काठमाण्डौंः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मनन क्लिनिक’ सेवा आगामी साउनको पहिलो हप्तादेखि सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्र्तलिङ्गी र ‘क्वेयर’ आदि पर्दछन् ।
सङ्घले नेपालमा पहिलोपटक निःशुल्करुपमा सो सेवा सुरुआत गर्न लागेको हो । दक्षिण एशियामा गैरसरकारी सस्थाबाट ‘हर्मनन क्लिनिक’ सञ्चालन गर्ने सङ्घ पहिलो संस्था हुने बताइएको छ । सङ्घका पैरवी अधिकृत जमुना सिटौलाले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मनन क्लिनिक’ सेवा सञ्चालनको लागि अन्तिम तयारी भइरहेको र आगामी साउन महिनादेखि सेवा सुरुआत हुने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा सो क्लिनिक सञ्चालनमा आउन लागेको हो । सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानता र हक अधिकार सुनिश्चित गर्न सञ्चालन गर्न लागेको ‘हर्मनन क्लिनिक’ सेवाबाट ती समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने सङ्घका उपत्यका शाखा व्यवस्थापक शरद अर्यालले जानकारी दिनुभयो । नीलहीरा समाजमा आबद्ध स्वस्तिका लामाले भन्नुभयो, “विशेष गरी ट्रान्स पारालिङ्गीले ‘हर्मनन क्लिनिक’ बाट सहयोग पाउँदछन् । नेपालमा यो सेवा सुरुआत हुनु अन्त्यन्त सकारात्मक कुरा हो ।”
सङ्घले गत पुस महिनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’ गठन गरी विभिन्न काम गरिहेको छ । विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई पहिलोपटक कानुनी मान्यता प्रदान गरिएको थियो । यसपछि सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति २०६० कार्यान्वयनमा आएको थियो भने यही नीतिका आधारमा विसं २०७३ देखि स्वास्थ्य मन्त्रालयद्वारा सूचीकृत सस्थामा सो सेवा निःशुल्क प्रदान गरिँदै आएको छ ।
यसैगरी सङघले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, नियमावली २०७७ र सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ जारी गराउन सरकारलाई महत्वपूर्ण सहयोग गरेको थियो । कोरोना महामारीका बीचमा पनि सङ्घले गत वर्ष मात्र ३३ लाख ६० हजार सेवाग्राहीलाई आफ्ना क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया