काठमाडौंः सरकारले बाँझोपन तथा निःसन्तान उपचार केन्द्र सेवा विस्तार गर्ने भएको छ । सरकारले ३ वटा अस्पतालमा यो सेवा सुरु गर्ने भएको हो । सेती प्रादेशिक अस्पताल, जनकपुर प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा सुरु गर्न लागिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले सबै संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा क्रमशः विस्तार गरिने बताएको थियो ।
यसका लागि ‘बाँझोपनको उपचार सेवा व्यवस्थापनसम्बन्धी निर्देशिका’ तयार भइसकेको परिवार कल्याण महाशाखा परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाकी प्रमुख कविता अर्याल बताउँछिन् । उनले मस्यौदा तयार भएर स्वीकृतिको चरणका लागि स्वास्थ्य मन्त्रालयमा पठाएको बताइन् । उनका अनुसार निर्देशिका पास भयो भने कुन तहले कस्तो खालको सेवा दिने भनेर निर्देशिकाले निर्धारण गर्छ । कविता भन्छिन्‚ ‘हेल्थ पोस्टले परामर्श दिन सक्छ । साथै स्क्रिनिङको पाटो पनि हुन सक्ला । त्यसपछि थप विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्न सक्छ । यो सेवा विस्तार गरे काठमाडौँमै आउनुपर्ने बाध्यता त घट्यो नि !’
निःसन्तान केन्द्रमा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी, परामर्श र ‘आईयूआई’ सेवासम्म सुविधा हुनेछ । उनी भन्छिन्‚ ‘अहिले झन्डै १० देखि १५ प्रतिशत दम्पतीहरू निःसन्तानको समस्याबाट बाँचिरहेका छन् । महिला र पुरुष दुवैमा समस्या भएकाले बच्चा नहुने भए पनि हिंसा तथा लान्छनाको सिकार भने महिला नै बढी भइरहेका छन् । बच्चा भएन भनेर हिंसाको सिकार भएका छन् ।’ हाल अस्पतालहरुमा परामर्शलगायत उपचारको सेवा भए पनि व्यवस्थित नरहेको भन्दै आगामी दिनमा ७ वटै प्रदेशमा सुरु गर्ने लक्ष्य सरकारको रहेको उनले बताइन् ।
‘उपचार केन्द्र सुरु गर्न त्यहीअनुसारको पूर्वाधार, उपकरण सबै आवश्यक पर्छ । प्रसुती रोग विशेषज्ञ, परामर्शकर्ता र ल्याबका ३ जनालाई सञ्चालनका लागि यससम्बन्धी क्षमता अभिमुखीकरण तालिम पनि दिइनेछ । धेरैले सेवा त विस्तार गर्ने जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने चासो व्यक्त गरेका छन् । यसमा पनि सरकारको ध्यानाकर्षण हुनुपर्छ,’ प्रजनन स्वास्थ्य शाखाकी प्रमुख अर्याल भन्छिन् ।
प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बाँझोपनकै समस्याले धेरै दम्पती विशेषगरी महिलाले अपेहिलत भएर मानसिक तनावमा जीवन बाँचिरहेको र धेरैको घर निकाला गर्ने, डिभोर्ससम्म भएका घटनाहरू पाइएको बताए । उनले भने‚ ‘देशभरी सेवा विस्तार भएको खण्डमा धेरै बिरामीले राहत पाउँथे । राजधानीसम्म आउँदा धेरै खर्च भइसकेको हुन्छ । ‘इनफर्टिलिटी ट्रेनिङ मोडल’ विकास हुँदै छ । यससम्बन्धी छिट्टै नै आवश्यक जनशक्तिलाई तालिम दिइनेछ ।’
महँगो सेवा लिन बाध्य
विश्वमा हरेक ६ मध्ये एकजनामा निःसन्तानको समस्या रहेको विश्व स्वास्थ्य संगठन बताउँछ । चिकित्सकहरूका अनुसार नेपालमा विवाहित दम्पतीको १५ प्रतिशतमा बाँझोपन छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार हाल नेपालमा विवाहित महिलाको औसत प्रजननदर २.१ छ । सन् २०१६ को सर्वेक्षणमा भने यो दर २.३ रहेको थियो ।
विवाहित दम्पतीका लागि बाँझोपन वा निःसन्तान मुख्य समस्याको रुपमा रहेको छ । यो सेवा विस्तार भएमा बाँझोपन पहिचान, रोकथाम र उपचार सेवा लक्षित समूहसम्म सहज रुपमा प्रदान गर्न सहयोग पुग्नेछ । नीति तथा कार्यक्रममा पनि समेटिएको यो विषयमा यसले कार्यक्रममा प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
हाल सरकारी स्तरमा ३ वटा मात्र अस्पतालमा ‘आईयूआई’ तथा ‘आईभीएफ’ सम्मको सेवा उपलब्ध छ ।त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र उपचार हुँदै आएको छ । त्रिवि शिक्षण अस्पतालमा वि.सं २०५४ देखि नै ‘आईयूआई’ सेवा सञ्चालन हुँदै आइरहेको छ । यही वर्षदेखि नै ‘आईभीएफ’ सेवा विस्तार गर्न लागिएको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. पदमराज पन्त बताउँछन् । त्रिविको आईभीएफ सेन्टर देशकै नमुना सेन्टर बन्न सक्ने उनी दाबी गर्छन् ।
त्यसैगरी प्रसूति तथा स्त्रीरोग अस्पतालले वि.सं २०३९ सालबाट ‘इन्फर्टिलिटी’ क्लिनिक भनेर सेवा सुरु गरेको थियो ।त्यसपछि २०६३ सालबाट आईयूआई (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा सुरु भयो । आईभीएफ सेवा खर्चिलो तथा विशेषज्ञता चाहिने उपचार सेवा हो । प्रसूति गृहमा यो उपचास सेवा लिन २ लाख रुपैयाँ लाग्छ भने आईयूआई सेवा ६ हजारमा हुन्छ । निजीमा यो दुवै सेवाको शुल्क दोब्बरभन्दा बढी छ ।
नेपालमा झन्डै ३० वटा जति निजी आईभीएफ सेन्टरहरू सञ्चालनमा छन् तर सबै जना मापदण्ड अपनाएर खुलेका छन् वा छैनन् राम्ररी निगरानी हुन सकेको देखिँदैन । निजीस्तरमा निःसन्तान उपचार केन्द्र धमाधम खुल्नुले नै यो समस्याबाट पीडित धेरै छन् भनेर बुझाउँछ । सक्नेले महँगोमा उपचार लिइरहेका छन् भने पहुँचमा आउन नसकेकाले यत्तिकै जीवन बिताउन बाध्य छन् ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले विराटनगर, वीरगन्ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आईभीएफ सेवा विस्तार गर्ने घोषणा गर्यो । तर सरकारले भनेअनुसार यो सजिलो छैन । आईभीएफ सेवा सुरु गर्न उच्चस्तरीय सेटअप र विशेषज्ञहरूको आवश्यकता पर्दछ । धेरै सेन्टरहरुले भारतीय चिकित्सकहरु झिकाएर सेवा दिइरहेका छन् ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णले बाँझोपन उपचारसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भइसकेको जनाए । उनले पहिलादेखि नै सम्बोधन गर्नुपर्ने यो कार्यक्रम बल्ल प्रक्रियामा आएको बताउँदै भन्छन्‚ ‘परिवार नियोजनलाई जनसंख्या नियन्त्रणको रुपमा मात्र हेरियो । यो भनेको त बच्चा कम पाउनुमात्र होइन‚ जसलाई बच्चाको रहर छ तर विभिन्न कारणले अभिभावक बन्न पाउनुभएको छैन उनीहरुलाई पनि हो । परिवार योजनाले परिवार घटाउनेमात्र होइन‚ बाँझोपनलाई पनि हेर्छ ।’
‘बाँझोपनको उपचार आईभीएफ मात्र होइन’
बाँझोपन उपचारका लागि पनि धेरैवटा प्रविधिहरु हुन्छन् । धेरैले बाँझोपनको उपचार आईभीएफ भन्नेमात्र बुझेका छन् । परामर्श तथा औषधिले पनि धेरै जनाले अभिभावक बन्ने सौभाग्य पाउन सक्ने चिकित्सकहरूको भनाइ छ । प्राथमिक उपचारमै परामर्श तथा स्क्रनिङको पाटो कमजोर भएकाले धेरै जना निःसन्तानको समस्याबाट पीडित त छन् नै ‘आईभीएफ’ जस्तो महँगो सेवा लिन बाध्य देखिन्छन् ।
प्राथमिक उपचारपछि पनि सफल नभए ‘आईयूआई’ (इन्ट्रा युटेरिन इन्सिमिनेसन) र अन्तमा आईभीएफ (इन्भिट्रो फर्टिलाइजेसन) प्रविधिमा जानुपर्ने चिकित्सकहरु बताउँछन् ।‘आईभीएफमा’ पुरुषको शुक्रकिट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा भ्रुण विकास गराएपछि गर्भाधारण गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाका अनुसार आईयूआई भनेको पुरुषको वीर्य छानेर सफा गरेर सक्रिय वीर्य महिलाको योनीबाट पाठेघरमा हालिने विधि हो । अस्पतालका अनुसार दैनिक २ देखि ७ जनाले यो सेवा लिइरहेका छन् ।
डा. थापा भन्छिन्‚ ‘कुनै पनि दम्पतीले एक वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरिकन सँगै बस्दा पनि बच्चा भएन भने त्यसपछि बाँझोपनको अवस्था हो कि भनेर जाँचपड्ताल गर्नुपर्छ ।’ शुक्रकिटको संख्यामा कमी आउनु, शुक्रकिट नष्ट हुनु आदि कारणले पुरुषमा बाँझोपनको समस्या आउन सक्छ साथै हार्मोनको गडबडी, अव्यवस्थित जीवनशैली, धुम्रपान तथा मद्यपान, प्रदूषण पनि यसका कारक हुन् । डा. थापाले विभिन्न कारणहरू पत्ता लगाएर पुरुषको वीर्य, महिलाको पाठेघर, नलीलगायत जाँच गरिने र सम्भव भएसम्म परामर्श दिई प्राकृतिक रुपमा नै गर्भ बसाउने सल्लाह दिने नभए आईयूआई र आईभीएफमा जानुपर्ने बताउँछिन् ।
वरिष्ठ प्रसूति तथा रोग विशेषज्ञ डा. भोला रिजालले बाँझोपनको उपचार आईभीएफमात्र हो भनेर गलत बुझाइ रहेको बताउँछन् । उनका अनुसार १५ प्रतिशतमा बाँझोपनको समस्या रहेको र दुवै पुरुष र महिलामा नै बराबर जस्तो दोष हुन्छ ।सरकारले आजभन्दा २०-२५ वर्ष अगाडि नै हुनुपर्ने काम अहिले सुरुआत हुनु राम्रो भएको उनको भनाइ छ । फर्टिलिटी सोसाइटी अफ नेपालका अध्यक्षसमेत रहेका डा. रिजाल थप्छन्‚ ‘जनताको मनबाट निःसन्तान भगवानको श्राप हो भन्ने भ्रम हटाउनुपर्नेछ । उपचार छ । हामीले के सोच्यौ भने निःसन्तानको उपचार भनेको टेस्ट ट्युब बेबीमात्र हो । तर‚ होइन यो त उपचारको अन्तिम विकल्प हो । यो भन्दा अघिको चरणमा पनि धेरै उपचार विधि छन् ।’कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया