कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थाले पश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ ।

केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द  गराएको थियो ।  आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढी स्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१  चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा  विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१  कन्टनेरबाट सामान उपलब्ध  गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडा दसैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँते ओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दसैँ अगावै आयात गर्न सहजीकरण गरिदिनुहुने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए । नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङ ल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताए । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ ।  अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपर त्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।

गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङ ल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।

बनुवा घुम्तीको पासाङ ल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार