असोज १३, २०८३ मंगलबार September 29, 2026

रुसले किन बेचिरहेकाे छ त सबैभन्दा ठूलो परिमाणमा सुन ?

सन् २०२१ को तुलनामा रुसको रक्षा खर्च चार गुणाभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, २५ साउन । ठूलो बजेट घाटा पूर्ति गर्न नगद जुटाउने प्रयासस्वरूप रुसले सन् २०२६ को हालसम्म आफ्नो सुनको मौज्दातको ठूलो हिस्सा बिक्री गरेको छ।

पछिल्लो १२ महिनामा रुस विश्वकै सबैभन्दा ठूला सुन बिक्रेताहरूमध्ये एक बनेको छ। बजेटसम्बन्धी अभावको सामना गर्न र नगद जुटाउन यसो गरिएको भए पनि यसले अनिवार्य रूपमा आसन्न आर्थिक संकटको संकेत भने गर्दैन।रुसको केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुलाईको सुरु सम्ममा उसको सुनको मौज्दात ७ करोड ३४ लाख ट्रोय आउन्स (२,२८२ मेट्रिक टन बराबर) रहेको थियो। एक आउन्स करिब २८.३५ ग्राम बराबर हुन्छ।

सुनको यो परिमाण सन् २०२६ को सुरुको तुलनामा करिब ४३.५ मेट्रिक टन कम हो। यसको अर्थ रुसको सुनको मौज्दात अब फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण हुनुअघिको स्तरभन्दा तल झरेको छ।

यस वर्षको सुरुमा सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो। पहिलो चार महिनामा यसको औसत मूल्य प्रति औंस ४,८०० डलर रहेकोमा त्यसयता घटेर प्रति औंस करिब ४,००० डलरमा झरेको छ। मस्कोले सुन बिक्री गरेर ५ अर्ब डलरभन्दा बढी रकम जुटाउने अपेक्षा गरेकोण् छ।

‘सुनको बिक्रीले यो सङ्केत गर्छ कि उनीहरूसँग नगदमा सजिलै परिणत गर्न सकिने अन्य सम्पत्तिहरू सकिँदै गएका छन्,’ पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सकी अर्थशास्त्री एलिना रिबाकोभाले भनिन । ‘यो तथ्यांकले के देखाउँछ भने रूसमाथी एकातिर बजेट घाटाको दबाब छ भने अर्कोतिर उक्त घाटा पूर्ति गर्न आवश्यक रकम जुटाउने उपायहरूबारे पनि अत्यधिक दबाब छ।’

युक्रेन युद्धसँग सम्बन्धित खर्चका कारण विगत केही वर्षयता रुसको रक्षा बजेटमा भारी वृद्धि भएको छ, जसले त्यहाँको अर्थतन्त्र र राज्यको ढुकुटी माथि अत्यधिक दबाब सिर्जना गरेको छ। यस वर्षको सुरुमा, ‘फाइनान्सियल टाइम्स’ ले जनाएअनुसार रुसको अर्थ मन्त्रालयले मन्त्रिपरिषद्लाई पत्र पठाउँदै चेतावनी दिएको थियो कि सन् २०२६ सम्ममा युद्धसम्बन्धी अतिरिक्त खर्च कम्तीमा २८ अर्ब अमेरिकी डलर पुग्नेछ।

यसबाहेक सन् २०२७ र २०२८ मा यो खर्च अझ बढ्ने अपेक्षा गरिएको छ। सन् २०२१ को तुलनामा रुसको रक्षा खर्च चार गुणाभन्दा बढीले बढेको छ। सन् २०२५ मा यो खर्च कुल करिब १६ ट्रिलियन रुबल अर्थात करिब २०४ अर्ब अमेरिकी डलर पुगेको छ।

मस्कोस्थित परामर्शदाता कम्पनी ‘म्याक्रो एडभाइजरी’का वित्तीय विश्लेषक क्रिस विफरका अनुसार रुसले गरेको सुनको बिक्री एक महत्त्वपूर्ण घटना भए पनि यो आत्तिएर गरिएको बिक्री भने होइन।

उनले भने, ‘यो एउटा असामान्य अवस्था भए पनि यो एउटा सामान्य प्रवृत्ति हो। यसको अर्थ रुस टाट पल्टिन लागेको, पैसा सकिएको वा उसँग केही बाँकी नरहेर घरका बहुमूल्य सामानहरू नै बेच्न थालेको भन्ने होइन।’ उनले उल्लेख गरे अनुसार रुसले बिक्री गरेको सुन मुख्यतया रुसी केन्द्रीय बैंकले नभई देशको अर्थ मन्त्रालयले आफ्नो ‘नेशनल वेलफेयर फन्ड’ मार्फत बिक्री गरेको हो।

उनी थप प्रस्ट पार्छन्, ‘सन् २०२२ को सुरुवातदेखि नै ‘नेशनल वेलफेयर फन्ड’ले खरिद गर्न सक्ने सम्पत्तिहरूमध्ये सुन पनि एक थियो। यसो हुनुको कारण के थियो भने, युक्रेनमाथिको आक्रमणपछि लगाइएका प्रतिबन्धहरूका कारण अमेरिकी ट्रेजरी बन्ड र जर्मन सरकारी बन्डहरू उक्त कोषका लागि उपलब्ध थिएनन्।’

रुस हाल विश्वकै प्रमुख सुन बिक्रेताहरूमध्ये एक बनेको छ। यस घटनाक्रमले देशको बजेट घाटा र समष्टिगत आर्थिक स्थायित्वका सम्बन्धमा थप प्रश्नहरू खडा गरेको छ।

हालैका सरकारी तथ्याङ्कअनुसार सन् २०२६ मा रुसको संघीय बजेट खर्च र घाटा सरकारी अनुमानभन्दा १ ट्रिलियन रुबल अर्थात करिब १२.८५ अर्ब अमेरिकी डलर भन्दा बढीले बढ्न सक्छ। सन् २०२६ का लागि बजेट घाटा हाल कुल गार्हस्थ्य उत्पादनको १.६ प्रतिशत अर्थात करिब ४० अर्ब अमेरिकी डलर अनुमान गरिएको छ, जुन अझ बढ्ने सम्भावना छ।

यद्यपि, युद्धका कारण तेलको मूल्यमा भएको वृद्धि तथा तेल र ग्याँसबाट प्राप्त बढ्दो राजस्वले सन् २०२६ को हालसम्मको अवधिमा रुसी सरकारलाई आफ्नो बजेट घाटा पूर्ति गर्न निकै मद्दत पुर्‍याएको छ। रिबाकोभाका अनुसार अन्त्यमा सबै कुरा रुसले तेल र ग्याँसबाट प्राप्त गर्ने मूल्य र राजस्वमै निर्भर गर्दछ। उनले यसैलाई साढे चार वर्षदेखि जारी युक्रेन युद्धका लागि आवश्यक खर्च जुटाउने मस्कोको क्षमताको वास्तविक सीमाका रूपमा औंल्याएको डिडब्लुले जनाएको छ। न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार