काठमाडौँ । काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा कोरोना भाइरसको नमूना परीक्षण शुरु भएको छ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा छन्। देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन।
प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ। राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्।
यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ । वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो । कोरोना भाइरससँग सम्बन्धित सेवाहरु, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताएका छन। सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिएको छ। प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया