वैशाख १५, २०८१ शनिबार April 27, 2024

स्तन सानो पार्न के गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विशेष गरी किशोरावस्थामा आफ्नो शरीरमा भैरहेका विभिन्न परिवर्तनका सम्बन्धमा निकै चासो हुन्छ । यसै क्रममा किशोरीहरूमा स्तनको आकारका बारेमा पर्याप्त चासो हुन्छ । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । किशोरावस्थामा शरीरमा भैरहेका यी परिवर्तनप्रति कतिपय किशोरी सहज हुन सकिरहेका हुँदैनन् ।

वास्तवमा स्तन सामान्य रूपमा हुनुपर्नेभन्दा ठूलो नभए पनि आफ्नो स्तन निकै ठूलो भएजस्तो लाग्न सक्छ । आफैंभित्र असजिलो भएका कारणले विकास हुँदै गएको आफ्नो स्तनमै सबैको ध्यान गएजस्तो लाग्छ । तपार्इंलाई पनि यस्तै त भएको होइन, एकपटक विचार गर्नुहोला । स्तनको नाप सामान्य भए पनि तपाईंलाई ठूलो लागेको हुन सक्छ ।

स्तनको नाप कसरी लिने ?

सकिन्छ भने शरीरको माथिल्लो भागको सबै वस्त्र फुकालेर नाप लिनुपर्छ । लचिलो नाप्ने फित्ताले नाप्नुपर्छ र नाप लिँदा धेरै कसिलो वा खुकुलो नभई ठिक्क गरी लिनुपर्छ । फित्ता दुवै काखी हुने गरी स्तनका सबैभन्दा बढी उभार भएको स्थानमा रहेको हुनुपर्छ । अब नाप कति भयो भनेर टिप्नुुपर्छ । फित्ता अनुसार इन्च वा सेन्टिमिटरमा नाप लिनुपर्छ । यसले महिलाको छातीको नाप दिन्छ ।

यदि तपाईंले स्तनको ‘थुन’ (कल्चौँडो) वा भनौं ‘कप’ साइज पनि एक महत्त्वपूर्ण पक्ष हो । यसले उचित नापको थुनचोली खरिद गर्न मद्दत गर्छ । नाप्ने फित्ताको सहयोगमा स्तनको ठीक मुनिबाट छातीको गोलाइको नाप लिनुहोस् । यो नाप बिजोडी भए ५ इन्च र जोडी भए ४ इन्च जोड्नुहोस् । जोडेर आएको संख्याले थुनचोलीको ‘Band’ साइज दिन्छ । उदाहरण : ३१+५=३६ Band size हुन्छ । अब स्तनको सबैभन्दा उभारयुक्त वा भरिलो भागबाट लिएको नाप (छातीको नाप) बाट band size लाई घटाउनुहोस् । यसले थुनचोलीको कपको साइज दिन्छ । उदाहरणका लागि यदि यो नाप ३८ इन्च छ भने Cup साइज B हुन्छ । स्तनको कप A (१ इन्च), B (२ इन्च), C (३ इन्च), D (४ इन्च) र DD (Double D) (५ इन्च) भएअनुसार यी आकारका कपको साइज भएका थुनचोलीहरू पाइन्छन् । ठूला आकारका साईज चाहिँ F,G, H वा अझै ठूला आकार हुन्छन् ।

स्तनलाई किन सानो बनाउने ? 

तपाईं मध्य किशोरावस्थामा हुनुहुन्छ र अझै तपाईंको स्तनको विकास भैरहेको छ । सामान्यत: विकिसित अर्थात् उन्नत स्तनलाई आकर्षक मानिन्छ र धेरै महिलाले यसलाई बढाउने चेष्टा गर्छन् । तपाईंले किन स्तन सानो बनाउने कुरा सोच्नुभयो, थाहा भएन । तपाईंले आफ्नो स्तनको नाप उल्लेख नगर्नुभएको हुनाले तपाईंको स्तनलाई तपाईंले ठूलो मान्नु भएको मात्र हो वा साँच्चिकै ठूलो हो, भन्न सकिएन । शरीरको बनौट र मोटाइमा पनि स्तनको आकार भर पर्छ । निम्न स्थितिमा भने उपचार आवश्यक पर्ने गरी स्तनको आकार ठूलो भएको मानिन्छ । स्तनलाई सानो बनाउनुपर्ने आधारहरूको कुरा गर्दा, स्तनकै कारणले एक वा एकभन्दा बढी निम्न समस्या परेको हुनुपर्छ :

    शरीरको संरचनाको तुलनामा स्तनको आकार अति नै  ठूलो हुनु ।

    स्तनको मुन्टो नै तल फर्कने गरी भारी तथा पेन्डुलमजस्तो स्तन हुनु ।

    दुई स्तनमध्ये एक स्तन अर्को स्तन भन्दा निकै ठूलो हुनु ।

    स्तनको वजनका कारणले ढाड, गर्धन वा काँध दुख्नु ।

    स्तनमुनिको छालामा पास्सिएर पोल्नु ।

    थुनचोली को Straps ले काँधमा गहिरो डाम पार्नु ।

    स्तनको आकार तथा तौल बढी भएकैले शारीरिक क्रियाकलाप गर्न बाधा हुनु । 

    स्तन ठूलो भएका कारणले आफ्नो शारीरिक स्वरूपप्रति अति नै असन्तोष हुनु ।

धेरैजसो अवस्थामा ‘स्तन न्यूनीकरण’ गरिने आधार शारीरिक नै हुने भए पनि प्लास्टिक सर्जरीको क्षेत्रमा यस किसिमको शल्यक्रिया सुन्दरता बढाउन प्रयोग गरिँदै आएको छ ।

स्तन सानो बनाउन के गर्ने ?

स्तनको आकार अर्थात् आयतन ठूलो हुनुमा मुख्य भूमिका त्यसमा भएको बोसोले निर्धारण गर्छ । यही बोसोलाई कम गरेर स्तनको आयतन कम गरिन्छ । तपाईंले बजारमा प्रचार गरिएका वा पाइने क्रिम, लोसन, जेलजस्ता उत्पादनको कुरा गर्नुभएको छ । यी उत्पादक कम्पनीले सफलता अनि प्रभावकारिताको दाबा गरे पनि यस्ता उत्पादनको दीर्घकालीन प्रभावका बारेमा पर्याप्त वैज्ञानिक अनुसन्धान अनि पुष्टि अझै पनि भैसकेको स्थिति छैन । त्यसैले तिनको प्रयोग त्यति बुद्धिमानी नहोला । ती उत्पादनले पनि स्तनमा बोसो जम्मा हुन नदिने कुरा नै गर्छन् ।

प्रभावकारी रूपमा स्तन सानो बनाउन ‘स्तन न्यूनीकरण’ (Reduction Mammoplasty) भनिने शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियाको तयारी आवश्यकताअनुरूप शल्यचिकित्सकको सल्लाहअनुसार गर्नुपर्ने हुन्छ । त्यसका साथै ‘पर्न सक्ने’ नकारात्मक असरहरूका बारेमा पनि शल्यचिकित्सकसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ । केही परिस्थितिमा स्तनपानलाई नकारात्मक असर पार्न सक्छ । आफ्नो नयाँ शारीरिक रूप तथा मानसिक व्यवस्थापन गर्न केही समय लाग्छ । शल्यक्रिया नगर्ने स्थितिमा शरीरको तौल बढी छ भने त्यसलाई घटाउनु र व्यायाम गर्नु स्वस्थ उपाय हो ।

अर्को कुरा भाग्यवश स्तन छोपेर राखिने अङ्ग हो । थुनचोलीजस्ता भित्री पहिरन होस् वा बाह्य पहिरन, त्यसको सही छनौट गर्न सकियो भने पनि स्तनको उभारलाई एक हदसम्म लुकाउन सकिन्छ । साप्ताहिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया