असार २५, २०८२ बुधबार July 9, 2025

कारागार व्यवस्थापन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभाको आजको बैठकले कारागार विधेयक २०७६ पारित गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले पेश गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ लाई बैठकले सर्वसम्मतिले गरेको हो ।

आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेश गर्नुभयो ।

यस अघि आजको बैठक सुरु हुनासाथ सांसदहरुले देशका विभिन्न भागमा बाढी पहिरोले क्षति पुर्‍याएका सडकको समयमै पुनर्निर्माण र मर्मत गर्नुपर्ने, धान रोपाइँ सकिन लाग्दा समेत किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, सिँचाइ नहरहरूमा क्षति पुगेका कारण मधेश प्रदेशका विभिन्न भागमा रोपाँई हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले बैङ्कहरूले तरलता अभाव देखाएर कृषि ऋण समेत बन्द गर्दा किसानहरू समस्यामा परेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले दाइजोको नाममा महिला माथिको हिंसा नरोकिएको भन्दै नेपाल प्रहरी, महिला आयोग, मानवअधिकार आयोग जस्ता निकायलाई सक्रिय बनाउन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठक गणपुरक सङ्ख्या यकिन गर्दा सङ्ख्या नपुगेपछि पहिलो पटक १५ मिनेटका लागि स्थगित भएको थियो ।

बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्न कुन सङ्ख्याको एक चौथाइ अर्थात् ६९ जना सांसदको उपस्थिति रहनुपर्नेमा जम्मा ६७ जना सांसदको मात्र उपस्थिति रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।

१५ मिनेट स्थगित भई पुनः बसेको बैठकले कारागार विधेयक २०७६ सर्वसम्मतले पारित गरेको थियो ।

त्यसपछि बैठकको कार्यसूचीमा रहेको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७९ सम्बन्धी प्रस्तावमाथि छलफल भए पनि पुनः गणपुरक सङ्ख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको सभामुखले जानकारी दिनुभयो ।

सो विधेयक निर्णयार्थ पेश गर्नु अघि सांसद प्रेम सुवालले गणपुरक सङ्ख्या एकिन गर्न माग गर्दा ५७ जनाको मात्र उपस्थिति देखिएपछि सभामुखले बैठक स्थगित गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया