काठमाण्डौः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाइ गत वर्ष फाल्गुन २८ गते मन्त्रीपरिषदको बैठकले आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
प्रतिबन्धित भएको एक बर्षको अवधिमा मात्रै विप्लव नेतृत्वको पार्टीमा थुप्रै नेता तथा कार्यकर्ताहरू बिचलित भएका छन् । एक बर्षको अवधिमा पार्टीका शिर्ष नेता सहित एक दर्जन नेताहरूलाई प्रहरीले बिशेष सुरारकीको आधारमा पक्राउ गरेको छ भने अन्य प्रभावशाली नेताहरू समेत सो पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरिसकेका छन् ।
विप्लव नेतृत्वको नेकपामा प्रभावशाली ठानिएका एक दर्जन नेताहरू जेलमा परेपछी हाल सो पार्टीमा करिब दुइ दर्जन केन्द्रीय नेताहरू मात्र भूमिगत गतिविधिमा कृयाशिल रहेको प्रहरी उच्च स्रोतको दावी छ ।
स्रोतका अनुसार पार्टी केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ केन्द्रिय सदस्यहरु चन्द्रबहादुर चन्द ‘बीरजंग’, उमा भुजेल ‘शिलु, माइला लामा, बन्धु चन्द, नबिन बिक लगायतका नेताहरू प्रहरी हिरासतमा बन्दी जीवन बिताइरहेका छन् । सरकारको नियन्त्रणमा रहेका अधिकांश सबै केन्द्रीय नेता सर्वहारावर्गको राज्यसत्ता प्राप्त नभएसम्म लडाँई जारी राख्नुपर्ने भन्ने महासचिव बिप्लवको पक्षका रहेका छन् ।
नेतृत्व हुत्याउन बिशेषगरी पार्टीको मुख्य खम्बाको रूपमा रहेको जनबर्गिय संगठनमा एक पछि अर्को गरी बिबाद सार्वजनिक गरी पकड बनाउदै आएका दोस्रो बरियतामा रहेका पार्टी प्रबक्ता एवं नेता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ भन्दा पार्टी महासचिब विलप्व क्रमश शक्तिशाली हुँदै गएका छन् । विवादको मुख्य चुरो रहेको क्रान्तिकारी पत्रकार संगठनमा देखिएको विवादलाइ प्रमुख अस्त्र बनाएर प्रकाण्डले जनबर्गिय संगठनमा हस्तक्षेपको शुरूवात गरेको विप्लव निकट नेताको दावी रहेको छ ।
पार्टीमा महासचिब बिप्लव ‘वर्तमान दलाल राज्यसत्तासंग वार्ता गरेर गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित र सर्वहारावर्गको राज्यसत्ता प्राप्त हुन् नसक्ने भएकाले वार्ताको औचित्य नभएको’ धारणामा अडिग छन् भने पार्टी प्रबक्ता प्रकाण्ड ‘वर्तमान राज्यसत्तासँग भए पनि वार्ता गरी समस्याको समाधान हुन्छ भने सरकारसँग वार्ता गरिनुपर्छ। ‘ भन्ने वर्तमान सरकारप्रतिको नरम सोंच राख्छन् ।
भूमिगत राजनीतिमा सक्रिय नेताहरूमध्ये बहुमत केन्द्रीय सदस्य महासचिव विप्लव निकट मानिन्छन् । पछिल्लो तीन महिना यता नेकपाका प्रवक्तासमेत रहेका विश्वकर्मा पार्टीभित्र अल्पमतमा छन् । उनी आफू केन्द्रीय कमिटीमा बहुमत जुटाएर मात्र वार्तामा बस्नुपर्ने अडानमा रहेका छन् ।
प्रवक्ता प्रकाण्ड पार्टीको आर्थिक विभाग प्रमुखसमेत हुन् । उनी पक्षधर नेताको बाहुल्य रहेका जनवर्गीय संगठनहरू पछिल्ला दिन विवादमा परेपछि पार्टीभित्र विप्लव थप शक्तिशाली बन्दै गएको विप्लवका नेताहरू बताउँछन् ।
राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको पहल थालेपनि पार्टीभित्रको आन्तरिक किचलोका कारण विप्लवले वार्ता समिति बनाउन सकेका छैनन् । सरकारले विप्लवसँग वार्ताका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवारी दिए पनि पार्टीभित्रको आन्तरिक कलहकै कारण विप्लवले वार्ता समिति बनाउन नसकेका हुन् ।
वार्ता गर्ने जिम्मा पाएका मन्त्री ढकालले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेतालाई भेटेर वार्तामा बस्न आग्रह गरे । तर, पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मावीचको टक्करका कारण वार्ता समिति समेत बन्न नसकेको पार्टीकै नेताहरू स्वीकार गर्छन् ।
‘मन्त्री ढकालले पछिल्लो समय तीन पटक उच्च नेतृत्वलाइ भेटेर वार्तामा बस्न अनुरोध गरेपनि विप्लव समुहको शिर्ष तहमा देखिएको आन्तरिक खटपटका कारण सरकारसँग वार्तामा बस्न आनाकानी गरिरहेको सत्तारूढ नेकपाको आरोप रहेको छ ।
सरकारसँग वार्ता गरेर सहज राजनीतिक अवतरणको दाउमा रहेका विश्वकर्मालाई रोक्ने विप्लव नीतिका कारण वार्ताको वातावरण बन्न नसकेको सरकारको पनि बुझाइ छ । सरकारका तर्फबाट वार्ताको प्रयास भएपनि सो पार्टीका दुई नेताबीचको टकराबका कारण ‘रेस्पोन्स’ नआएको हुनसक्ने सरकारको बुझाइ छ ।
स्वाथ्यमन्त्री ढकालले प्रबक्ता प्रकाण्ड र अर्का एक जना केन्द्रीय सदस्यलाई तीन पटक भेटेर वार्ताको प्रस्ताव गरेका थिए । दुई नेताबीच तीन पटकसम्म भेट भएको विप्लव नेतृत्वको नेकपाका एक सदस्यले बताए । ती सदस्यले नेताहरूबीच गत चैतदेखि जेठसम्ममा काठमाडौंमा तीन पटक भेट भएको बताए । त्यसपछि पनि पटक पटक फोनसंवाद र भेटघाट भए पनि विप्लव नेतृत्वको नेकपाले वार्ताको विषयमा निर्णय दिन नसकेको सरकारी अधिकारीको दाबी छ ।
मन्त्री ढकाल र विप्लव नेतृत्वको नेकपाका नेतासँग बूढानीलकण्ठस्थित एक रिसोर्टमा भएको भेटपछि गत ६ असारमै वार्ता मिति तय भएको थियो । गत असार ५ मा नेकपा विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै वार्ता भाँडिएको थियो ।
गत वर्ष पनि सत्तारुढ नेकपाका नेता सोमनाथ पाण्डेको संयोजकत्वमा राजनीतिक दलहरूसँग वार्ता गर्न समिति बनेको थियो । उक्त समिति अहिले निष्क्रिय छ । पाण्डेले एक दुई पटक नेकपाका केन्द्रीय सदस्यलाई भेटे पनि औपचारिक वार्तामा बस्न भने सकेनन् ।
सरकारी प्रतिबन्धका कारण एक बर्ष यता विप्लव नेतृत्वको नेकपाले भूमिगत रूपमा पार्टीका गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिबन्ध लगाएको एक महिनामा उसका सबै गतिविधि निस्तेज गर्ने सरकारले घोषणा गरेको थियो ।
ने.क.पा.का अहिलेसम्म १ हजारभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् भने नेता कार्यकर्ता धमाधम पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरिरहेका छन् । विप्लव ने.क.पा.का तत्कालीन पोलिटब्यूरो सदस्यहरु मोहन कार्की जिवन्त, पदम राई लगायतले समेत सो पार्टी छाडेर सरकारी नेकपामा प्रवेश गरिसकेका छन् ।
पार्टीको बागडोर सम्हालेका महाचिव विप्लव मात्रै नभएर प्रवक्ता प्रकाण्ड समेत अहिले भूमिगत रूपमा रहेका छन् । विप्लव र प्रकाण्डको सेरोफेरोमा घुमेको प्रतिवन्धित नेकपा पार्टीमा पार्टीको तत्कालीन लाइन, आर्थिक अनियमितता, जनवर्गीय संगठनमा आफ्ना मान्छेहरु राख्ने लगायतका मुख्य विवादबाट अझै मुक्त हुन सकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया