वैशाख १२, २०८१ बुधबार April 24, 2024

खोलौं दक्षिण र उत्तरका ढोका – रमेश लेखक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आर्थिक, औद्योगिक र व्यापारका गतिविधिमा सुदूरपश्चिम पछि पर्नुको एउटा कारण हो– यहाँ भौतिक पूर्वाधारका ठुल्ठूला परियोजना प्रारम्भ गरेनौं । अरू ठाउँमा ठूला परियोजना सुरु भएर अगाडि बढे, हामीकहाँ योजना नै ढिलो भए । सुदूरपश्चिममा केन्द्रीयस्तरका ठूला परियोजना अन्य ठाउँको तुलनामा ढिलो मात्रै जोडिनुको कारण हामी राजधानीसँग भौतिक रूपमा ढिलो जोडिनु पनि हो । कर्णालीको पुल बनेपछि मात्रै सुदूरपश्चिम बाँकी नेपालसँग जोडिएको थियो ।

अर्को कुरा, पूर्वाधार भनेका विद्युत् परियोजना पनि हुन् । सुदूरपश्चिममा तिनको ठूलो सम्भावना छ । तर लगानीकर्ताको आकर्षण बिस्तारै भइरहेको देखिन्छ । पछिल्लो समय हेर्दा चमेलिया नदीमा विद्युत् आयोजना बनिरहेका छन् । कालंगामा विद्युत् योजना सुरु भएका छन् । यता लगानीका सम्भावना छन् भन्ने ढिलो गरी मात्रै दृष्टिमा आयो । यस क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ भन्ने कुरा बल्ल सतहमा आउँदै छ ।

हामीले भारतसँग सुदूरपश्चिमका ढोका खोल्न सकेनौं । विकास निर्माण र आर्थिक गतिविधिमा सुदूरपश्चिम पछाडि पर्नुको सबैभन्दा ठूलोमध्येको कारण त्यो पनि हो । पूर्वदेखि हेर्दै आउनुभयो भने कैलाली कञ्चनपुरभन्दा झापा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्जमा आर्थिक गतिविधि ज्यादा छ । कारण– भारतसँगको कनेक्टिभिटी सजिलो ढंगले विकास भएको छ । हामीकहाँ भारतसँग कहीँ पनि ढोका खुलेका छैनन् । उदाहरणका लागि कैलालीको धनगढी हेर्नुहोस् । यहाँ भारतसँगकानाका आवतजावतका निम्ति कनेक्टिभिटी पूर्वाधार विकसित हुन सकेको छैन ।

पहाडतिर उक्लिँदा हेर्नुहोस्, बैतडी र भारतसँगका नाकामा मानिस मात्रै हिँड्न मिल्ने पुल छन् । दार्चुलामा अहिलेसम्म पनि भारतसँगको नाकामा झोलुंगे पुल मात्रै छ । कञ्चनपुरमा पनि भारतसँगको सडक सम्बन्ध व्यापारिक र आर्थिक होइन । त्यो बनबासाको ब्यारेज हो, पुल होइन । नदीलाई थुनेर नहर लैजाने प्रयोजनका लागि लगेको हो । नदी थुनेको ब्यारेजमाथि हिँडिरहेका हौं । भारतीयले त्यसलाई पुल भन्दैनन्, औपचारिक रूपमा ब्यारेज भन्छन् । त्यो ब्यारेज नै हो । ब्यारेजमाथि मर्मतसम्भारका लागि रेलको ट्र्याक पनि बनाएको छ, त्यो व्यापारका लागि त होइन । माथि ब्रह्मदेवमा पुल बन्यो । तर त्यो व्यापारिक प्रयोजनका लागि खोल्न सकेनौं । मैले ०७० सालदेखि निरन्तर एउटा मुद्दा अगाडि सारेर सुदूरपश्चिम आर्थिक गतिविधिमा पछाडि परेको छ, यहाँ विकास र आर्थिक गतिविधि कम भएका छन् । तर सँगसँगै यसको सम्भावना के छ भनेर ठीक ढंगले पहिचान गर्न सकेनौं कि भनेको थिएँ ।

भारतका सबैभन्दा ठूला र महत्त्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसंख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको भनेको सुदूरपश्चिममा कञ्चनपुर हो । त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल र प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै जान सकिने ठाउँ हो । त्यसैले सुदूरपश्चिमलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सकिन्छ– नेपाललाई भारत र चीनसँग जोड्ने ।

त्रिदेशीय नाकाको कनेक्टिभिटी आवतजावत मात्रै होइन, व्यापारिक, औद्योगिक र पर्यटकीय प्रयोजनका लागि महत्त्वपूर्ण हो

चीनबाट पनि लाभ लिन सकिने सम्भावना सुदूरपश्चिममा छन् । हामी सजिलो ढंगले कैलाश मानसरोवर पुग्न सक्छौं । धेरैजसो नेपाली जीवनमा एक पटक कैलाश मानसरोवर जान चाहन्छन् । सन् २०१५ मा योगी आदित्यनाथ भारतको उत्तरप्रदेशको मुख्यमन्त्री भइसकेपछि उनले सरकारी योजना नै ल्याए– मानसरोवर यात्रामा जाने उत्तरप्रदेशवासीहरूलाई १ लाख भारु उपलब्ध गराइनेछ । भारतीय हिन्दु धर्मावलम्बीहरू जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गर्न चाहन्छन् । त्यसो भएकाले त्यो पनि धार्मिक पर्यटनको ठूलो सम्भावना हो । हामीले महाकालीको किनारामा राम्रो करिडोर सडक निर्माण गरेर कञ्चनपुरलाई ताक्लाकोटसम्म जोड्न सक्यौं भने यस मार्गबाट भारतीयहरूलाई पनि मानसरोवर दर्शन गर्न जान सक्ने बनाउन सक्छौं ।

भारतले पनि कैलाश मानसरोवर पुग्ने सडक निर्माण गरिरहेको छ । भारतले नेपालको भूमिमै सडक निर्माण गरिरहेको छ भन्ने हाम्रो दाबी हो । कैलाश मानसरोवर जान सुदूरपश्चिमको नेपालको बाटो सहज छ । त्यस क्रममा बाटोमा तमाम महत्त्वपूर्ण पर्यटकीय धार्मिकस्थल छन् । कञ्चनपुरमा सिद्धनाथ, डडेलधुरामा परशुरामधाम, बैतडीमा पञ्चेश्वर त्रिपुरासुन्दरीदेखि लिएर निंगलासैनीका प्रख्यात धार्मिकस्थल छन् । त्यसो भएकाले त्रिदेशीय नाकाको कनेक्टिभिटीले मानव आवतजावत मात्रै होइन, व्यापारिक, औद्योगिक, पर्यटकीय प्रयोजनका लागि महत्त्वपूर्ण हुन्छ भने धार्मिक नाकाका रूपमा पनि विकास हुन्छ ।

यस क्षेत्रमा सडक पूर्वाधारका योजना निर्माण गर्न सके कञ्चनपुरबाट उत्तरपश्चिम मात्रै होइन, पूर्वतिर पनि आर्थिक गतिविधिमा बढावा दिन सक्छौं । जस्तो लुम्बिनीमा आउनेहरू गया, सारनाथ जान चाहने बौद्ध धर्मावलम्बीहरू तिब्बततिरबाट आउनुपर्‍यो भने यो बाटोमार्फत आउन सक्छन् । यसका लागि महाकाली करिडोरसँगै बझाङको उरै नाका खोल्दा सम्भावना बढ्छ ।

विकास निर्माणका यी काम सम्पन्न नहुनुको मुख्य कारण योजना कार्यान्वयनको कमी हो । परियोजनाको कार्यान्वयन कति कमजोर भन्ने हेर्न धेरै टाढा जानुपर्दैन । मैले मन्त्री भएका बेला ०७३ सालमा प्रारम्भ गरेको महाकालीको पुल योजनाले अहिलेसम्म पूर्णता पाएको छैन । सात वर्षमा एउटा पुल बन्न सकेको छैन । महाकाली करिडोर योजनामा कहिले हो कहिले परेको थियो । मैले पनि अर्बौं रुपैयाँ बजेट छुट्याउन लगाएर निर्माणमा भूमिका खेलें । त्यो पनि राम्रोसँग अघि बढ्न सकेको छैन । हामीले काम गर्न चाहे नहुने होइन । योजना कार्यान्वयनमा समस्या सुदूरपश्चिममा मात्रै छैन । देशभर नै यस्तो समस्या छ । कुनै पनि योजनाको कार्यान्वयन र विकास निर्माणको गतिलो कार्यान्वयन देशभर नै समस्या छ । त्यसैभित्र सुदूरपश्चिम पनि पर्छ ।

कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहको योजना छ । व्यापार भएपछि त्यो कार्यान्वयनमा आउँछ । तर अहिलेसम्म त्यसका लागि दुई देशबीचको व्यापारमा सुदूरपश्चिमबाट बढावा आएको छैन ।

गएको पाँच वर्षमा यी क्षेत्रमा काम भएका छैनन् । गफ धेरै भए तर काम भएनन् । अब ती योजना अगाडि बढाउनुपर्छ । सुदूरपश्चिमका लागि सुक्खा बन्दरगाह, महाकाली करिडोर पहिलो एजेन्डा हो भनेर अहिलेको निर्वाचनमा पनि भनेको थिएँ । महाकाली पुल (दोधारा–चाँदनी जोड्ने) निर्माण बल्ल पूरा हुन लागेको छ, जसले भारतको राष्ट्रिय राजमार्गसँग हाम्रो लिंक गराउँछ । सुक्खा बन्दरगाह भारतले बनाइदिन्छु भनेकै छ । त्यो बन्दरगाहबाट हामीले भारतीय बजारमा पठाउने धेरै संसाधन सुदूरपश्चिमसँग छन् ।

भारतको बजारमा के कुरामा प्रतिस्पर्धा गर्न सक्छौं ? हामीले सबैभन्दा ज्यादा प्रतिस्पर्धा गर्न सक्ने, भारतमा उपलब्ध नभएको तर हामीसँग भएको वस्तु जडीबुटी हो । हाम्रो जडीबुटी बढीभन्दा बढी भारत गएको छ । हरिद्वार नजिक रामदेव बाबाले ठूलो उद्योग स्थापना गरेका छन् । त्यस उद्योगमा धेरै ठूलो परिमाणमा जडीबुटी नेपालबाट गएको छ । नेपालबाट जडीबुटी गएर हरिद्वारमा उद्योग सञ्चालन हुन सक्छ भने हाम्रो सुदूरपश्चिममै किन हुँदैन ? त्यसमा हामीले राम्रोसँग प्रतिस्पर्धा गर्न सक्छौं । अतः सुदूरपश्चिममा सम्भावना भएको क्षेत्र जडीबुटी पनि हो ।

बैतडी र भारतसागका नाकामा मानिस मात्रै हिाड्न मिल्ने पुल छन्, दार्चुलामा अहिलेसम्म पनि भारतसागको नाकामा झोलुंगे पुल मात्रै छ, कञ्चनपुरमा पनि भारतसागको सडक सम्बन्ध व्यापारिक र आर्थिक छैन

अर्को कुरा जोडौं, कञ्चनपुरबाट यात्रा गर्दा त्यहाँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छ । बाह्रसिंगेका लागि यो निकुञ्ज प्रख्यात छ । त्यसभन्दा २ सय किमिपूर्व आउँदा बाघ र हात्तीका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज छ । त्योभन्दा २ सय किमिपूर्व आउनुभयो भने चितवन राष्ट्रिय निकुञ्ज, जुन एकसिंगे गैंडाका लागि प्रख्यात छ । यो ६ सय किमिको रेन्जमा संसारमा विरलै देखिने जीव देख्न पाइन्छ । भारत र चीनमा त्यो सम्भव छैन । त्यसकारण यस क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न सकियो र कनेक्टिभिटी बढाउन सकियो भने पर्यटकीय आवतजावत, धार्मिक आवतजावत लगायतका लागि महत्त्वपूर्ण छ । यसका लागि सुदूरपश्चिमको दक्षिण र उत्तरतर्फ पनि ढोका खोलौं ।

पूर्वाधार निर्माणका लागि हामीसँग दक्ष जनशक्ति पनि छन् । यसको पहिलो उदाहरण ०५६ सालमा कञ्चनपुरमा निर्मित सस्पेन्सन ब्रिज (दोधारा–चाँदनी जोड्ने झोलुंगे पुल) हो । त्यो नेपाली इन्जिनियरले डिजाइन गरेर, नेपाली ठेकेदारले नेपाली पैसामै बनाएका हुन् । त्यो पुल अहिलेसम्म पनि चलिरहेको छ ।

अहिले हामी महाकालीमा पक्की पुल बनाउँदै छौं । नेपालकै लामो पुल हो त्यो । त्यो पुल पनि नेपालकै पैसामा हाम्रै डिजाइनमा बनाइराखेका छौं । दोधारा–चाँदनीलाई मात्रै सडक सञ्जालमा जोड्ने होइन, भारतसँग व्यापारिक र आर्थिक सम्बन्ध जोड्ने त्यो पुलको उद्देश्य हो । त्योसँग जोडिएको भनेको सुक्खा बन्दरगाह हो । यस पुलले सुदूरपचिश्मसँगै भारतको राष्ट्रिय राजमार्गसँग जोड्छ । त्यो कनेक्टिभिटी भइसकेपछि दिल्ली जम्मा ३ सय किमि टाढा हुन्छ । उत्तरप्रदेशको लखनउ पनि त्यसमै आउँछ । भारतका सबैभन्दा बढी जनसंख्या, आर्थिक र औद्योगिक गतिविधि भएका उत्तरप्रदेश, दिल्ली, उत्तराखण्ड, हरियाणा नजिक पर्छन् ।

हामीसँग जनशक्ति र प्राविधिक नभएका होइनन् । तर योजना कार्यान्वयन पक्ष कमजोर छ । हामीसँग मानव जनशक्ति पनि छ, अन्य स्रोत पनि नभएको होइन । कम होला तर छ । त्यसको सही उपयोगको आवश्यकता छ ।

सुदूरपश्चिममा भौतिक पूर्वाधारको विकास सबैभन्दा बढी आवश्यक छ । जलविद्युत्को राम्रो सम्भावना छ । त्यसका लागि सडक चाहिन्छ । प्रसारणलाइन चाहिन्छ । इन्टरनेट र इलेक्ट्रिसिटी चाहियो । अनि व्यापारिक, धार्मिक र पर्यटनसहितको आर्थिक गतिविधिको प्रयोजनका लागि दक्षिण र उत्तर दुवैतिर ढोका खोल्नुपर्‍यो । भौतिक पूर्वाधारमार्फत उत्तर र दक्षिणतिर कनेक्टिभिटी पनि बढाउनुपर्छ । अनि मात्र हामीले खोजेको विकास देख्न सक्छौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया