बैसाख २२, २०८३ मंगलबार May 5, 2026

काँग्रेसमा गठबन्धन हुनुहुँदैन भनेर स्थानीय निर्वाचनमा पनि कसैले भनेको होइन । – प्रदिप पौडेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भएको ६ महिना पूरा भएको छ । सभापति शेरबहादुर देउवाको दोस्रो इनिङस्का यी ६ महिनालाई कसरी हेर्नु भएको छ ?

महाधिवेशनपछि हामी लगत्तै स्थानीय निर्वाचनमा जानुपर्‍यो । निर्वाचनका कारणले पार्टीका आन्तरिक कुराहरू बाँकी नै छन् । पार्टी सञ्चालनमा नयाँपन आएको छैन ।

पार्टी संगठन विस्तार गरी जनमुखी कार्यक्रम बनाउने, प्रभावकारी अभियान सञ्चालन गर्ने, राष्ट्रिय मुद्दामाथि पार्टीभित्र बहस गर्ने र आम समस्या हल गर्ने सन्दर्भमा पार्टी अगाडि बढ्न सकेको छैन । तर यो ६ महिनाको अवधि स्थानीय निर्वाचनको तयारीले नै बित्यो । यस्तै, स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने काँग्रेस सबै पद र मतमा पहिलो भएको छ । यो हाम्रो आन्तरिक व्यवस्था एकदमै सुदृढ भएर आएको अवस्था भने होइन । हामीले आन्तरिक व्यवस्थापन र प्रभावकारिता बढाउन सकेको भए अझै राम्रो परिणाम आउँथ्यो होला ।

स्थानीय निर्वाचनका कारण पार्टी संगठन व्यवस्थापन हुन सकेन भन्ने कुरा गर्नुभयो । एमाले र काँग्रेसको महाधिवेशन सँगसँगै भएको थियो । एमालेले कार्यविभाजन नै टुङ्ग्याएर पार्टीलाई व्यवस्थित बनायो । काँग्रेसमा नेतृत्वले बेवास्ता र लापरबाहीले यस्तो अवस्था आएको हो कि ?

एमालेको अधिवेशनसँग तुलना गर्दा हाम्रा कतिपय पक्ष राम्रा छन् । हामीले पूर्णरुपमा आन्तरिक लोकतन्त्रलाई अभ्यासमा ल्याएका छौँ । त्यो एउटा विषय भयो । तर पार्टी विधि र व्यवस्था अनुसार पूर्णरुपमा चलेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हो ।

हामीले यसअघि पनि यो कुरा धेरै पटक उठाएका थियौँ । प्रश्न उठाउने साथीहरू नै उत्तर दिने ठाउँमा पुगेपछि नयाँपन आउँछ भन्ने आशा र अपेक्षा थियो । अहिले त्यस्तो भएन । अपेक्षा अनुसार काम हुँदैन भन्ने निष्कर्ष निकाल्ने समय भएको छैन ।

अब महाधिवेशनपछिको ६ महिनाभित्र गर्नुपर्ने कामहरू हामीले तत्काल गर्न जरुरी छ । केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने, सबै कमिटी, विभागलाई पूर्णता दिने, भ्रातृ संगठनलाई चलायमान बनाउने र पार्टीको नीतिगत विषयलाई प्रस्ट्याउने कुरा तत्काल गर्नुपर्छ । अब पनि गरिएन भने पुरानै ढर्रा, पुरानै शैलीले निरन्तरता पाएको जस्तो हुन्छ ।

विगतमा पार्टी कमिटी र विभागलाई पूर्णता दिन दुई महिना हद म्याद थियो । त्यो समयमा काम गर्न सम्भव छैन भनेर ६ महिना थपियो । असार १० गते नयाँ कार्यसमिति आएको ६ महिना पूरा भयो । पार्टी कमिटीले पूर्णता नपाएको अवस्था छ । विभाग बनेका छैनन् । काँग्रेस नेतृत्व विधान अनुसार नचल्ने नै देखियो, हैन ?

नेतृत्वले निर्वाचनका कारण काम गर्न सकिएन भन्ने स्थिति छ । तर अब समय छैन । ठ्याक्कै ६ महिनामा काम नभए पनि केही दिन गुज्रियो । यसलाई पनि पार्टीको आन्तरिक विषय भएकाले मान्न सकिन्छ । तर अब गर्ने हो भने जे प्रश्नहरू उठ्ने गर्थे, त्यसको निरन्तरता रहने स्थिति हुन्छ । सबैले आफ्नो अधिकार क्षेत्रका काम गर्ने कुरा भन्यौँ । त्यो कुरा ज्यूँका त्यूँ छ । अब नेतृत्वले तत्काल यो विषयमा काम अगाडि बढाउनुपर्छ । असारभित्र यी सबै काम गरिसक्नुपर्छ ।

सभापति शेरबहादुर देउवाको पारा पुरानै छ । बाँकी पदाधिकारीले पनि जिम्मेवारी अनुसार काम गरेको पाइँदैन । तपाईं त महामन्त्रीको प्रत्यासी पनि हुनुहुन्थ्यो । पदाधिकारीमा काम गर्ने ढंग भएन भन्ने लाग्दैन ?

अहिले नेतृत्व असफल भयो भनेर भनिहाल्ने त समय भएको छैन ।

बिहानीले दिउँसोको संकेत गर्छ भनिन्छ नि ?

मैले अघि पनि भनेँ, परिवर्तनको अनुभूति गर्ने अवस्था बनेको छैन । निर्वाचनमा हामीले राम्रो परिणाम ल्याएका कारणले अरु कुरा छायाँमा परेका छन् । पार्टी सञ्चालनमा नयाँपन र परिवर्तन भन्ने केही छैन । काँग्रेसले जनमुखी एजेण्डा उठायो र काँग्रेसमा आकर्षण आयो भन्ने छैन । अपेक्षा अनुसारका काम पार्टीमा अगाडि बढेको छैन ।

पार्टी पदाधिकारीमा युवा पुस्ता पुग्दा पनि काँग्रेसमा किन नयाँपन र परिवर्तनको अनुभूति हुन सकेन ? त्यसको कारण के हो भन्ने लाग्छ ?

एकदमै निराश हुनुपर्ने, अब केही हुँदैन भन्ने निष्कर्ष निकालिहाल्ने बेला भएको छैन । तर जे अपेक्षा थियो, त्यो पनि भएको छैन । आशा गरिएको नेतृत्वले काम गरेन भने झन् बढी निराशा बढेर जान्छ । तपाईंले कारण के भन्नु भएको छ । नेतृत्वले निर्वाचनका कारण पार्टीलाई व्यवस्थित बनाउन सकिनँ भनिरहेको छ । तर निर्वाचनका कारण पार्टीको गतिशीलता रोकिनु हुँदैन । यो चित्त बुझ्दो कारण हुन सक्दैन ।

पार्टी व्यवस्थित भएपछि मात्र निर्वाचनमा हामीले राम्रो गर्न सक्छौँ । यसो हुँदा पार्टीभित्र प्रश्न उठ्दैन, विश्वासको वातावरण भन्छ र असन्तुष्टि पनि हुँदैन । पार्टीको जीवनलाई प्रभावकारी ढंगले अगाडि लैजान सक्यौँ भने निर्वाचनमा त्यसले धेरै फाइदा गर्छ । निर्वाचनमा आम जनताले विश्वास गर्ने वातावरण बन्छ । पार्टी नै व्यवस्थित रुपमा चल्न सकेको छैन, यसले देश कसरी चलाउन सक्छ भन्ने प्रश्न उठ्ने स्थिति हामीले बन्न दिनु हुँदैन ।

सभापति शेरबहादुर देउवाले पक्षपाती ढंगले पार्टी सञ्चालन गरेको आरोप छ । अहिले पनि उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन भन्ने छ । तपाईंलाई कस्तो लागिरहेको छ ?

पार्टीका समिति र विभागहरूले पूर्णता पाएका छैनन् । ती समितिलाई पूर्णता दिँदा उहाँले कस्तो खालको रणनीति अख्तियार गर्नुहुन्छ ? त्यसले धेरै कुरा निर्धारण गर्छ भन्ने मलाई लाग्छ । दोस्रो कुरा, निर्वाचनमा टिकट वितरण गर्दा देखिने सबै पक्षलाई राखेर निर्णय गर्नुभएको थियो । उहाँले एक्लै निर्णय गरेकोजस्तो छैन । त्यसमा कति विधि पुग्यो, पुगेन एउटा विषय छ । विधि नपुग्दा पनि विधि पुग्नुपर्छ भन्नेहरू पनि त्यहाँ सहभागी हुनु भएको छ । त्यसैले सबैलाई राखेर टिकट वितरण गरेको देखियो । त्यो मुख्य विषयमा समेटिएको देखिन्छ ।

पार्टीका गुटहरूको प्रतिनिधिलाई राखेर गरिने निर्णय प्रक्रियाभन्दा पनि पार्टीको विधि अनुसार गरिने निर्णय महत्वपूर्ण कुरा हो । गुटहरूले भागबण्डा खोज्ने कुरा राम्रो होइन । सभापतिले पनि भागबण्डा दिएर उहाँहरूलाई सन्तुष्ट गराउनेतिर जानुभन्दा विधि र प्रक्रियाको बाटोमा जाँदा काँग्रेसको प्रभावकारिता बढ्छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर काँग्रेस पहिलो भएको छ । आसन्न प्रदेश र संघको निर्वाचनमा पनि तालमेल गरेर जाने सत्ता गठबन्धनको तयारी छ । यो आवश्यक छ कि छैन ?

स्थानीय निर्वाचनमा ४३ प्रतिशत स्थानीय तहमा मात्र तालमेल भएको थियो । ती पालिकाका वडाहरूमा १० प्रतिशत पनि तालमेल भएको छैन । ५७ प्रतिशत पालिकामा काँग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसैले गठबन्धनले काँग्रेसलाई बेफाइदा भएको छैन । किनभने काँग्रेस जहाँ कमजोर छ, त्यहाँ गठबन्धन गरिएको हो । कमजोर भएको ठाउँमा गठबन्धन गरेर जित्ने कुराले पार्टीलाई कसरी हानी गर्छ ? गठबन्धनभित्र सीटहरू हेर्दा माओवादी केन्द्रले बढी जितेको देखिन्छ ।

माओवादीलाई ज्यादा फाइदा भएपनि काँग्रेसलाई गठबन्धनले घाटा भएको छैन । यसको निरन्तरता आवश्यक छ कि छैन भन्ने कुरा गठबन्धन गर्दा हुने लेनदेनमा आधारित हुन्छ । गठबन्धनका निम्ती हामीले अस्वाभाविक ढंगले टिकट दियौँ भने जनताको मन जित्न सकिँदैन । स्वभाविकता हेरेर गठबन्धन गरियो भने राम्रो हुन्छ । सक्दा त एक्लै लड्ने कुरा राम्रो हो । तर तेस्रो शक्ति एक्लै लड्दैन । पहिलो र दोस्रो शक्ति कुनैसँग मिल्छ । त्यसैले तेस्रो शक्तिलाई मिलाएर जाने कुरा स्वाभाविक हुन्छ ।

 

गठबन्धनकै निरन्तरताको पक्षमा वातावरण बन्छ भन्ने मलाई लाग्छ । तर गणितीय गठबन्धनको अर्थ छैन भन्ने मेरो बुझाइ छ । गठबन्धनले देश र जनतालाई के गर्छ ? जनताका मुद्दा गठबन्धनसँग कहाँ जोडिएको छ ? गठबन्धन हुँदा जनताका मुद्दा पूरा हुने स्थिति कसरी बन्छ ? गठबन्धनको प्रतिबद्धता के हो ? गठबन्धन गरेर चुनाव जितेपछि जनताका निम्ति गर्ने कुरा के हो ? त्यसको साझा एजेण्डा निर्माण गरेर गठबन्धन गरेर जानुपर्छ । मुद्दामा साझा दृष्टिकोण नबन्ने र खाली सीट बाँटफाँटमा मात्र गठबन्धन गर्ने कुरा स्वाभाविक हुन सक्दैन । जनताको मुद्दालाई कार्यान्वयन गर्ने गरी गठबन्धन गर्ने स्थिति बन्यो भने परिणाममुखी हुन्छ ।

माओवादी र एकीकृत समाजवादीका नेताहरूले काँग्रेसले आफूहरूको अस्तित्व स्वीकार नगरे गठबन्धन कुनै पनि बेला टुट्ने अभिव्यक्ति दिइरहेका छन् । उनीहरूको यो अभिव्यक्तिलाई काँग्रेसले कसरी लिएको छ ?

आफ्ना कार्यकर्तालाई चित्त बुझाउन, म कार्यकर्ताको पक्षमा छु भनेर अभिव्यक्ति दिने एउटा विषय हो । सारमा गठबन्धनभित्र रहेका दल गठबन्धन गरेर जाने कुरामा एकमतजस्तै छन् । लेनदेन र मुद्दा मिलेपछि चित्त बुझेरै गठबन्धन भएको हो ।

स्थानीय निर्वाचनको परिणामले संघ र प्रदेशमा गठबन्धन गर्दा गणितीय हिसाब मिलाउने के आधार दिएको छ ? पाँच दलबीच कसरी भागबण्डा मिलाएर जानुपर्छ जस्तो लाग्छ ?

आम निर्वाचनमा स्थानीय तहको जस्तो गठबन्धन सम्भव छैन । १६५ निर्वाचन क्षेत्रमध्ये केहीमा गठबन्धन गर्ने केहीमा नगर्ने भन्ने कुरा हुन सक्दैन । त्यस कारण स्थानीय निर्वाचनको गठबन्धनभन्दा संघ र प्रदेश निर्वाचनको गठबन्धन अप्ठ्यारो छ । तर गठबन्धनमा रहेका दलहरूले उम्मेदवार बनाउनका लागि झगडा गर्ने कुराको केही अर्थ छैन ।

उम्मेदवारले जित्नु पनि पर्छ । जित्नका लागि गठबन्धन गर्ने हो । संगठनको अवस्था हेरेर सीट लिनुपर्छ । यसका लागि स्थानीय निर्वाचन, विगतको संसदीय निर्वाचन र व्यक्तित्वलाई आधार बनाउनुपर्छ ।

पाँच दलीय गठबन्धन चुनावसम्मै जानेमा विश्वस्त हुनुहुन्छ ?

अहिलेसम्म जाने अवस्था नै देखिन्छ । गठबन्धनका विरुद्ध कोही उभिएको छैन । कुनै पार्टीको कुनै एउटा नेताले गठबन्धन गर्नु हुँदैन भन्ने कुरा एउटा हो । त्यो रणनीति पनि हुन्छ । गठबन्धनभित्र बार्गेनिङ गर्ने र कार्यकर्ता भड्किन नदिन पनि बोलिएको हुन्छ । पाँच दलका मुख्य व्यक्तिहरूले गठबन्धनका खिलाफमा जाने गरी बोलेको र व्यवहार देखाएको स्थिति छैन ।

७७ वटै जिल्लामा सशक्त संगठन भएका काँग्रेसले गठबन्धन गरेर जाँदा नेता कार्यकर्तालाई रोक्न सक्ला र ? टिकट नपाएपछि विद्रोह हुनसक्छ नि ?

स्थानीय निर्वाचनमा अभ्यास गरिसकेको छ । मनोविज्ञान पनि बनेको देखिन्छ । हामी गठबन्धन गरेरै सरकारमा छौँ । स्थानीय निर्वाचनमा गठबन्धन गरेर हामी आयौँ । हामीले गठबन्धन नगर्दा अहिले हामीले गठबन्धनमा राखेका दलहरू अन्तै गठबन्धन गर्न जान्छन् ।

यो स्थितिमा नेपाली काँग्रेसले निर्वाचन जित्ने स्थिति कसरी बन्छ ? गठबन्धन नगरौँ भन्दै गर्दा यो कुरालाई चित्त बुझ्ने गरी तथ्य ल्याउन सक्नुपर्छ । काँग्रेसमा गठबन्धन हुनुहुँदैन भनेर स्थानीय निर्वाचनमा पनि कसैले भनेको होइन । स्थानीय तहमा गठबन्धन गर्न दिनुपर्छ, परिस्थिति अनुसार मात्र गठबन्धन गर्नुपर्छ भनेर सबैले भनेको हो नि ! त्यसैले कुनै अमुक पालिकामा भएको गठबन्धनको विरोध गरे पनि समग्र रुपमा काँग्रेसभित्र असहमति थिएन । अब पनि त्यो परिस्थिति बन्छ भन्ने मलाई लाग्छ ।

माओवादी केन्द्र एमालेसँग मिल्छ र हामी हार्छौँ भन्ने डरको राजनीति काँग्रेसले कति दिन गर्छ ?

त्यसो भए त हामी सत्तामा जानु नै हुँदैन थियो । प्रतिपक्षमै बसेर निर्वाचनमा जानुपर्थ्यो । कम्युनिस्ट पार्टी फुट्यो, केपी ओली नेतृत्वको सरकार ढल्यो । त्यसपछि पनि हामीले कसैलाई प्रधानमन्त्री बनाइदिनुपर्थ्यो । हामी सरकारमा गयौँ । त्यसमा कसैको असहमति थिएन । स्थानीय निर्वाचनमा गठबन्धन गर्‍यौँ । त्यसमा पनि कसैको ठूलो असहमति थिएन । अब संघको निर्वाचनमा गठबन्धन गर्ने कुरामा असहमति जनाउने परिस्थिति छैन । त्यसैले डरभन्दा पनि परिस्थितिले गठबन्धन हुने हो । हाम्रो राजनीतिमा गठबन्धनको संस्कार विकसित भएको देखिन्छ ।

काँग्रेस र एमालेमध्ये को पहिलो पार्टी बन्ने भन्ने साँचो माओवादीको हातमा गयो होइन ?

त्यो पनि भन्न सकियो । पार्टीगत रुपमा माओवादीको हैसियत छ । ऊ कोसँग मिल्छ भन्ने आधारमा काँग्रेस र एमालेमध्ये को पहिलो हुने भन्ने परिस्थिति बन्यो । तर काँग्रेसको नेतृत्वमा मात्र गठबन्धन टिक्ने स्थिति भयो । कम्युनिस्टहरूबीचको गठबन्धन टिक्दै टिकेन । केपी ओलीजीको नेतृत्वको गठबन्धन टिकेन ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन टिकिरहेको छ । निर्वाचनमा पनि टिक्यो । गठबन्धनको साँचो काँग्रेससँग मात्र भएको देखिने भयो । नेपालको राजनीतिमा समन्वयकारी भूमिका काँग्रेसले अब्बल ढंगले गरेको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उभार देखियो । मुख्य सहरमा शक्तिशाली दलका उम्मेदवार पराजित भए । आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हावा कत्तिको चल्ने देख्नुभएको छ ?

स्वतन्त्र उम्मेदवारको विजयले काँग्रेसलाई नराम्रो गर्दैन । काँग्रेस लोकतन्त्रवादी पार्टी हो । जनताले जसलाई चाह्यो त्यसैलाई जिताउँछन् । यो व्यवस्थाको सुन्दरता हो । तर नेपाली काँग्रेसका लागि यो एउटा चुनौती हो । यसलाई हामीले समयमै थाहा पायौँ ।

हामीलाई कतिपय कुरामा जनताले सच्चिन भनेका छन् । हामी व्यवस्थित हुनुपर्ने रहेछ, हामीले बुझिने गरी आफ्ना कुरा भन्न सकेका रहेनछौँ । हामी चल्ने तरिकामाथि जनताको असन्तुष्टि रहेछ भन्ने सन्देश स्थानीय निर्वाचनले दिएको छ । यसलाई हामीले समयमै थाहा पायौँ । अब सच्याएर आम चुनावमा जान्छौँ । धेरै ठूलो समस्या छैन ।

आम निर्वाचनमा उम्मेदवार सँगसँगै भावी प्रधानमन्त्री को भन्ने कुराले पनि अर्थ राख्छ । आगामी निर्वाचनमा काँग्रेसले छैटौँ पटक प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई अगाडि सार्छ कि कुनै नयाँ व्यक्ति प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर जाने स्थिति बन्छ ?

निर्वाचनको प्रक्रिया सुरु भइसकेको छैन । पार्टीभित्र यो विषयमा बहस प्रवेश गरेको छैन । हाम्रो पार्टीले उहाँ (शेरबहादुर देउवा)बाहेक अर्को व्यक्ति चयन गरियो भने चयन गरिएकै व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिन्छ । चयन गरिएन भने पार्टी सभापति जो छ, उहाँकै नेतृत्वमा निर्वाचनमा जाने कुरा हो । यो विषयमा निर्वाचनको सम्मुखमा मात्र छलफल हुन्छ । अहिले हाम्रो पार्टीको सभापति र मुलुकको प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँकै नेतृत्वमा गठबन्धन अगाडि बढिरहेको छ । अब प्रधानमन्त्री को हुन्छ भनेर पार्टीमा छलफल गर्ने बेला भएको छैन ।

महामन्त्री गगन थापाले आम निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताउनुभएको छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

यसलाई अस्वाभाविक रुपमा लिनुपर्ने केही छैन । हामीसँग जुनसुकै पुस्तामा नेतृत्व छ भन्ने कुरा देखिन्छ । पार्टीभित्र प्रतिस्पर्धा गरेर आउने चाहना राख्ने कुरालाई अस्वाभाविक ढंगले लिनुपर्ने केही छैन । तर त्यो पछिको विषय हो । अहिले भन्नु कति सान्दर्भिक छ, त्यो आफ्नो ठाउँमा छ । तर दाबी गर्ने कुरा अस्वाभाविक होइन ।

आगामी निर्वाचनपछि प्रधानमन्त्रीमा देउवाको विकल्प दिनुपर्ने काँग्रेसभित्र र बाहिर एक खालको आवाज सुनिन्छ । यसमा तपाईंको मत के हो ?

हामीले अहिले अर्को निर्वाचनको तयारी सुरु गरेका छैनौँ । पार्टीको आन्तरिक विषयहरू पूरा गर्नुपर्ने छ । अहिले त्यो काम तत्काल गर्न जरुरी छ । अहिले प्रधानमन्त्री को हुने भन्ने विषय उठाएर पार्टीभित्र धेरै विवाद गरिरहन जरुरी छैन ।

आसन्न आम निर्वाचनमा तपाईंंको तयारी के छ ?

अघिल्लो पटक प्रदेशमा चुनाव लडेको थिएँ । यसपटक प्रदेशमा चुनाव लड्दिनँ । मैले प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा व्यक्त गरेको छु ।

तनहुँका दुई वटा निर्वाचन क्षेत्रमा तपाईं लगायत चार–पाँच जना नेताहरूको सशक्त दाबेदारी छ । तनहुँ नै अन्तिम हो कि विकल्प पनि सोच्नु भएको छ ?

तनहुँमा दुई वटा निर्वाचन क्षेत्र छ । तपाईंले संकेत गरेका सबै नेता १ नम्बर निर्वाचन क्षेत्रका हुनुहुन्छ । म २ नम्बर निर्वाचन क्षेत्रको हुँ । मैले तनहुँको २ नम्बर क्षेत्रबाट चुनाव लड्ने गरी इच्छा व्यक्त गरेको हुँ । यो पार्टीगत र प्रक्रियागत हुने निर्णय हो । म पार्टीको इमानदार सिपाही हुँ । पार्टीले खटाएको काम गर्छु । तर निर्वाचनमा जित्ने आधार कहाँ छ, उसको पहिचान कहाँ छ, कहाँ त्यो व्यक्तिले काम गरेको छ भन्ने आधारमा पार्टीले टिकट दिने हो । त्यसैले २ नम्बरमा मलाई टिकट दिने कुरा उपयुक्त हुन्छ भन्ने मेरो बुझाइ छ ।

काठमाडौँ–३ मा पनि तपाईंंको चर्चा छ । तनहुँ २ को विकल्पका रुपमा काठमाडौँको ३ नम्बर क्षेत्रबारे केही सोच्नु भएको हो ?

काठमाडौँमा लड्ने कुरा यसअघिका निर्वाचनमा पनि आएको हो । तर म तनहुँतिर फर्किएको अवस्था हो । अहिले पनि मेरो पहिलो प्राथमिकता तनहुँमै हुन्छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार