काठमाण्डौंः कुस्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ।
केही समय एमबिबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुईजना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो। अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी एक अहेब रहेका छन्।
कुस्मा–४ का साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताए। उनले प्रदेश सरकारसँग नगर अस्पतालको अनुमति दिन र आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गरे पनि सुनुवाइ नभएको बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पुगेर मागपत्र बुझाएको र उहाँले केही समयमै डाक्टर पठाउने आश्वासन दिएको छ महिना बितिसक्दा पनि माग पूरा नभएको अध्यक्ष रिमालले बताए।
अस्पतालमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन्। एक्सरे मेसिन सञ्चालन नहुँदा बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताए। “सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको दुई वर्ष भयो”, उनले भने “सम्बन्धित निकायमा पटकपटक भन्दासमेत सुनुवाइ हुँदैन।”
अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरेसमेत सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या परेको छ। तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले नियमित सेवा पाउन सकेका छैनन्।
स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख लामिछानेले बताउनुभयो। नगरपालिकाले सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन।
जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको भए पनि अहिलेसम्म कुनै पहल भएको पाइएको छैन। नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसार डाक्टर ल्याउन आवश्यक पहल गरिरहेको बताए। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया