वैशाख ८, २०८१ शनिबार April 20, 2024

यस कार्यकालमा अभूतपूर्व काम भयो : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको यस कार्यकालमा राष्ट्रियताका सवालमा अभूतपूर्व काम भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शनिबार बसेको संसद अधिवेशनको अन्तिम बैठकमा सभामुख सापकोटाले सो कुरा बताउनुभएको हो ।

विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरु पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा लगेर काम गरिएको उहाँले बैठकमा जानकारी गराउनुभयो । “यस अवधिमा संघीय संसद, प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउने अठोटका साथ गरिएका पहल र प्रयत्नहरुमा माननीय सदस्यहरुबाट प्राप्त विश्वास र सहयोगका लागि विशेष आभार व्यक्त गर्दछु” उहाँले भन्नुभयो ।

“प्रतिनिधिसभाको यस कार्यकालमा हामीले राष्ट्रियताका सवालमा अभूतपूर्व कार्य गरेका छौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा संघीय संसद, प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने छ” उहाँले भन्नुभयो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न संकटका बेलामा समेत तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै बैठक सञ्चालन गरी जनताका सवालहरुमा काम गरेको उहाँले बताउनुभयो ।

सभामुखको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थिति, सक्रिय सहभागिताका लागि उहाँले सांसदहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । संघीय संसद र सातवटै प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदान एवं अन्तरक्रिया र ती कार्यक्रमबाट आएका निष्कर्षले संसदलाई थप जीवन्त र जनमुखी बनाउन सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया