वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

स्वास्थ्य संस्थामा औषधि अभावले उपचारमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरेको छ । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो ।

सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउने गरेको स्थानीयको गुनासो छ । नसासम्बन्धी समस्या लिएर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुभएका बूढीनन्दा नगरपालिका–५, बिर्सैनका घमण्डराज उपाध्यायले औषधि नपाएको गुनासो गर्नुभयो ।

डाक्टरले जाँच गरेर उहाँलाई १३ प्रकारका औषधि खान भनेका छन् तर स्वास्थ्य केन्द्रमा कुनै पनि औषधि नभेटिएको उहाँको भनाइ छ ।

स्वास्थ्य केन्द्रमा प्रायः बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन् । बूढीनन्दा नगरपालिकाले भने स्वास्थ्य केन्द्रमा औषधि र डाक्टरको व्यवस्थापनको काम भइरहेको नगर उपप्रमुख रामबहादुर बोहोराले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया