असार २२, २०८२ आइतबार July 6, 2025

एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना संक्रमण, एकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीमा एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल भर्ना गरिएकोमा बिहीबार बिहान उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसको पुष्टि सरकारी अधिकारीले गरेका छैनन् ।

धारावी बस्तीमा १० लाख भन्दा बढी मानिसको बसोबास छ । त्यहाँ एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएसँगै धेरैमा संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

सरकारी अधिकारीले ती व्यक्ति बस्दै आएको घरलाई सिल गरेको छ र परिवारका सात सदस्यलाई क्वारेन्टाइनमा राखेको छ । मुम्बईको मध्य क्षेत्रमा सो बस्ती छ ।

कोरोना भाइरसको सक्रमणबाट जोगिनका लागि सामाजिक दूरी अनिवार्य भए पनि धारावी जस्तै अति खाँदिएको बस्तीमा भने त्यो सम्भव देखिएको छैन । यसले गर्दा संक्रमण धेरैमा फैलिन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

मुम्बई भारतका लागि कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ का रुपमा विकास भएको छ । मंगलबार एकै दिन मुम्बईमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । बुधबार थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म महाराष्ट्रमा ३३५ जनामा संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया