असार २५, २०८२ बुधबार July 9, 2025

थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्छ:अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरुको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज साँझ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेस आन्दोलनबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीलगायतका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

“मधेसी समुदायले पूर्णरूपमा अधिकार प्राप्त गर्न सकेको छैन, त्यसैले अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्छ”, अध्यक्ष यादवले भन्नुभयो, “समानता र सामाजिक न्यायका लागि राजनीतिक सङ्घर्ष र आर्थिक समृद्धि र विकासका लागि चुनावी सङ्घर्ष गर्नुपर्छ ।” चुनावको माध्यमबाट शक्ति आर्जन गर्ने र त्यसपछि विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

“अहिलेको सङ्घीयता आपाङ्ग छ”, अध्यक्ष यादवले भन्नुभयो, “सङ्घीयतामा प्रदेश सरकार स्वायत्त हुन्छ, तर अहिले प्रदेश सरकार स्वायत्त छैन, अधिकांश अधिकार केन्द्रीय सरकारसँगै छ ।” सङ्घीयतालाई पूर्ण बनाउन प्रदेश सरकारलाई स्वायत्त बनाउनुपर्ने उहाँको कथन थियो ।

जनसङ्ख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण माग गर्दै अध्यक्ष यादवले जनगणनाअनुसार तराई मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले सोही अनुपातमा तराई मधेसका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभयो ।

अहिलेको निर्वाचन प्रणाली असाध्यै खर्चिलो र बेथितिपूर्ण रहेकाले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्नेमा जोड दिँदै उहाँले यही निर्वाचन प्रणाली रहिरहे राजनीति धेरै महँगो हुने र त्यसले मुलुकको राजनीति व्यवस्था नै धरापमा पर्ने चेतावनीसमेत दिनुभयो ।

सो अवसरमा व्यवसायी तथा रमण कन्स्ट्रक्शनका सञ्चालक बलराम महतोलाई अध्यक्ष यादवले फूलमाला र अबिर लगाएर जसपा प्रवेश गराउनुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा महतो जनकपुरधाम उपमहानगरको नगरप्रमुख पदमा स्वतन्त्रबाट चुनाव लड्नु भएको थियो । जसपा प्रवेश गर्नुभएका महतो धनुषा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको अनुमान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया