वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

घण्टाघरमा राखिएका चार घडीले समय दिन छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता गर्यो । घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण काम लम्बियो । केही महिना अगाडिमात्रै निर्माण सम्पन्न गरी टीकापुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरिए पनि घण्टाघरमा राखिएका चार घडीले भने समय दिन छाडेका छन् । टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले निर्माण कम्पनीले नगरपालिकालाई घण्टाघर हस्तान्तरण गर्न बाँकी रहेको बताउनुभयो ।

घण्टाघरमा जडान गरिएका घडी विद्युतीय हुन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइका इञ्जीनियर मोहन अवस्थीले घडी ठप्प रहेकोबारे पत्ता लगाइने बताउनुभयो । रोयल प्रशंसा जेभीका सञ्चालक दीर्घराज जोशीले प्राविधिक कारणले घडी ठप्प भएको हुनसक्ने बताउनुभयो । “प्राविधिक समस्याका कारण त्यसो भएको हुनसक्छ”, उहाँले भन्नुभयो, “प्राविधिकलाई बोलाएर घडी चल्ने बनाउँछौँ ।”

निर्माण कम्पनीले चार घडी आठ लाखमा खरिद गरेको जोशीले जानकारी दिनुभयो । घण्टाघर निर्माणका लागि रोयल प्रशंसासित तीन करोड २६ लाख ४२ हजारमा सम्झौता भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया