काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई मुद्दा दायर गरेको विरोधमा कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरूद्ध गरेको हो।
बैठकको सुरुमै आफ्नो धारणा राख्दै कांग्रेस सांसद मिनबहादुर विश्वकर्मालेअख्तियार सरकारको छायाँमा परेको आरोप लगाएका थिए। उनले अख्तियार दुरुपयोग आयोगले आफ्नै अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन। योजना बनाउने, निर्णय गर्ने, निर्णयबाट लाभ लिने व्यक्तिले उन्मुक्ति पाउने र पेस गर्नेलाई मात्रै फसाउने काम भएको बताएका छन।
यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो।
गच्छदारमाथि प्रतिशोध साधेर भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।
बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिदबिक्री गर्नेमध्ये १७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने सर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट छ।
सत्ताको प्रयोगमा अख्तियार परेको कांग्रेसले आरोप लगाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया