काठमाडौंः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनबारे मिडियामा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले खेद प्रकट गरेको छ।
साथै पर्याप्त प्रमाणहरु संकलन गरेर मात्रै समाचार प्रकाशन र प्रशारण गर्न पनि मन्त्रालयले सचेत गराएको छ। मन्त्रालयले डा. पुनलाई कुनै किसिमको स्पष्टीकरण नसोधेको र काममा बाधा नपर्ने गरी मन्त्रालयमा उपस्थित भएर सहयोग पुर्याउन पत्राचार गरेकोमा सत्य तथ्य नबुझी कपोलकल्पित र भ्रामक समाचार सम्प्रेपषण भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा बताएको छ।
‘भ्रामक समाचार लेखेर माननीय मन्त्रीको चरित्र हत्या गर्ने, जनतामा नैराश्यता छर्ने काम भएको छ। कुरै नबुझेर तुच्छ गालीका शब्दहरु प्रयोग गर्दै समाचार प्रकाशन गर्ने काम भएको छ, यसको जति निन्दा गरेपनि कम हुन्छ’, स्वास्थ्य मन्त्रालयले भनेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पुनलाई लेखिएको पत्रको व्यहोरो समेत पढेर सुनाइएको थियो।
यस्तै डा. शेरबहादुर पुनले पनि आफूलाई जोडेर सार्वजनिक भएका समाचारहरुबारे ध्यानाकर्षण भएको जनाउँदै अनर्गल प्रचार नगर्न आग्रह गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै डा. पुनले स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्र बुझेको र त्यसबारे मन्त्रालयमा उपस्थित भएर सम्बन्धित पदाधिकारीहरुसँग सम्पर्क गरिसकेको र यसलाई आफूले वृत्ति विकासको रुपमा लिएको उल्लेख गरेका छन्।
‘यसबारे मा.मन्त्री ज्यू, मन्त्रालयलाई जोडी अनर्गल प्रचार नगरीदिनहुन र महामारीका रुपमा फैलिएको कोभिड १९ को मारबाट मुलुकलाई बचाउन उकतावद्ध भइदिन हुन सम्वद्ध सबैमा अनुरोध गर्दछु’, डा. पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया