वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

मगर समुदायको प्रमुख चाड भूमे पर्व मनाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मगर समुदायको प्रमुख चाड भूमे (भुम्या) पर्व बुधबार मगर समुदायले धुमधामसँग मनाएका छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा मान्दै आएको छ ।

अन्तर्राष्ट्रिय मगर सङ्घको अध्यक्ष नवीन रोकामगरले राजधानीमा असार १ देखि ३ गतेसम्म मनाउने जानकारी दिँदै उपत्यकाबाहिर असारको पहिलो साता (सात दिन)सम्म यो पर्व मनाउने जानकारी दिनुभयो । उहाँका अनुसार यस पर्वलाई सांस्कृतिक जगेर्नाका रूपमा मनाउन थालिएको हो ।

हिउँदेबाली भिœयाइसकेर वर्षेबाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् र सबै फसल राम्रो होस् भन्ने कामनाका साथ मगर समुदायमा असारे सङ्क्रान्तिदेखि साताभर भूमि पूजा गर्ने चलन रहेको छ । भूमि पूजाको अवसरमा देवतालाई बलि दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको मगरको भनाइ छ । मगर समुदायले यो पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन् भने आर्थिक वर्षका रूपमा लिने पनि मगरले प्रस्ट पार्नुभयो ।

मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा यो मगरहरूको मुख्य चाड भएको जानकारी दिनुभयो । “पृथ्वीलाई साक्षात् भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस् मानवको कल्याण होस् भन्ने आसयले यो पूजा गर्छन्,” मगर थप्नुहुन्छ, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको हुन्छ ।” भूमे पर्व अठार मगरातका मगरलगायत सबै मगरको मुख्य चाड भएको उहाँले बताउनुभयो ।

खुलामञ्चमा सुरु भएको भूमे महोत्सवमा मगर समुदायका महिला पुरुष तथा बालबालिका मगर पोसाकमा सजिएर नाचगान गरेका थिए । मगर समुदायको वेशभूषामा सजिएर खुलामञ्चमा नाच्दै गर्नुभएको ललिता मगर भूमे पर्वमा टाढा–टाढा गएका दाजुभाइसमेत घरमा जम्मा भई रमाइलो गर्ने परम्परा रहेको बताउनुभयो ।

नाचगान गरेर पूजा गर्नु नै मगरहरूको विशेषता हो । भूमे पर्वलाई सांस्कृतिक जगेर्नाका रूपमा मनाउन थालिएको बताउँदै भूमि पूजाको अवसरमा देवतालाई बलि दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको उहाँले बताउनुभयो । पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागि भूमिको पूजा गर्ने मगरले जानकारी दिनुभयो ।

मगर समुदायको भूमे पर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गरिन्छ । यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पा, रुकुम दाङलगायतका स्थानहरू पनि भूमे (भुम्या) मनाउने गरिन्छ ।

यसैगरी मुसीकोट समाचारदाता अनुसार बहुसङ्ख्यक मगर समुदाय रहेको रुकुमपूर्वमा भूमे पर्वको रौनक बढेको छ । जिल्लामा रहेको मगर बस्तीहरूलाई यति बेला खाम मगरको सबैभन्दा ठूलो चाड भूमे नाच अर्थात् बल पूजाको उत्साह छ ।

जिल्लाभित्रका सिस्ने गाउँपालिका, पुथा उत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा यति बेला भूमे नाच चलिरहेको भूमे गाउँपालिकाका चन्द्र रसाइलीले जानकारी दिनुभयो । हरेक वर्षको जेठ १५ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने  यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थानअनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।

भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ । भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ । भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ताको पनि उत्तिकै आकर्षण छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया