बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हामी राजनीति गर्ने मान्छेहरुले देश र जनतालाई केन्द्रमा राखेर सोच्नु पर्छ । : राजीव विक्रम शाह (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजीव विक्रम शाह भनेपछि जाजरकोटी नागरिकले समाजसेवी भनेर चिन्दछन । तपाई तीन पुस्तादेखि काठमाडौंवासी हुनुहुन्छ जाजरकोट प्रतिको माया कसरी जाग्यो ?

हामी तीन पुस्ता बाचुन्जेलसम्म त्यही जाजरकोटले नै इज्जत दिएर काठमाडौंसम्म लिंक जोडिएको हो । मेरो फुपुको चन्द्र शमशेर राणासँग विवाह गर्नु अथवा मेरो बुवा–मुवाबीचको विवाह लगायतका कुराले जाजरकोटका राजपरिवार ठकुरीहरु भनेर हामीले इज्जत पायौंं । अहिले पनि हाम्रो तिरका मान्छेले अवसर नपाएर कि काला पहाडतिर जान्छन कि त तराइतिर काम खोज्न झर्छन । त्यस्तै मेरो जिजुबुवा पनि त्यो बेलाको जाजारकोटे राजा भएपनि कान्छो भाइ भएपछि भागमा केही पाइँदैन भनेर यता झर्नुभएको थियो होला । त्यो समय चन्द्रशमशेर राणाकालीन थियो । त्यस बेला जात विक्थ्यो । मेरो फुपु चन्द्र शमशेरको दोस्रो महारानी हुनुभयो ।

म जन्मी हुर्की पढाइ सकेपछि हाम्रो जाजरकोटे दाजुभाइ कहाँ छन् भनेर वरिपरि भन्दा कोही नदेखिने अवस्था थियो । त्यहाँका कोही पनि डाक्टर, इन्जिनियर, न्यायाधीश, आर्मीको अफिसर थिएनन् । जव दश वर्षे सशस्त्र संघर्ष पश्चात शान्ति प्रकृयामा आइसकेपछि म मेरो जाजरकोटको बारेमा बुझ्न जान्छु, त्यहा केही सामाजिक सेवा गर्छु भनेर जाजरकोट गएको हुँ । परिस्थितिबस म राजनीतिमा आएँ । म सांसद बन्छु, ठूलो मान्छे बन्छु भन्ने थिएन, खाली त्यहाँका जनताको सेवा गर्छु भन्ने नै थियो । विभिन्न समयमा विभिन्न प्रकोपहरु आए त्यसबेला मैले सेवा पुर्याउन पाएँ । २०६६ मा झाडापखालले आक्रान्त बनाएको जाजरकोटमा हेलिकोप्टर मार्फत औषधि, उपकरण र स्वास्थ्यकर्मी ठाउँ ठाउँ पु-याएर सेवा गरें । त्यसवेला सदरमुकाममा मात्रै सडक थियो ।

अन्य गाउँमा बाटो पुगेको थिएन् । केही घटना भयो भने त्यहाँ सेवा पु-याउन अत्यन्त चुनौति थियो । त्यस्तो अवस्थामा जनताको ज्यान बचाउन सबै औषधि, उपकरण र डाक्टरहरु ठाउँ ठाउँमा हेलिकोप्टर मार्फत पु-याएर उपचार सेवा प्रदान गरें । करिव १० हजार मान्छेलाई झाडापखालाले च्यापेको थियो । जुनवेला २ सय भन्दा बढी नागरिकको ज्यानै गयो, अल्का अस्पतालसँगको सहकार्यमा औषधि उपचार गरेर अरुलाई बचाउन सकियो । एक हप्तासम्म हेलिकोप्टर त्यही राखेर गाउँ गउँमा स्वास्थ्य सेवा दिएँ ।

समाजसेवासँगै राजनीतिमा जोडिनुभयो । राजनीति मार्फत सेवा गर्ने उदेश्यकासाथ मैदानमा हुनुहुन्छ अहिलेको जाजरकोटको मुख्य समस्या के हो ?

जाजरकोटमा मात्रै होइन देशमै मैले के समस्या देखिराखेको छु भने, कोही मान्छेले म केही गर्छु, आफ्नो मातृभूमि र त्यहाँका नागरिकको सेवा गर्छु भनेर उर्जाका साथ आयो भने सेवा गर्ने वातावरण नै छैन् । जुन काम गर्छु भनेर लाग्दै गर्दा वातावरण नै भएन भने परिणाम आउन गाह्रो हुन्छ । अहिले मेरो जिल्लामा मात्रै होइन देशमै यही भैरहेको छ । विभिन्न राजनीतिक दलले आफ्नो विचार लिएर देश बनाउँछु भनेर हिडिरहेका छन् । तर हाम्रो समाज यसरी विभाजन भएको छ कसैले एउटा राम्रो काम गर्न लाग्यो भने यसलाई रोक्ने र खराव वातावरण बनाएर काम हुनै नदिने परिस्थिति छ । त्यसलाई रोक्नका लागि सिस्टम वनाउनुपर्छ । धेरैजसो युवा वेरोजगार छन् । हामीले कसरी स्वरोजगार बनाउन सक्छौ भनेर सबैले सकारात्मक रुपमा काम गर्ने वातावरण वनाउनु प¥यो । तर हामीले ती युवालाई के सिकाएका छौं भने मेरो पार्टीले जित्यो भने पावरमा आएपछि सिस्टम मिचेर तँलाई रोजगारी दिउँला, विभिन्न अवसरहरु पाउँछस्, सिस्टर भन्दा बाहिर गएरै भएपनि पाउनु पर्छ,भनेर सिकाइएको छ । हामीले हिजो राजा हटायौं, फेरी हामी नै राजा बन्न खोजिरहेका छौं । कार्यकर्ता पनि पार्टीको झोले भएर सिस्टमको विकास गर्नतिर कोही नलागेको अवस्था छ । जसको पार्टीले जित्छ उसैका कार्यकर्तालाई व्यक्तिगत फाइदा हुनेगरी लाग्यौं । यो नै समस्या हो । ठेकेदारले लापरवाही गरेर छाडेपछि १२ वर्ष सम्म अलपत्र परेको जाजरकोट डोल्पाको लाइफ लाइनका रुपमा रहेको राकमको पुल म २०७० सालमा सांसद भएपछि ठेकेदारलाई बोलाएर त्यहा देखिएका समस्याका विषयमा समन्वय गरेर बनाउन लगाएँ । त्यस्तै सडक धेरै ठाउँमा बनेका छन् । अझै त्यहाको स्वास्थ्य, शिक्षा र रोजगारका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर म लागेको छु । नागरिकलाई रोजगारीसँग जोड्न पहिलो कुरा शिक्षा हो । त्यसैले सबै नागरिकको पहुँचमा शिक्षा पु¥याउन बढी जोड दिनुपर्ने आवश्यक देखेको छु ।

सिस्टमको विकास गर्न युवा पुस्ताका नेताहरु नयाँ एजेण्डा सहित उर्जाका साथ दलहरुको नृतृत्व तहमा प्रवेश भएका छन्, के उनीहरुबाट जनअपेक्षा अनुसारको परिवर्तन सम्भव होला ?

अहिले व्यक्तिगत रुपमा केही युवाले जितिरहेका छन् । स्वतन्त्र उम्मेदवार पनि आइरहेका छन् । यसको मुख्य कुरा पार्टीमा सिस्टमको विकास नभएरै हो । पार्टीमा व्यक्ति हावी भएको र हामी व्यक्तिकै पछि कुद्ने अवस्था छ । यो परिवेशमा पार्टीभित्र दुःख गरेका युवाले बराबर अवसर पाउन नसकेको प्रतिकृया स्वरुप स्वतन्त्र उम्मेदवार देखिएका हुन् । तर ती स्वतन्त्र उम्मेदवाबाट पनि पार त लाग्दैन् । विकासको वातावरण नै नभएपछि भाषणमा मात्रै विकास गर्छु भन्ने तर विकास गर्नका लागि वातावरण नै बन्न सकेन भने त्यसको कुनै अर्थ छैन् । कामको जिम्मा लिएका व्यक्तिलाई कसैले पेलेर लगाउने अनि कसैले चै खुल्ला छाडीदिने भयो भने कसरी हुन्छ विकास । हामीले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री कै पालादेखि मेलम्चीको पानी २ वर्षमा काठमाडौ बासीलाई खुवाउँछौ भनेका थियौं । तर २८ वर्ष भैसक्यो खानेपानी आउँछ भन्दा भन्दै अहिलेसम्म आएको छैन् । अहिले देशका जुनसुकै राष्ट्रिय गौरवका योजना सम्पन्न हुन अनिवार्य मूल्यबृद्धि गराएकै छन् । दशौं वर्षसम्म अड्किएका योजनाहरु अलपत्र परेको अवस्था छ । नेपालमा पार्टीभित्र गुट उपगुटको चरम सीमा नाघेको अवस्था छ । हामी लोकतन्त्रको कुरा गछौं, तर व्यक्तिलाई प्राथमिकता दिदै आयौं । अनि सिस्टमको विकास गर्न तिर लागेनौं । यसले गर्दा जनताको नजरमा पार्टीहरु असफल हुन थालेका छन् । त्यसैको फलस्वरुप नयाँ विकल्पको अभ्यासका रुपमा स्वतन्त्र व्यक्तिहरु पनि आउन थालेका छन् । तर स्वतन्त्ररुपमा आएकालाई पनि जवसम्म सिस्टमको विकास हुदैँन तव उनीहरुले पनि केही गर्न सक्दैनन् । त्यस कारणले दलमा आएका युवा नेताले पार्टीलाई सिस्टममा चलाउने पद्धतिको विकास गर्न लाग्नुपर्दछ । अहिले नेपाली कांग्रेसमा केही सुधारको अपेक्षा गर्न सकिन्छ तर कांग्रेस कम्युनिष्ट सबै पार्टीको नेतृत्व तहमा आएका युवा पनि व्यक्ति पुजारी र चाकडीमै लागे भने पार्टीले जनताको भावना अनुसार काम गर्न सक्दैनन । दलको आन्तरिक जीवन र देशमा कुनै परिवर्तन हुँदैन । कार्यकर्ता झोले हुनुहुदैन, लोकतन्त्रमा व्यक्ति होइन संस्था बलियो हुनु पर्छ । सिस्टमबाट चल्नुपर्छ । आवश्यकता अनुसार समान अवसर पाउनुपर्छ, त्यसका लागि युवाहरुले हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्छ । हामी विकास भनेको भौतिक विकासलाई मात्रै मान्छौ, तर त्यो होइन । मानव श्रोत, चेतना र सबै क्षेत्रको विकास तिर लाग्नुपर्छ । मानव जीवन खुसी, सुखी भएर बाँच्न सक्नु पनि विकास हो । त्यस तर्फ सबैले ध्यान जानुपर्छ ।

कांग्रेसभित्र जिम्मेवारी हस्तान्तरण र नेता व्यवस्थापनमा अझै समस्या हो ?

म सबैलाई सम्मान गर्छु,र नेपाली कांग्रेसभित्र लोकतन्त्र ल्याउनकालागि आफ्नो जीवनभर संघर्ष गरेका नेताहरु हुनुहुन्छ । उहाँहरुको व्यवस्थापन हुनुपर्छ तर अव उहाँहरु अभिभावकत्वको भूमिकामा रहनु उचित हुन्छ । एउटै नेता कतिपटक त्यही जिम्मेवारीमा बस्ने ? उहाँहरुले के बुझ्नुप¥यो भने उमेरमा र त्यो जमानामा मेरो माग थियो । अव नयाँ पुस्ताका साथीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । नेताहरुको पनि पपुलर हुने समय एकपटक आउँछ त्यसै वेला जिम्मेवारी पाउनुपर्छ र जिम्मेवारी पाएको बेला केही परिवर्तनको आभास जनतालाई गराउनुपर्दछ । एउटै मान्छे सधैं लामो समय लोकप्रिय बन्दैन् । उसको पनि समय सकिन्छ । अव संधै राजनीतिक परिवर्तन भनेर लाग्ने अवस्था छैन । देशलाई व्यवस्थित गर्ने विकास र समृद्धिकालागि लाग्ने बेला भएकाले नेताहरुले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्छ भन्ने मेरो धारणा हो । सबै दलले मिलेर बनाएको संविधानलाई स्थायित्व दिने र कार्यान्वयन गराउनु पर्ने नेताहरुको अवको दायित्व हो । देशमा सिस्टमको विकास नहुँदा राजनीतिदेखि जागिर सम्म पहुँचका आधारमा माथि जाने प्रचलन कायमै छ । सक्षम व्यक्तिहरु पछि पर्ने अवस्था छ । अहिले कुनै पार्टीका नेताहरुसँग जनता खुसी छैनन् । यसको समीक्षा गर्ने बेला आएको छ । नेताहरु कृष्णप्रसाद भट्टराई,विपी कोइराला जस्तै सबैले मान्ने अभिभावक बन्नु प¥यो । पावर र पदको लागि मात्रै मान्ने हैन आम जनताले भित्री आत्मादेखि नै यो चै मेरो नेता हो भनेर मान्ने खालको भिजन, त्याग तपस्या उसको समाज र पार्टी सिस्टम केन्द्रीत, देश र जनता केन्द्रीत राजनीति हेरेर मान्ने हो । त्यो हाम्रा नेताहरुले देखाउन सक्नुभएको छ कि छैन् ? त्यो चै आत्मसमीक्षा गर्ने बेला भएको छ । युवा नेताले पनि यसको समीक्षा सहित चिरफार गरेर देशलाई सिस्टमको विकासतिर लानुपर्ने अहिलेको आवश्यकता हो ।

जाजरकोटबाट प्रतिनिधिसभाको आकांक्षी हुनुहुन्छ, त्यहाँका समस्या र सम्भावना के छन् ? पार्टीले टिकट पत्यायो भने टिकटसँगै के एजेण्डा लिएर जानुहुन्छ ?

समय नै बलवान रहे छ । विकास गर्छु भनेर मात्रै हुदैन, विकास गर्न वातावरण पनि मिल्नु पर्ने रहेछ । र त्यो तुरुन्तै हुने कुरा पनि होइन । तीन पुस्तादेखि काठमाडांै बसेर काठमाडौंमै जन्मीएर म जाजारकोटको सेवा गर्छु भनेर गएको पनि १९ वर्ष भैसक्यो । राजनीतिक रुपमा चिनिनलाई पनि समय लाग्ने रहेछ । २०७० मा चुनाव जिते, २०७४ मा पनि सबै पार्टीहरु एक्ला एक्लै लडेका भए म जित्थे । एमाले–माओवादी गठबन्धन भएपनि मैले थोरै मतले हारे । अवको आवश्यकता भनेको देश विकास र युवा बेरोजगार समस्याको समाधान हो । बेरोजगार हल गर्नकालागि शिक्षालाई प्राथमिकता दिनु पर्छ । विद्यालय सुधारका कार्यक्रमहरु लौजानु पर्छ । पहिलो पटक म सांसद हुँदा विद्यालयको भौतिक अवस्था सुधारमा लागे, गाउँ गाउँमा सडक पु¥याउन लागे तीनै विकासका पूर्वाधारलाई व्यवस्थित र सहज बनाउनेतिर मेरो ध्यान हुने छ । युवाहरुको क्षमता विकास, नागरिकलाई सहज र सरल स्वास्थ्य सेवा उपलब्ध गराने र गाउँघर विकास गर्ने कुरामा मेरो लगानी हुन्छ । विशेषगरी गाउँको भौतिक संरचना कसरी विकास गर्ने मानविय श्रोत कसरी उत्पादन र परिचालन गर्ने भन्ने योजना बनाएर चुनावमा जाने तयारीमा लाग्नु पर्छ भनेर सोचेको छु ।

यस पटक कांग्रेसले राजीव विक्रम शाहलाई पत्याउछ कि पत्याउँदैन होला ?

अहिलेसम्म मलाई पार्टीले पत्याएरै जिल्लाबाट पनि एकल सिफरिस भएर आएको छ । प्रदेशबाट पनि त्यही आएको छ । तर गठबन्धनले पत्याउने कि नपत्याउने भन्ने कुरा हो । गठबनधनले नै चुनाव जित्नुपर्छ भन्ने छ । त्यसका लागि सहज जित्न सक्ने उम्मेदवारले टिकट पाउनुपर्छ । भोट भनेको पार्टी कार्यकर्ताले मात्रै दिने होइन जनताले दिने हो । जनतामाझ को पपुलर छ, त्यसैले टिकट पाउनुपर्छ । संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धन बनेको हुँदा गठबन्धनले नै जित्नु पर्छ भन्ने हो । गठवन्धनले पार्टीको माथिल्लो तहको नेता भन्दैमा फिल्डमा पपुलर नदेखिएका नेतालाई टिकट दिँदा समस्या आउँछ । त्यसका लागि नेतासँग पपुलर हैन जनतासँग पपुलर भएका, जनताको माग अनुसारको नेतालाई टिकट दिनुपर्छ । यी सबैकुरामा जाजरकोटका जनताले अहिले मेरो माग गरेका छन् । तर गठबन्धनले गरेको निर्णय त मैले स्वीकानै पर्छ । र कुनै न कुनै ठाउँ चाही मैले पाउनुपर्छ ।

यदी टिकट पाउनुभयो भने जित्ने आधार के ? जनताले तपाँइलाई नै किन भोट हाल्ने ?

जनताको माग मेरो पक्षमा छ । मैले हारेको बेला पनि निरन्तर सेवा गरिरहेको छु । मैले जनताको प्रत्येक घरमा चुल्हो बाल्न त सकेको छैन्, तर परेको बेला सामुहिक रुपमा कुनै बेला पनि मदत गर्न पछि हटेको छैन् । १९ वर्षदेखि आवश्यक परेकोबेला मैले जिल्लावासी आम नागरिकलाई यो त्यो नभनी सहयोग गरेको छु । जिल्लाको भौतिक र मानवीय विकासका लागि काम गरेको छु । स्वास्थ्य शिक्षा र रोजगारीका सन्दर्भमा के कसरी काम गर्न सकिन्छ भनेर योजनाका साथ लागेको छु । अस्पतालको पूर्वाधार बनाइसकिएको छ । त्यसलाई आवश्यक जनशक्ति व्यवस्थापन गरेर सर्वसुलभ रुपमा जनतालाई स्वाथ्यसेवा दिने भनेर लागेको छु । हामी राजनीति गर्ने मान्छेहरुले देश र जनतालाई केन्द्रमा राखेर सोच्नु पर्छ । चुनाव जित हार मात्रै राजनीति वा जनसेवा हैन् । जनताको सेवामा निरन्तर लागेका मान्छेलाई स्वस्फूर्त रुपमा जनताले सहयोग गर्छन । पार्टीले पत्यायो भने मलाई जनताले पत्याउँछन । चुनाव जित्छु भन्ने मलाइ ढुक्क छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार