बैसाख २२, २०८३ मंगलबार May 5, 2026

राजाले राजसंस्था पुनर्स्थापनाका लागि जुन सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो निर्वाह गर्न सकेनन् । – कमल थापा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो घटनाक्रमले चतुर राजनीतिक व्यक्ति होइन, साधारण राजनीतिक व्यक्ति हुँ भन्ने पुष्टि भएको छ । राजनीतिमा क्रियाशील भएदेखि जनताको सर्वोच्चता, निष्ठा, अनुशासन र सक्रियतालाई प्रमुख चरित्रको रूपमा आत्मसात् गरेको छु । त्यही कारणले राजनीतिक व्यवस्था परिवर्तन भए पनि आफूलाई स्थापित गर्न सक्षम भएको छु । राप्रपाको गत मंसिरको महाधिवेशनपछि जुन घटना भयो, त्यो मेरो व्यक्तिगत छनोट वा प्राथमिकताभन्दा पनि नियति र परिस्थितिले यो ठाउँमा ल्याइपुर्‍याएको छ । जुन बाटोमा हिँडिरहेको छु, त्यसमा म सन्तुष्ट छु । उत्साहित पनि छु ।

वास्तवमा मेरो राजनीतिक जीवनको उतारचढाव हेर्नुहुन्छ भने चतुर्‍याइँले उचाइ बढाएको होइन । चतुर्‍याइँले सफलताको शिखरमा पुगेको पनि होइन । चतुर भएको भए ०४७ सालमा बहुदल आएपछि कांग्रेस र एमालेमा प्रवेश गर्थें । मलाई स्वागत गर्न एमाले र कांग्रेस तयार थिए । कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले कांग्रेसमा आएर मकवानपुरको नेतृत्व लिन आग्रह गर्नुभएको थियो । त्यो बाटो नरोजेर कठिन र चुनौतीपूर्ण बाटो रोजेर राप्रपामा संगठित भएँ ।

०६३ सालको परिवर्तनपछि मेरा अग्रजहरू, मैले सम्मान गरेका सबै राप्रपामा रहेका नेताहरू परिवर्तन जनताको माग हो, चाहना हो भनेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लाग्नुभयो । म ज्यान हत्केलामा राखेर विपरीत धारमा लागेँ । म चतुर भएको भए त्यो नदीको प्रवाहसँगै बगेर अगाडि बढ्ने प्रयास गर्थें । ०६३ सालमा राप्रपा नेपाल गठन गर्दा सांसद भएर उपप्रधानमन्त्री हुन्छु भन्ने परिकल्पना नै गरेको थिइनँ । वडा सदस्य पनि जितिन्छ कि जितिँदैन भन्ने अवस्था थियो ।

कतिपयले कमल थापाको राजनीतिक भविष्य समाप्त भयो भनेका थिए । तर, बहुदल आएपछि पूर्वपञ्चहरूमध्ये सबैभन्दा पहिला झण्डा हाल्ने व्यक्ति मै हुँ । ०६३ को परिवर्तनपछि पहिलाका राप्रपाका नेताहरूमध्ये सबैभन्दा उच्च पदमा पुग्ने व्यक्ति मै हुँ । यो कुनै चतुर्‍याइँले होइन ।

नियतिले तपाईंलाई दुःखद बाटोतिर धकेलेको भनेर आत्मसमीक्षा गर्दैगर्दा युवापुस्तालाई नेतृत्व विकासमा साथ दिनेचाहिँ किन नसोच्नुभएको ?

युवापुस्तालाई पर्दापछाडि रहेर सहयोग गर्ने चाहना थियो । नियति र परिस्थितिले मलाई सदैव चाहनाअनुसारअगाडि बढ्न दिँदैन । त्यस क्रममा जब मेरो मान्यता धरापमा पर्न थाल्यो, सिद्धान्त र विचार धरापमा पर्न थाल्यो, मप्रति आस्था र विश्वास राख्ने हजारौँ कार्यकर्ताको भविष्य अलपत्र पर्ने देखिएपछि जोखिम र चुनौतीपूर्ण भए पनि मैले यो बाटो अवलम्बन गरेको हुँ ।

०६३ को गणतन्त्रको भुङ्ग्रोमा राजतन्त्रको पक्षमा वकालत गरेर टाउको झोस्न पुग्ने कमल थापा १५ वर्षपछि कसरी राजतन्त्रको विकल्प गणतन्त्र रहेछ भन्नेमै पुग्यो भनेर आममान्छेको जिज्ञासा मेटिएकै छैन । त्यसको म”ल कारण देशको धरातलीय यथार्थ, जनभावना र आस्था राखेको राजसंस्थाको भूमिकाका कारण लोकतन्त्रको बाटोमा हिँड्न बाध्य बनायो ।

१५ वर्षअघि नै गणतन्त्र स्वीकार गर्ने राप्रपाका नेतालाई किन गाली गरेको त ? तपाईंभन्दा त उनीहरू नै दूरदर्शी रहेछन् नि ?

म अहिले पनि भन्छु, नेपालको भू–राजनीतिक अवस्था, नेपालको सामाजिक, सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा चुनावी राजनीतिभन्दा माथि उठेको अभिभावकको रूपमा रहने साझा संस्थाको रूपमा रहने राजसंस्थासहितको प्रजातन्त्र उपयुक्त हुन्छ । मेरो मान्यता मात्र भएर पुग्ने रहेनछ । मेरो नियत असल भए पनि हरेक असल नियत सफल हुन्छन् भन्ने छैन । व्यावहारिक रूपमा कार्यान्वयन हुन्छ भन्ने छैन । निरन्तर १५ वर्ष राजसंस्था पुनर्स्थापनका लागि रगत पसिना बगाएँ ।

त्यसका बावजुद धरातीय यथार्थ परिवर्तन गर्न सकिँन । जनताको भावना परिवर्तन सकिनँ । यसमा मुख्य रूपमा राजसंस्था वा राजाले राजसंस्था पुनर्स्थापनाका लागि जुन सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो निर्वाह गर्न सकेनन् । जतिबेला मैले राजसंस्था पुनर्स्थापनाको एजेण्डा बोकेर हिँडेको थिएँ, नेपालमा राजसंस्था पुनर्स्थापना हुन्छ भन्ने लागेकै थियो । तर, यो १५ वर्षको बीचमा राजसंस्था पुनर्स्थापनाका लागि निरन्तर प्रयासको बावजुद राजा वा राजसंस्थामा सकारात्मक सहयोग भएन । जसले गर्दा राजसंस्था पुनर्स्थापना हुने सम्भावना समाप्त भयो । त्यो मेरो निष्कर्ष हो ।

राप्रपाको महाधिवेशनको चुनावी नतिजासँगै तपाईंको निर्मल निवासप्रतिको प्रतिक्रिया अनि निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनप्रतिको टिप्पणीका कारण तपाईंमा बढ्ता कुण्ठा, आक्रोश र आवेग झल्कियो, स्वीकार्यता नै देखिएन । क्षणिक आवेगको राजनीतिप्रति नागरिकले किन विश्वास गर्ने ?

हुन सक्छ । जब तपाईंलाई पछाडिबाट कसैले छुरा हान्छ, जसमाथि तपाईंले धेरै ठूलो विश्वास गर्नुभएको थियो, त्यसबाट विश्वासघात हुन्छ, त्यो बेलामा व्यक्ति प्रतिक्रियाविहीन हुन सक्दैन । तत्कालीन परिस्थितिमा अलिक बढी नै प्रतिक्रिया दिएँ होला । अलिक बढी आवेगमा आएँ होला । तर, त्यो स्वाभाविक अभिव्यक्ति थियो ।

तपाईंले ‘गीताको कसम खाएर’ राप्रपा फुटाउँदिनँ भन्नुभएको थियो । पाथीभरा देवी मन्दिरमा राजेन्द्र लिङ्देन र तपाईंले आपसमा नछुट्टिने कसम खानुभएको थियो । आखिर ती कसम तोडिए । धार्मिक मान्यताका तपाईंहरूलाई कसम तोडेकाले पापको भागीदार हुनुपर्ला भन्ने डर त लाग्दो होला नि ? 

गीता महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक ग्रन्थ हो । त्यो गीतालाई पटकपटक पढेको छु । गीता छोएर पार्टी फुटाउँदिनँ भनेर कसम खाएका कारण नै प्राविधिक रूपमा भन्नुहोस् वा व्यावहारिक रूपमा, मैले पार्टी फुटाएको होइन ।

जब मेरो मान्यता, आदर्श, विचार अलपत्र पर्ने सम्भावना टड्कारो रूपमा देखियो, जुन सपना बोकेर ०६३ सालमा संवर्द्धनवादको वैचारिक दर्शन बोकेर नयाँ शक्ति निर्माण गर्ने प्रयास गरेको थिएँ, त्यो सपना भताभुंग हुने र नयाँ शक्ति बन्ने अवस्था देखेपछि त्यही गीतामा भगवान् श्रीकृष्णले व्यक्त गर्नुभएको भावनाअनुसार मैले कर्तव्य निर्वाह गरेँ । मैले पार्टी फुटाइनँ ।

भगवान् श्रीकृष्णले ‘अन्यायविरुद्ध कहिल्यै सम्झौता नगर, आफ्नो स्वधर्म, कर्तव्यबाट च्यूत नहुनू, आदर्शलाई नछोड्नू, त्यसको निम्ति आवश्यक पर्दा संर्घष गर्नू, पलायन कायरता हो’ भनेर अर्जुनलाई स्वधर्ममा लाग्न प्रेरित गर्नुभएको थियो ।

त्यही गीताको अनुयायी भएका कारण मेरो मान्यताको रक्षाका लागि पार्टी छोडेको हुँ । तितो लाग्न सक्छ, वा हृदयको सबै कुरा बुझाउन सक्दिनँ होला तर आफ्नो कर्तव्यपथमा लागेको छु, त्यसमा सन्तुष्ट छु ।

राजेन्द्र लिङ्देनको कुरामा म धेरै टिकाटिप्पणी गर्न चाहन्नँ । मैले मेरो अन्तर्आत्माको कुरा गरेको हुँ । कहिलेकाँही अरुलाई अन्तर्आत्माको कुरा चित्त नबुझ्न सक्छ, तर म कति इमानदार छु भन्ने कुरा कि मलाई थाहा छ, कि भगवान्‌लाई ।

पञ्चायतकालदेखि गणतन्त्रकालसम्म परीक्षित भएको नेता हो । ‘अबचाहिँ कमल थापाले पूर्वमान्यता मात्र छोडेको छैन, सान्दर्भिकता पनि गुमाउँदै गएको छ,’ भन्नेहरूलाई तपाईंको के जवाफ हुन्छ ?

व्यक्तिगत रूपमा मैले मेरो सान्दर्भिकता स्थापित गर्न सक्छु कि सक्दिनँ थाहा छैन । गीताकै कुरा गरौँ, भगवान श्रीकृष्णले भन्नुभएको छ, कर्म गर्ने मात्रै तिम्रो अधिकार छ, फलमा तिम्रो नियन्त्रण छैन, सफलता असफलता दुवै अवस्थामा समभाव राखेर आफ्नो कर्तव्य गर, त्यही योग हो । यही आदर्शबाट प्रेरित भएको हुँ । मैले तत्काल परिणामको अपेक्षा गरेको छैन ।

०४७ र ०६३ मा मैले तत्काल परिणामको अपेक्षा राखेको थिइनँ । अहिले पनि तत्काल परिणामको अपेक्षा गरेको छैन, लामो यात्रामा हिँडेको छु । नेपालको राष्ट्रिय राजनीतिमा समाजवाद, साम्यवाद, पुँजीवादको विकल्पमा संवर्द्धनवादको वैचारिक दर्शन स्थापित गर्ने, त्यो दर्शन बोकेको शक्ति निर्माण गर्ने र त्यसको बीजारोपण गर्ने गरेको छु ।

यदि यसको प्रतिफल तत्काल मैले पाउन सकिनँ भने पनि भोलि आउने पिँढीलाई अगाडि बढाउनेछु । नेपालको जुन खालको सामाजिक सांस्कृतिक परिवेश छ, त्यो परिवेशमा संवर्द्धनवादको महत्त्व र औचित्य सर्वकालिक छ । स्थापित हुन्छ ।

तपाईंको संवर्द्धनवाद त ०७९ वैशाख ३० को स्थानीय चुनावमा एमालेको साम्यवादसँग आत्मसर्पण गरिसक्यो नि ? 

त्यो वास्तवमा निराश टिप्पणी मात्रै हो । ७ फागुनमा हामीले पार्टी गठन गरेका थियौँ । निर्वाचनमा जानका लागि हामीसँग मुस्किलले २/३ महिनाको समय थियो । देशभर पालिकामा पार्टी संगठन विस्तार भइसकेको थिएन । त्यस कारण हामीले चुनावमा ठूलो अपेक्षा राखेनौँ । सैद्धान्तिक र सांकेतिक रूपमा मात्रै सहभागिता रह्यो ।

त्यस क्रममा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय भयो । यसका लागि एमालेलाई धन्यवाद दिन चाहन्छु कि, दुई महिनाअघि खुलेको पार्टीसँग सहकार्य गर्नका निम्ति एमाले तयार भयो । तालमेलबाट तत्काल कति फाइदा हुन्छ भन्ने भन्दा पनि कमल थापाले जुन बाटो हिँड्ने हिम्मत गरेको छ, त्यसलाई प्रोत्साहन गर्नुपर्छ भनेर संकेतको रूपमा लिएको छु ।

त्यस कारण एमालेप्रति आभारी छु । साथसाथै, कांग्रेस, माअ‍ोवादी केन्द्रलगायतका राजनीतिक दललाई भन्न चाहन्छु कि तपाईंहरूले जुन राजनीतिक विचारधारामा आधारित बाटो बनाउनुभएको थियो, ढिलै भए पनि घुमिफिरी त्यो बाटोमा आइपुगेको छु । त्यो तपाईंहरूको सफलता हो भन्ने ठान्नुहोस् । कमल थापाजस्तो कट्टर राजावादी लोकतन्त्रको पक्षमा उभिँदा खेरी तपाईंको पनि स्नेह, सद्भाव हुनुपर्छ भन्ने लाग्छ ।

कमल थापा आइपुगेको आजको दिन प्रचण्डको पनि सफलता हो ?

निश्चिय पनि हो । मेरो आफ्नै मान्यता थियो । त्यो मान्यता फेरियो । मैले १५ वर्ष बिराएको बाटोबाट लोकतन्त्रको बाटोमा आइपुग्दा उहाँहरूको सफलता हो । हिजो कांग्रेसले आफ्नो मान्यता र वैचारिक धार बदल्यो । एमालेले पनि वैचारिक धार बदलेर राजासहितको नीति अवलम्बन गरेको थियो । उनीहरूले ०६३ सालमा छोडे । मलाई पनि केही समय लाग्यो होला ।

विगतको १५ वर्ष बाटो बिराएको कालखण्डप्रति आत्मालोचना वा पश्चात्ताप छ ?

गल्ती गरेँ भन्नेचाहिँ लागेको छैन । सैद्धान्तिक रूपमा नेपालको भू–राजनीतिक अवस्थिति, नेपालको धार्मिक, सामाजिक, सांस्कृति परिवेशमा चुनावी राजनीतिभन्दा माथि उठेको राजतन्त्र आवश्यक हो । तर, सैद्धान्तिक विषय अब व्यावहारिक रूपमा नहुने र प्राज्ञिक विषय मात्रै हुने अवस्था सिर्जना भएको छ । मैले इमानदारीपूर्वक चाहेको हो, मेरो प्रयासले मात्रै सम्भव भएन । मलाई यसरी भित्तामा पुर्‍याइयो कि मैले त्यो एजेण्डालाई छोड्नुपर्ने बाध्यता आइलाग्यो ।

स्थानीय चुनावमा एमालेकोे सूर्य चिह्नमा चुनाव लड्नुभयो । आउँदो संघीय चुनावमा के गर्नुहुन्छ ? 

अहिलेसम्म त्यस विषयमा टुंगो लागेको छैन । नेपालको राजनीतिक घटनाक्रम, गठबन्धनको विकसित राजनीतिका कारण जतिसुकै लोकप्रिय भए पनि एक्लैले चुनाव जित्न गार्‍हो छ ।

ठूलाठूला पार्टी नै गठबन्धन गरेर गएपछि साना पार्टीलाई गार्‍हो पर्छ । त्यस कारणले आफ्नो अस्तित्व रक्षाका लागि पनि गठबन्धन गरेर जानुपर्ने हुन्छ । स्थानीय चुनावमा एमालेसँग मिलेर गएको हो, आगामी चुनावमा पनि एमालेसँग मिलेर जाने सम्भावना छ ।

तपाईंले जति नै लोकप्रिय भए पनि चुनाव जित्न गार्‍हो भनिरहनुभएको छ । तर, प्रमुख शहरमै स्वतन्त्रले चुनाव जितेका छन् । यो दलप्रति वितृष्णा मात्रै हो कि स्वतन्त्रप्रतिको लहर हो ?

विभिन्न फ्याक्टरले काम गरेको छ । ६ हजार ७ सय ४३ पदमा ३ सय ४८ पदमा स्वतन्त्रले चुनाव जितेका छन् । यसको माने देशभरि नै स्वतन्त्रको पक्षमा एकतर्फी लहर आयो भन्ने होइन । दलीय व्यवस्थामा एउटा दल असफल भयो भने अर्को दलले अवसर पाउँछ । त्यो पनि असफल भए अर्को विकल्प खोजिन्छ ।

त्यस कारण दलहरूप्रति वितृष्णा भए पनि बहुदलीय प्रतिस्पर्धाप्रति जनताको विश्वास यथावत् छ । काठमाडौंमा मेयर स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयको कुरा छ त्यसमा । दलहरूप्रतिको वितृष्णाको कारणले मात्र भन्दा पनि बालेन शाहको पक्षमा देखिएको सकारात्मक पक्षको माहौलको परिणाम हो ।

बालेन शाहको जितलाई दलहरूप्रतिको वितृष्णा भनेर बालेन शाहको जितलाई अवमूल्यन गर्नु हुँदैन । स्वतन्तका लागि आउँदो निर्वाचन उत्साहित हुने खालको देख्दिनँ । त्यो एउटा लहड हो ।शिलापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार