काठमाडौंः बङ्गलादेशले नेपालको बिजुली सहज रुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो ।
बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गर्नुभएको हो । यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गर्नुभएको थियो ।
बङ्गलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया