काठमाण्डौंः म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ ।
म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
करिब दुई वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले म्यान्मा स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा बुधबार सात हजार १२ जना कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।
असहमति माथिको निर्मम दमनका क्रममा आममाफीले जेलमा रहेकाहरूलाई समेटेको छ वा छैन भन्ने बारे केही उल्लेख गरिएको छैन तर संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले भने राजनीतिक बन्दीहरू रिहा भएकाहरूमध्ये केही भएको बताएको छ ।
प्रवक्ता जेरेमी लरेन्सले विश्वसनीय स्रोतलाई उद्धृत गर्दै पत्रकारसँग भन्नुभयो, “करिब ३०० जना राजनीतिक बन्दी रिहा भएका छन् ।” उहाँका अनुसार हालसम्म तीमध्ये १९५ जनाको सनाखत भइसकेको छ ।
स्थानीय निगरानी समूह एएपीपीले पनि ३०० जना राजनीतिक बन्दीलाई रिहा गरिएको जनाएको छ । तीमध्ये २२३ जनाको पहिचान भइसकेको छ भने अन्य मुद्दाको प्रमाणिकरण गर्ने काम भइरहेको छ ।
“म्यान्मामा राजनीतिक बन्दीहरूको रिहाईले अन्यायपूर्ण तरिकाले हिरासतमा लिएकाहरूलाई मात्र होइन, उनीहरूका परिवारलाई पनि राहत मिलेको छ,” लरेन्सले भन्नुभयो ।
आममाफीको स्वागत गर्दै लरेन्सले भन्नुभयो,“यी राजनीतिक बन्दीहरू रिहा भएकै दिन अन्य २२ जनालाई हिरासतमा लिइएको थियो ।”
सैन्य शासनको विरोध गरेको भन्दै हिरासतमा लिइएका धेरै मानिसहरूलाई यातना र दुव्र्यवहार गरिएको उहाँले बताउनुभयो । “यस्ता गिरफ्तारीहरू सैनिक सरकारका आलोचकहरूलाई चुप लगाउने उद्देश्यले मात्र गरिएको होइन, डर पैदा गर्ने योजना पनि गरिएको छ,” उहाँले बताउनुभयो ।
सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि करिब १७ हजार व्यक्ति पक्राउ परिसकेका छन् भने १३ हजारभन्दा बढी हिरासतमा रहेका छन्,” लरेन्सले भन्नुभयो । यससम्बन्धमा संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले म्यान्माको अवस्थाबारे प्रतिवेदन तयार गरिरहनुभएको छ ।
उहाँले भन्नुभयो, “म्यान्माको सङ्कटबाट बाहिर निस्कने बाटो मानिसहरूलाई थुनेर होइन, उनीहरूलाई स्वतन्त्र, पूर्ण र प्रभावकारी रूपमा राजनीतिक जीवनमा भाग लिन दिएर हुनसक्छ ।” एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया