबालिकाबाट कुटाइ खाएपछि यो आश्रमको जन्मभएको हो । यतिबेला तराईका एक दम्पती पशुपतिमा पूजाका लागि जाँदै गर्दा सडक बालबालिकालाई पैसा दिन खोज्दा सबै पैसा लुटेर लगेका थिए । लुटिएको पैसा फिर्ता गराउने मध्यस्थता गराएकी अध्यक्षटण्डनलाई घर फर्किन लाग्दा तिनै सडक बालबालिकाले कुटपिट गरेका थिए ।

ती बालबालिकालाई सजाय दिनुभन्दा आश्रम खोलेर सही बाटोमा लैजानुपर्छ भनेर आफूले संस्था दर्ता गरी काम अघि बढाएको अध्यक्ष टण्डन बताउँछिन् । तीन जना बेसाहारा किशोरीबाट काठमाडौँबाट सुरु गरिएको यो अभियान एक वर्षपछि देवघाट ल्याईयो । अहिले यहाँको सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा आश्रम चलिरहेको छ ।

संस्थाका महासचिव रामेश्वरप्रसाद खनालका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवनसहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन बन्दै छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । उनीहरुको रकमबाट आधा खर्च धानिंदै आएको छ । केही रकम भरतपुर महानगरपालिकाले दिँदै आएको छ । मासिक रु दुई लाख हाराहारी खानालगायतको खर्च हुने गरेको छ ।

आश्रममा सामान्य भोजन गराउनका लागि दैनिक रु पाँच हजार १०० र विशेष भोजनका लागि रु आठ हजार ५०० दाताले उपलब्ध गराउँदै आएका छन् । आश्रममा आएपछि परिवारको पुनर्मिलन भएर ४३ जना किशोरी घर फर्किसकेका छन् । साँझ बिहान आश्रम पुग्ने जोकोही पनि ती किशोरी र तिनका कर्म देखेर प्रभावित हुने गरेको महासचिव खनाल बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार
सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल
२०८१ वैशाख ३१, सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न
२०८१ वैशाख ३१, सोमबार
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
२०८१ वैशाख ३१, सोमबार
स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी
२०८१ वैशाख ३१, सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार