काठमाडौं । चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।
इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् ।
इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् ।
कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ ।
हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।
हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।
गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ।
चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया