काठमाडौंः समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको विस्तारित बैठकले मधेस प्रदेशअन्तर्गत आठ जिल्लाको सङ्गठनको सदस्यता अद्यावधिक गरी यही असार मसान्तभित्र प्रदेश समितिलाई बुझाउने निर्णय गरेको छ ।
मधेस प्रदेशका आठवटै जिल्ला सङ्गठनको अधिवेशन आगामी साउन १५ भित्र गरिसक्ने र प्रदेश अधिवेशन साउन २८ र २९ गते गरिने भएको छ । बैठकले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय प्रचार विभागबाट सञ्चालित कलम पत्रिका र कलम अनलाइन मधेस प्रदेशबाट समाचार सम्प्रेषण गर्न प्रदेश प्रतिनिधिका रूपमा सङ्गठनका मधेस प्रदेशका संयोजक बृजलाल पासवान र जिल्ला सम्वाददाता पर्साबाट रवीन्द्र कार्की, सर्लाहीबाट क्षितिज विश्वकर्मा, सप्तरीबाट अनिल पोखरेल, बाराबाट अजय साह, रौतहटबाट अस्मिता गिरी र धनुषाबाट अवुल साहलाई जिम्मेवारी दिएको छ ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश उपाध्यक्ष रामचन्द्र साहको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रीय प्रचार विभागका सचिव प्रकाश खतिवडा, सङ्गठनका उपाध्यक्ष शीतल साह, सङ्गठनका महासचिव भूपराज खड्का र सङ्गठनका मधेस प्रदेशका इन्चार्ज सुभाष साहलगायतको उपस्थिति थियो ।
सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीका अनुसार बाँकी प्रदेशको पनि प्रदेश स्तरीय भेला तथा विस्तारित बैठक छिट्टै गरिने छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया