कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण

हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको सहयोगमा सिसर्काबाट समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरीको दृष्य अवलोकनस्थल जोड्ने पाँच किलोमिटर पदमार्ग निर्माण भएको हो।

गाउँपालिकाले विनियोजन गरेको रु नौ लाख बजेटबाट चिमखोलाका ३० जना मजदुर पाँच सातासम्म जङ्गलमा बास बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजापुनले जानकारी दिए।

“भिर र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिडी बनाउने, झाडी फाड्ने र माटो काटेर घोडा खच्चर हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गरेका छौँ”, उनले भने, “बस्तीबाट टाढा भएकाले मजदुर गोठ बनाएर जङ्गलमा बसेर घामपानी, झरी बादल नभनी पदमार्ग बनाएका हौँ।”

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङ धुरीबाट संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे्र र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गल वसन्तयाममा विभिन्न रङका लालीगुराँस फुलेर मनमोहक हुने गर्छ। घोरल, मृगलगायत जनावर र पाँच औले, सेदक चिनीलगायत जडिबुटी अवलोकन गर्न सकिन्छ।

चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि चिमखोलादेखि पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ। चिमखोलादेखि हिँड्न सक्ने एक दिन र विस्तारै हिडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ। अघिल्लो पुस्तासम्म चिमखोलाबासी वर्खायाममा गाईभैँसी र भेँडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दर्थे।

पदमार्ग र सोवाङ धुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका-७ का वडाध्यक्ष थकबहादुर पाइजाले पदमार्ग निर्माणका साथै यस वर्ष सोवाङमा पर्यटन प्रवर्द्धनका लागि थप रु तीन लाख बजेट विनियोजन भएको जानकारी दिए। चिमखोलाका मोति तिलिजा पुनका परिवारले व्यक्तिगत लगानीमा दृष्य अवलोकन स्थलमा घेराबार निर्माण र एउटा खानेपानीको ड्रम राख्ने तयारी गरेका छन्।

यसअघि चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर आश्रयस्थल भवन निर्माण गरेका छन्। ओडारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयसस्थल निर्माण गरिएको हो।

गर्बुजाको अगुवाइमा यसअघि सोवाङ धुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँ नजिकै पाँच/पाँच सय लिटर क्षमताको दुई वटा ड्रम राखेका थिए। वडा कार्यालयले पनि थप दुई वटा ड्रम राखेका छन्। हिउँ पग्लिएर र आकाशको पानी ड्रममा सङ्कलन हुने व्यवस्था मिलाएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ।

वडा कार्यालयको प्रस्तावमा रघुगङ्गा गाउँपालिकाले गत वर्ष सोवाङ धुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो । होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ।

चिमखोला-सोवाङ-दोवा जोड्ने पदमार्गको सर्वेक्षण गरेर चिमखोला क्षेत्रमा पर्ने सिसर्का र सिजीमा १०/१० कोठे आश्रयस्थल भवन र सिजी देखि थामखर्क जोड्ने एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर सङ्घीय सरकारसँग प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्यसमेत रहेका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनको पहलमा पर्यटन विभागले दोवा-सोवाङ-चिमखोला पदमार्गको गत जेठ महिनामा सम्भाव्यता अध्ययन भएको थियो।

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर’ (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर-राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार