बैसाख २२, २०८३ मंगलबार May 5, 2026

एसपीपी ल्याउन चोरबाटोको प्रयोग भयो – टंक कार्की (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमसिसीको चर्चा सकिएको केही समय नबित्दै फुत्त एसपिपीको अवधारणा विवादमा आयो, यसको कारण के होला ?

एमसीसी र एसपीपी कार्यक्रम भनेको जुम्ल्याहा दाजुभाइ हुन् । यिनको अवधारणा उद्देश्य र गर्भधारणा एउटै ठाउँबाट आएको हो । सन १९९० पछि एकल धु्रवीय रणनीति सुरु भयो । त्यसलाई मूर्त रूप दिनका लागि अमेरिकाले त्यही अनुसारको संरचनाहरू निर्माण गर्न थाल्यो । त्यसैको सेरोफेरोमा इन्डोप्यासिफिक रणनीति आयो, त्यसैलाई परिचालन गर्न एमसिसी अवधारण आयो । त्यसैको एउटा अंगको रूपमा सैनिक रणनीतिका रूपमा प्रयोग गर्न एसपीपी आएको हो । एकल ध्रुवीय व्यवस्थालाई सुदृढ गर्न र विरोधी शक्तिसँग जुध्नका निम्ति अमेरिकी सुरक्षा रणनीतिको हिस्साका रूपमा यी अवधारणा अगाडि बढेका हुन् । नेपाल एउटा विकासशील मुलुक हो । यसको चाहना पूरा गर्न आफ्ना मात्र स्रोत साधन पर्याप्त छैनन । त्यसकारण अरूबाट दान दातव्य लिनुपर्ने भौतिक अवस्था हो । यो अवस्थाका कारण भित्री विषय र अर्थ नबुझी जहाँबाट जे पाइन्छ त्यो लिने काम भएको छ । यसकारण सहयोग प्राप्त गर्ने नाममा नेपाल पनि उनीहरूको रणनीतिको सिकार बन्दै गयो । हामीले अरूबाट प्राप्त गर्ने सहयोगको अन्तर्य के छ ? तिनको उद्देश्य के छ ? त्यतातिर छलफल भएन । यस्ता विषयमा राज्यको निर्णय प्रक्रिया संस्थागत र लोकतान्त्रिक हुन सकेको छैन । अपारदर्शी कुरा भित्र्याउने, तिनलाई गम्भीर ढंगले छलफल नगर्ने प्रवृत्तिले यस्ता विषयमा पछि फस्दै गएको देखिन्छ ।

एसपीपी बीचमा फुत्त निस्कनुको कारण के होला ?

नेपाल पक्षले एमसिसीलाई विशुद्ध इकोनेमिक विषयका रूपमा लिन्छ । अमेरिकाले कसरी बुझ्छ त्यो उसको कुरा हो । इकोनोमीको अवधारणाभन्दा अरू प्रयोजनको निम्ति प्रयोग नगर्ने भन्नेमा एमसिसी स्वीकार गरिएको हो । यही अवधारणालाई संसद्ले अनुमोदन गरेको हो । तर अहिलेको एसपिपीको १० बुँदे अगाडि सारेपछि सैनिकको टुकडी नै नेपालमा रहने, पहिलेको भारतीय सैनिक क्याम्पजस्तै आएर नेपालमा बस्ने हो यो अवधारणा भारतीय सैनिक चेकपोस्टलाई ऊ बेला नै बुझेर नेपालले हटाएको हो भने अमेरिका सैनिक चेकपोस्टलाई स्वीकार गर्ने कुरै भएन ।

बाहना जे सुकै होस् एसपिपीभित्र नेपालमा अमेरिका चेकपोस्ट रहने कुरा प्रष्ट नै छ । त्यसलाई नेपालले सहमति दिने हो भने नेपालको संविधानले अगाडि सार्दै आएको असंलग्न परराष्ट्र नीति विपरीत हुन्छ । हिजो भारत कमजोर थियो, चीन कमजोर थियो, तर आजको नेपालको भू रणनीति बदलिएको छ, छिमेकी देशको शक्ति सन्तुलनमा फेरबदल आएको छ । त्यसैले हिजो गरिएको बल मिच्याइ आजको नेपालले स्वीकार्दैन ।

यसभन्दा अघि पनि विभिन्न मित्रराष्ट्रले नेपाललाई सैन्य सहयोग गर्ने गरेका थिए, एसपीपी के फरक छ ?

त्यो मापदण्डमा एसपिपीलाई राख्न मिल्दैन । तर, अहिले व्याख्या त्यो ढंगले गर्न खोजिएको छ तर त्यस्तो होइन । एसपिपीको रणनीति के हो ? त्यो नबुझी त्यसभित्र छिरेर जान थालेपछि त्यसको परिणाम भोग्नुपर्छ कि पर्दैन ? हामीले हिजो पनि भारत–चीन–अमेरिकालगायत मुलुकमा तालिम लगायतका विषयमा सहयोग लिएका थियौँ भनेर सर्वसाधारणलाई झुक्याएको विषय जस्तो यो होइन ।

त्यसो भए अमेरिका किन नेपालमा सैनिक चेकपोस्ट खडा गर्न चाहन्छ ?

त्यो त खुल्ला नै छ । एसपीपी कार्यक्रम इन्डोप्यासिफिक रणनीतिको एउटा अंग हो । यो अमेरिकी सुरक्षा रणनीतिको एउटा प्याकेज हो । विशेषगरी नेपालको भू–रणनीतिलाई ‘एक्सप्लाइड’ गर्नको निम्ति अगाडि सारिएको रणनीति हो ।

एसपीपी संसद्मा छलफल गरे पनि पारित गर्न नमिल्ने विषय हो ?

त्यसलाई स्वीकार गर्ने, छलफल गर्ने वा अस्वीकार गर्ने निकाय भनेको राज्य हो । हुन त त्यसमा सरकारको स्वीकृति लिएर यो कार्यक्रम अगाडि बढाइएको छ भन्ने बेहोरा उल्लेख छ । नेपालको हितलाई दीर्घकालीन यस्तो विषयलाई छिनोफानो गर्ने निकाय सेना होइन । तर यसलाई भित्रभित्रै अगाडि बढाउन खोजियो । यस्तो विषयमा राज्यका स्टेक होल्डरहरूसँग छलफल गरेर अगाडि बढ्नुपथ्र्यो । सुरक्षा परिषद्मा नै छलफल गरेको भए पनि हुने थियो । छलफलै नगरी जे ढंगले यसलाई भित्रभित्रै धकेल्न खोजिएको छ, यसमा कैफियत छ । अर्थात ‘समथिङ इज फिसिङ’ ।

त्यसो भए एसपीपीले गलत बाटो समायो ?

हो, गलत बाटो समायो । यसलाई ल्याउन चोरबाटोको प्रयोग भएको छ ।

एसपीपी बाहिर आउने प्रक्रिया पनि त गलत होला नि होइन ?

एसपिपीको १० बुँदेभित्र हामी गएको खण्डमा त्यो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बाटो हुनेछ । उनले जुन बर्बादी निम्त्याए त्यो नेपालमा पनि त्यस्तो स्थिति निम्त्याउने खतरा हुनेछ । यो बर्बादीबाट हामी बच्ने हो भने त्यो बाट पिण्ड छुट्याउन सक्नुपर्छ । बर्बादी सहने हो, भने पश्चिमाहरूलाई खुसी पार्ने हो भने जेलेन्स्कीको बाटो हिँड्नु पर्यो । चाइनालाई घेराबन्दी गर्ने अभियानमा हामी सरिक हुने हो भने जे गरे पनि हुने भयो ।

एसपीपी जसरी बाहिर आयो यो हेर्दा राजनीतिक नेतृत्वबाट नभई सैनिक नेतृत्वबाट मात्र यस्तो भएजस्तो देखिन्छ नि ?

यो राजनीतिक क्षेत्रबाटै सेनाभित्र प्रवेश गराएको हो । पछिल्लो चरणमा त कोही कोही सुटुक्क त्यो कागज बोकेर वासिङटनमा सही गराउने ध्याउन्नमा थिए भन्ने सुनिएको छ । दैवसंयोग त्यसबाट बचियो भनेर सूचना दिने मानिसहरू पनि फेला परेका छन् ।

सेनालाई देखाएर राजनीतिक नेतृत्व पानीमाथिको ओभानो बन्न खोजेको हो ?

हो, गर्न खोजेको त्यही हो । सेनालाई प्रयोग गर्न खोजियो । उसले यस्तो विषयमा आएको राजनीतिक दबाबका बारे आफ्ना विचार स्पष्टसँग राख्न सक्नुपथ्र्यो । त्यसमा भने सेना कतै न कतै चुकेको देखिन्छ ।

सेनामा यस्ता पत्राचार कतिको भएका होलान् जस्तो लाग्छ तपाईंलाई ?

झलनाथ खनाल र भीम रावलजीले पार्टीभित्र छलफल हुँदा एमसिसी सम्झौताका कतिपय कागज उपलब्ध गराएनन् भनेर गुनासो गर्नुभएको थियो । त्यसैले यस्ता कतिपय सम्झौता बाहिर ल्याइएको नै छैन होला ।

एसपीपीको विषयमा तत्कालीन प्रधानमन्त्रीलाई नै थाहा दिएन भन्ने कुरा बाहिर आयो नि ?

यसबाट विचारधारात्मक भिन्नताहरू छन् भन्ने कुरा ओलीजीको सूचना नै दिइएन भन्ने कुराले स्पष्ट पार्छ । त्यसमा पनि केही दुर्गन्धहरू आएका छन् । यसमा केही नहुने कुरा भएका छन् भन्ने कुरा आभास हुन्छ । यसमा कि सेनाले सरकार प्रमुखलाई जानकारी गराउने जिम्मेवारी पूरा गरेन, कि ओलीजी झुठ बोेलिरहनुभएको छ । मुलुकको प्रधानमन्त्री भइसकेको मान्छेले यति कुरा भनेपछि सेनाभित्र केही कमजोरी छ भन्ने कुराचाहिँ मलाई लाग्दछ ।

यसबेला कतै छलफल नभई एसपीपीबारे बाहिर आउनुको निहित अर्थ के होला ?

एमसिसी जसरी ह्याकुलाले मिचेर पास गराइन्छ भनेर यो आएको हुन सक्छ । एमसिसी पास भए लगत्तै नेपाललाई एउटा मित्रराष्ट्र रुसविरुद्ध अमेरिकाले अगाडि सारेको निन्दा प्रस्तावमा सहभागी बनाइयोे । त्यो प्रस्तावमा भारत तटस्थ बस्छ, चीन त्यो निन्दा प्रस्तावको विरोधमा छ, तर अमेरिकाले रुसविरुद्ध पास गरेको निन्दा प्रस्तावको पक्षमा नेपाल लागेपछि नेपालको असंलग्न परराष्ट नीति विपरीत भएन ? तिब्बत मामिलासम्बन्धी अमेरिका उपविदेश मन्त्री नेपाल आउँछन् । आउनुअगाडि उनले दलाई लामा भेट्छन् । नेपाल आएपछि तिब्बती शरणार्थी क्याम्पमा जान्छन् । माथि उल्लेख गरिएका शृंखलाहरूको कडी हो यो ।

नेपालको आन्तरिक सुरक्षासम्बन्धी गोप्य रहनुपर्ने दस्तावेज सार्वजनिक भएको विषयमा छानबिन हुनुपर्ला नि ?

पर्छ । यसमा कुनै प्रश्नै छैन । यो प्रक्रिया कोबाट अगाडि बढ्यो, कुन प्रयोजनका निम्ति ल्याइयो भन्ने विषयमा सम्पूर्ण छानबिन हुनुपर्छ । नेपालमा जेलेन्स्की जन्माउन को उद्दत भए, तिनलाई किन सार्वजनिक नगर्ने ? यदि एसपीपी कार्यक्रमअन्तर्गत नेपालमा अमेरिकी सैनिक क्याम्प खडा गर्ने हो भने त्यो चीनलाई घेर्ने रणनीतिअन्तर्गत भन्न सकिन्छ । अहिले अमेरिका र चीन प्रमुख प्रतिद्वन्द्वी शक्ति हुन् ।

चीनका राष्ट्रपति सि जिनपिङ नेपाल आउँदा ‘चीन विरोधी शक्तिलाई ध्वस्त बनाइदिन्छौँ’ भनेका थिए । यसलाई हेरेर भन्न सकिन्छ शक्तिराष्ट्रहरूको प्रतिद्वन्द्वितालाई नेपालमा भित्र्याउने काम हामीले गर्ने कि नगर्ने ? नेपालमा हामीले जेलेन्स्कीको भुल दाहो¥याउनु हँुदैन । तर, प्रधानमन्त्रीले एसपिपीलाई अहिले अगाडि नबढाउने भन्नुभएको छ । जुन सुखद् कुरा हो । सौर्यअनलाइन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार