वैशाख १६, २०८१ आइतबार April 28, 2024

निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको भन्ने ओलीको अभिव्यक्ति आपत्तिजनक : सांसद शर्मा

भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको वेलामा रोस्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिन नहुने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा उनले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको वेलामा रोस्ट्रमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिन नहुने बताएका हुन्।

दोषीलाई उम्काउन खोजिँदै छ भन्ने कुरामा आफूले समर्थन गर्न सके पनि निर्दोषलाई फसाइँदै छ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्न सक्ने उनको तर्क छ। उनले कांग्रेसका नेताहरू यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै शर्माले कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे।

‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोस्ट्रममा उभिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु। दोषीलाई उम्क्याउन खोजिँदै छ भन्दै गरेको कुरामा पनि त्यो आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै। सँगै निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो। अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोस्ट्रममा उभिएर भन्नुभयो। को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ। हामी न्यायाधीश होइनौँ, यहाँबाट फैसला सुनाउनका लागि,’ उनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया