असार ३०, २०८२ सोमबार July 14, 2025

शिक्षक छनोट परीक्षा स्थगित, कागजपत्र अख्तियारको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभाग र प्रशासनिक कार्यका लागि गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रियाको लिखित परीक्षा स्थगित गरेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको निर्देशन पछि स्थगित गरिएको हो ।

ग्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साईन्स, ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ ल को भदौ ४ गतेदेखि गर्ने भनिएको करार शिक्षक छनोट परीक्षा हाललाई स्थगित गरेको जानकारी दिएको छ ।

विश्वविद्यालयका अनुसार २०७८ जेठ ३ गते पछि भएका सबै तहको विज्ञापन छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि थप निर्देशन नआउन्जेलका लागि स्थगित गरेको हो । शिक्षक कर्मचारी छनोट समितिको साउन २६ गतेको निर्णय अनुसार हाललाई करार शिक्षक छनोट सम्वन्धी कामहरु स्थगित गरिएको छ ।

विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो ।

विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयमा अतिरञ्जित गर्न खोजिएको बताए । उनले आफुले विश्वविद्यालयमा राम्रो काम गर्न खोजिएकै कारणले यसको विरोध भइरहेको बताउँदै राम्रो गर्नेलाई धन्यवा दिनुको सट्टा फसाउन विभिन्न आरोप लगाइएको बताए । साथै आफु विश्वविद्यालयमा उपकुलपति भएर जाँदा ४० करोड वेरुजु रहेकोमा त्यसलाई घटाएर ३ करोड ५२ लाखमा ल्याएको बताए । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया