वैशाख १६, २०८१ आइतबार April 28, 2024

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न झलनाथ खनालको सुझाव

राजतन्त्र फर्कँदैन बरू राप्रपाको अध्यक्ष बन्नुस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै पूर्वराजालाई  राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्। अभिनन्दनका कुरा छन्,’ खनालले भने, ‘एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। बरू राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्।’

खनालले  हिजो आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताए। त्यसकारण यो १५ वर्षको समीक्षा गर्दै देशलाई अगाडि लैजानुपर्ने उनले बताए। होइन भने देशमा अराजकता सिर्जना हुने उनको भनाइ छ।

‘जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भुमिका खेले, खेलेकै हुन् तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भुमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको प्रतिष्ठामा आँच आएको बताउँदै यो अनुसन्धानलाई अन्तिमसम्म लगिनुपर्ने बताए।

‘अनुसन्धानमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली जनताले सहन गर्नेवाला छैनन्,’ खनालले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया