काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।
‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रेस सल्लाहकार थापाले भने, ‘अहिले उहाँहरू निस्किनुभएको छ।’
भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा उनले खासै खुलाएनन्।
तर स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो।
साथै भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ।
माघ १५–१९ मा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकता प्रक्रिया टुंग्याउने गरेको छ।
यसैगरी माओवादी जनयुद्ध सुरु भएको दिन १ फागुनको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध तथा जनआन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने नेकपाको तयारी छ।
उक्त कार्यक्रममा अध्यक्षद्वय ओली र प्रचण्ड दुवै सहभागी हुने तयारीमा छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया