असार २८, २०८२ शनिबार July 12, 2025

प्रमुख प्रतिपक्ष दल दाबी गर्दै नेमकिपाले सभामुखलाई बुझायो पत्र

संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेमकिपाले सभामुखलाई पत्र बुझाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाएका हुन् ।

नेमकिपाले गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । सरकारको विपक्षमा मतदान गर्ने एउटै मात्र दल नेमकिपा नै भएकाले सभामुखसमक्ष दाबी पेस गरेको नेमकिपाले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (१) बमोजिम बागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानुनी व्यवस्था अनुसार नेमकिपालाई विपक्षी दल घोषणा गर्नुपर्ने नेमकिपा सांसद गोसाईंको भनाइ छ ।

प्रदेशसभामा निर्वाचित नेमकिपाबाहेक सबै दल मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरू भएकोले आफ्नो पार्टीलाई विपक्षी दल र दलको नेता घोषणा गर्न माग गरेको गोसाईंको भनाइ छ । उक्त विषयमा आइतबार बसेको सर्वदलीय बैठकमा कांग्रेस र नेमकिपाबीच विवादसमेत भएको थियो ।

बैठकमा नेमकिपा गोसाईंले आफूलाई विपक्षी दलको नेता घोषणा गर्न माग गरेपछि कांग्रेस सांसदले विरोध गरेका थिए । कांग्रेसका सांसदले सरकारलाई आफूहरूले समर्थन नदिएको विश्वासको मत मात्रै दिएकाले केन्द्रकै अनुसार कांग्रेस विपक्षी दल भएको बताएका थिए ।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) अनुसार विपक्षी दल र नेता भन्नाले दलले संसदीय दलको नेताका रूपमा छानेको व्यक्ति रहने छ भने मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रदेश सभामा सबै भन्दा बढी सदस्य भएको दल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया