असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय नेतृत्वमा गगनको सकस – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको गत महाधिवेशनमा सर्वाधिक मत पाएर महामन्त्रीमा विजयी भएका गगन थापा के त्यसै गरी संसदीय दलको नेतृत्वमा पुग्न सक्लान् ? यो कति सम्भव छ ? धेरैका मनमा यो प्रश्न खेलिरहेको हुनुपर्छ । निश्चय पनि महामन्त्रीभन्दा यो प्रतिस्पर्धा बढी पेचिलो छ । यो नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्ने ढोका खुल्नु पनि हो । संसद्मा अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएकाले त्यो सम्भावना पनि उत्तिकै छ ।

प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्, कांग्रेसको विधान अनुसार यिनै सांसदहरूले कांग्रेस संसदीय दलको नेता चुन्छन् । चुनिनका लागि पचास प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ, अर्थात् कम्तीमा ४५ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेसमा देउवा पक्ष र देउवाइतर भनेर अहिले जुन समीकरण छ, त्यसलाई मात्र आधार मान्ने हो भने त चुनाव नै गर्नु पर्दैन, परिणाममा शेरबहादुर देउवाकै निरन्तरता निश्चित छ । गगनलाई ४० प्रतिशत पुर्‍याउन पनि हम्मे पर्छ ।

पार्टी नेतृत्वको चुनाव भनेको केवल पक्ष–विपक्षमा संख्याको जोडघटाउजस्तो अंकगणितीय खेल र बहुमतको प्राविधिकतामा मात्र सीमित होइन । धेरै कुरा यसमा जोडिन्छन् । गुटगत समर्थन र विरोधभन्दा प्रतिस्पर्धामा उत्रिएका व्यक्तिको दृष्टिकोण, क्षमता र चरित्र निर्णायक हुन्छन् । पार्टीमा यथास्थितिको निरन्तरता वा परिवर्तनको बाटो निर्धारण गर्ने अवसर पनि हो यो । नयाँ नेतृत्वले पार्टीमा जीवन र गति दिन्छ, मतदाता र समर्थकमा उत्साह भर्छ । योग्य र सबल नेतृत्व पाउन सके छिमेकी र शक्तिराष्ट्रहरूको चलखेललाई पनि न्यूनीकरण गर्न सकिन्छ । कांग्रेस लगायत नेपालका राजनीतिक दलका नेतृत्व चयनमा यिनको कति भूमिका होला, प्रश्न गर्न सकिएला, तर स्वस्थ पार्टी प्रणालीको विकासका लागि यी अनिवार्य तत्त्व हुन् । अहिले समयको जुन मोडमा कांग्रेस संसदीय दलको नेतृत्व चयन हुँदै छ, त्यसमा पार्टी मात्र होइन, आउने पाँच वर्ष सरकार, संसद् र मुलुककै भविष्य गम्भीर रूपमा जोडिएको छ । त्यसैले पनि कांग्रेसको संसदीय नेतृत्वप्रति मुलुकको ध्यान केन्द्रित भएको हो । एमाले र माओवादीमा अहिले नेतृत्व परिवर्तनको अपेक्षा गर्न पनि सकिन्न, ओली र प्रचण्डको अनुमोदनबाहेक ।

कांग्रेसका सांसदहरूले स्वतन्त्र भएर गुणदोषको मूल्याङ्कनसहित विवेक प्रयोग गर्ने हो भने परिणाम उल्टिनुपर्ने हो र गगन विजयी हुनेमा शंका गर्नुपर्ने थिएन । देउवालाई फेरि पनि नेता चुन्न चित्तबुझ्ने कारण के छ र ? पटकपटक अवसर पाउँदा पनि उनको सफलताको कथा भाग्यवादबाट माथि उठ्न सकेको छैन । पहिलो पटक २०५१ सालमा संसदीय दलको नेता चुनिँदादेखि नै उनी भाग्यमानी बन्दै आएका छन् । उनलाई कृष्णप्रसाद भट्टराईको शुभेच्छा त छँदै थियो, गिरिजाप्रसाद कोइरालाले पनि आपत्ति गरेनन्, उनी निर्विरोध चुनिए । सम्भावित प्रतिस्पर्धीहरूमध्ये रामचन्द्र पौडेल सभामुख पाइने भो भनेर रमाए, शैलजा आचार्य पनि गिरिजाको प्राथमिकतामा परिनन् । संसदीय दलको नेता चुनिएको दस महिना नबित्दै देउवाले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई अविश्वासको प्रस्तावबाट विस्थापित गर्दै कांग्रेस–राप्रपा–नेसपा गठबन्धनमा प्रधानमन्त्री बन्ने अवसर पाए । त्यतिखेर उनी नयाँ पुस्ताका युवा प्रधानमन्त्री भएकामा सबै खुसी पनि थिए । प्रधानमन्त्री भएपछि सत्ताको आडमा पार्टीभित्र उनको गुट पनि बन्दै गयो ।

प्रधानमन्त्री हुँदा देउवाको भाग्यवादको जरा अरू बढ्नुबाहेक मुलुक, लोकतन्त्र र नेपाली कांग्रेसले उल्लेख्य केही पाएनन् । बरु लोकतन्त्रप्रति निष्ठावान् नागरिकले शिर निहुर्‍याउनुपर्ने हुन थाल्यो । ससद्मा बदनामित पजेरो संस्कृति र निर्वाचन क्षेत्र विकासका नाउँमा सांसदको खल्ती भर्ने गलत प्रथा र जम्बो मन्त्रिमण्डलको परम्परा उनैले भित्र्याए । दोस्रो पटक प्रधानमन्त्री हुँदा संवैधानिक प्रणालीलाई नै दरबारमा बुझाए, आफैंले प्रस्ताव गरेको प्रतिनिधिसभाको चुनाव नै गर्न सकेनन् । उल्टै राजा ज्ञानेन्द्रले समेत नालायक भनेर बरखास्त गरे । तेस्रो पटक उनै राजा ज्ञानेन्द्रले निगाहपूर्वक फेरि प्रधानमन्त्रीको कुर्सीमा बसाले, देउवाले ‘गोरखाली राजाबाट न्याय पाएँ’ भन्दै जयजयकार गरे । तर १० महिनामै फेरि बरखास्तगीमा परे । उनको चौथो कार्यकालमा कांग्रेसले संसदीय चुनावमा सर्मनाक हार बेहोर्नुपर्‍यो, तर नेतृत्वमा रहिरहे । भाग्यवादी राजनीतिका पात्र देउवा कम्युनिस्ट सत्ता विग्रहका कारण पाँचौं पटक प्रधानमन्त्री हुन पुगे । तर उनको यो कार्यकाल उनका पूर्ववर्ती ओलीको भन्दा कुनै किसिमबाट पनि राम्रो मान्न सकिने ठाउँ छैन । कम्युनिस्ट विभाजनको यत्रो ठूलो राजनीतिक अवसरमा पनि चुनावमा कांग्रेसले अपेक्षित मत नपाउनु उनकै अयोग्यता र अक्षमता हो ।

निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ?

अहिले कांग्रेस संसद्मा सबैभन्दा ठूलो पार्टी भएको छ, गत चुनावका तुलनामा यो उपलब्धि भन्न सकिएला । तर यसको अन्तर्यमा पसेर विवेचना गर्ने हो भने देउवाको सफलता भनेर भजन गाउनुपर्ने ठाउँ छैन । गठबन्धनका कारण प्रत्यक्षतर्फ कांग्रेसले तुलनात्मक लाभ पाएको छ, सिट पनि बढेको छ । तर समानुपातिकतर्फ पहिलेभन्दा ८ सिट कम पाएको तथ्य पनि छ । पहिलेभन्दा चार लाख अन्ठाउन्न हजार लोकप्रिय मत नै घट्यो, जबकि यो चुनावमा पहिलेभन्दा दस लाख मत बढी खसेको छ । पार्टीको जनाधार जान्ने मुख्य सूत्र चुनावमा उसले प्राप्त गर्ने लोकप्रिय मत हो, जस्तो नदीमा पानीको बहाव कम भयो भने विद्युत् उत्पादन घट्छ । यो प्रकृति र विज्ञान दुवैले पुष्टि गर्ने सूत्र हो । लोकप्रिय मतमा स्खलन भनेको अर्को चुनावसम्म पार्टीको काम र छविमा सुधार नहुने हो भने, हार निश्चितजस्तै हो । कसले सुधार्छ त कांग्रेसको छवि ? कसले आशा जगाउन सक्छ सरकारको काम र जनमुखी परिणाम दिन ?

नेपालकै इतिहासमा ठूलो क्रान्तिकारी परिवर्तनको पारिवारिक विरासत बोकेका पनि छन् कांग्रेस सांसद्मा- शशांक कोइराला र प्रकाशमान सिंह । शशांक बीपी कोइरालाका पुत्र हुन् भने प्रकाशमान गणेशमान सिंहका । दुवै पार्टीभित्रको लोकप्रिय मतबाट महामन्त्री र उपसभापतिमा निर्वाचित पनि भएका थिए । चुनाव अभियानका बेला र चुनावपछि पनि उनीहरूले समेत प्रधानमन्त्री बन्ने निरीह धोको व्यक्त गरे । तर देउवाकै निगाह एवं मेजमानीमा रमाउनु र आश्रय लिनुबाहेक उनीहरूको राजनीतिक व्यक्तित्व नै बन्न सकेन । राजनीतिक सोच र दृष्टि भनेको आमाले काखमा राखेर शिशुलाई दूध पिलाएजस्तो होइन; त्यो ऐनमौकामा व्यक्तिको आँट, काम र गतिमा पनि जनताले पत्याउने गरी देखिनुपर्छ । अहिले कांग्रेस सांसदमध्ये केही युवा देखिएका छन्— गगन, विश्वप्रकाश, प्रदीप पौडेल जसमाथि भावी नेतृत्वको आशा र भरोसा गर्ने ठाउँ देखिएको छ । अरू पनि नयाँ अनुहार र युवा छन् जसले आफूलाई निरन्तरको परीक्षाबाट आशालाग्दो नेतृत्वमा प्रक्षेप गर्न सक्छन् । तर यस पटक कांग्रेसका शुभेच्छुक, समर्थकको लोकप्रिय मतमा गगन नै देउवाको विकल्पमा अग्रपंक्तिमा छन् ।

जहाँसम्म गगनको सम्भावनाको कुरा छ, उनलाई पनि संसदीय दलको नेतृत्वमा चुनिन त्यति सहज भने छैन । आदर्श र सिद्धान्तका कुरा आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्, तर नेपालको राजनीतिको धरातल यति धमिलो र प्रदूषित छ कि स्वस्थ प्रतिस्पर्धाको ठाउँ पनि साँघुरो छ; छैन भने पनि हुन्छ । त्यसमाथि छिमेकीको गिद्धेदृष्टि छ । यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र उसको चरम कट्टरपन्थी हिन्दु युवा दस्ता, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) उम्मेरवार बनाउनेमा अर्थात् कसलाई टिकट दिनुपर्छ, कसलाई दिनु हुँदैन भन्नेसम्ममा लागे भन्ने सुनिएको छ । छिमेकी मात्र होइन, शक्तिराष्ट्र र अन्तर्राष्ट्रिय समुदायको पनि नेपालको राजनीतिमा के भइरहेछ, यो कता जाँदै छ भनेर चासो हुन्छ । उनीहरूले आफ्नो राष्ट्रिय हित र प्राथमिकतालाई सुरक्षित गर्न चाहन्छन् । राजनीतिमा यो स्वाभाविक कुरा हो । त्यसलाई ठीक ठाउँ र सन्तुलनमा राख्ने, त्यसको अवाञ्छित प्रभावबाट जोगिने र जोगाउने काम नेतृत्वको हो । अघिल्लो संसदीय कालमा नेपालको परराष्ट्र सम्बन्ध, खास गरी छिमेकी भारत र चीनसित अत्यन्तै असन्तुलित र असंयमितसमेत रह्यो । त्यसको प्रभावबाट नेपाल अहिले पनि मुक्त छैन ।

यतिखेर कांग्रेसमा बीपी कोइरालाजत्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै नीतिमा जोखिम बोक्न तयार तर सबल र सक्षम नेतृत्वको खाँचो छ । गगनमा मैले त्यो सम्भावनाको ठाउँ देखेको छु । जुन किसिमबाट उनी पार्टीमा, संसद्मा, सरकारमा र सार्वजनिक प्रस्तुतिमा देखिन्छन्, तिनमा त्यो प्रतिभा र क्षमता देख्न सकिन्छ । गगनप्रति मेरो कुनै व्यक्तिगत अनुराग भएर मैले यो भनेको पनि होइन । पुरानो चिनजान र सम्पर्कको कुरा गर्ने हो भने, देउवा र रामचन्द्र पौडेलजति कांग्रेस नेतामध्ये अरू कसैसँग छैन होला । निजी लाभ त मैले देउवासँगै जति पनि पाउँथें होला । त्यसमाथि म एक दशकभन्दा लामो समयदेखि कुनै पनि राजनीतिक दल र नेतासँग राजनीतिक सम्पर्कमा छैन, विरलै जाने एकाध सार्वजनिक कार्यक्रममा हुने देखादेखबाहेक ।

संसदीय दलको नेतृत्वमा गगनले गर्नुपर्ने पार्टी सभापति एवं बहालवाला प्रधानमन्त्रीसमेत रहेका देउवाको प्रत्यक्ष सामना त देखिने कुरा हो । तर देखिने र नदेखिने गरी उनले आफ्नै खेमा र समवर्तीहरूसँग सामना गर्नुपर्ने चुनौती र सकस पनि उत्तिकै छन् । देउवाविरुद्ध जति छन्, ती सबै मत आफ्नो पक्षमा पार्न उनले निकै ठूलो कसरत गर्नुपर्नेछ । त्यसैले कांग्रेसमा नेतृत्वको यो प्रतिस्पर्धा बहुकोणीय प्रकृतिको हुनेछ । संक्षेपमा भन्नुपर्दा, उनका कारण देउवालाई सत्ताबाट हट्नुपर्ला भन्ने पीडा छ, कोइरालाहरूलाई पारिवारिक विरासत गुम्ने भय छ, उनका समकालीनहरूलाई कनिष्ठले उछिन्ने भयो भन्ने चिन्ता छ । कांग्रेसमा मात्र होइन, यसको प्रभाव आफूमाथि पनि पर्ला भन्ने अरू दलका नेताहरूलाई पनि पिरलो छ । कांग्रेसमा अहिले यो खेल गगनविरुद्ध भित्रभित्रै भुसको आगोजस्तै फैलाउने प्रयत्न भैरहेको आभास पाइन्छ ।

यो स्वाभाविक हो, सनातनी पार्टीमा नयाँ नेतृत्व उदयको सम्भावना देखिएका बेला । देउवाले चुनाव जिते पनि उनी अस्ताउन लागेका घाम हुन् र यो उनको अन्तिम प्रयास हो, ज्योतिषीको भविष्यवाणी पनि अन्तिम नै होला । आशाको पालो बाँधेर बसेकालाई उनी अब चुनौती होइनन् । तर गगन नेतृत्वमा आए भने उनले अर्को दस वर्ष पार्टी हाँक्ने सम्भावना रहन्छ । उनी युवा मात्र छैनन्, उत्साही र ऊर्जाशील पनि छन् । खुला राजनीतिमा प्रभावशाली औजार मानिने लोकप्रियता पनि आर्जन गरेका छन् । उनकै शुभेच्छुकमा पनि उनी आएपछि आफूले मौकै नपाइने हो कि भन्ने चिन्ताको मनोविज्ञान बुझ्न कठिन हुँदैन । त्यसैले गगनविरुद्ध अहिले भित्री टिप्पणी सुनिन्छ- उनले दस भोट पनि ल्याउँदैनन्, देउवा अरू बलियो हुन्छन् । उनी विभिन्न तहका पार्टी कार्यकर्ताको पहुँचमै छैनन्, फोन नै उठाउँदैनन् । उनी पार्टीको कार्यक्रममा भन्दा गैरसरकारी संस्थाले पाँचतारे होटलमा आयोजना गर्ने कार्यक्रममा बढी पुग्छन् । उनी क्षेत्री गठबन्धनमा लागेका छन् । समानुपातिकतर्फ पार्टीको भोट घट्नुमा महामन्त्रीको हैसियतले के उनी जिम्मेवार छैनन् ?

देउवाको टक्कर शेखरले मात्रै दिन सक्छन् भन्ने एउटा विकृत मत निर्माण गर्ने प्रयत्न भइरहेको देखिन्छ । म भन्दिनँ, गगनविरुद्ध सुनिने गुनासाहरू सत्य छैनन्, गलत छन् । त्यसमाथि पार्टीबाहिरको व्यक्तिले कसैलाई क्लिन चिट दिने वा आरोप लगाउने होइन, सापेक्षिक अभिमतसम्म राख्ने हो । गगनका हजार कमजोरी होलान्, तर कांग्रेसमा देउवालाई टक्कर दिने उनको हैसियतको अर्को नेतृत्व कोही देखिएको छैन । बाटामा मुर्दा कुर्नेको ताँती भने ठूलै होला । नेतृत्वमा चुनिए गगनले केकति गर्न सक्छन्, त्यो परीक्षामै छ, तर देउवाको निरन्तरतामा राजनीति अरू खराब हुने निःसन्देह निश्चित नै छ । उदाउँदो नेतृत्वमा शंकाको घेरा बढाएर विद्यमान गलत नेतृत्वको निरन्तरता पुष्टि हुन सक्तैन । अहिले कांग्रेस संसदीय दलमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनु आवश्यक छ । राम्रो त, देउवाले स्वैच्छिक विश्राम लिएर बरु आफ्नै पक्षबाट आफूले चाहेको अर्को कुनै सांसदलाई संसदीय दलको नेतृत्वका लागि उम्मेदवार बनाए पनि हुने हो । त्यो अन्यथा पनि मानिँदैन । पार्टी राजनीतिमा यस्तो प्रचलन पनि छ । निजी प्रतिष्ठा, अहंकार र आफू नै अपरिहार्य हुँ भन्ने मानसिकताबाट आफैं मुक्त हुन सके देउवाको राजनीतिक विश्राम उदाहरणीय हुनेछ । के देउवाबाट त्यो अपेक्षा गर्न सकिन्छ ? २०५१ सालमा उनी जसरी निर्विरोध संसदीय दलको नेता चुनिएका थिए, त्यही परम्परा उनले अहिले पछ्याउनुपर्ने होइन ? कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार