असार २२, २०८२ आइतबार July 6, 2025

खेल जगतको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको छ : मन्त्री लिम्बु

अहिलेको युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न जरुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल जगतको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

नेपाली काँग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी रहेको बताउनुभयो । सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको मन्त्री लिम्बुको भनाई छ । खेलाडीको मनोबल उच्च राख्न सरकार सधैँ लागिपरेको उहाँले बताउनुभयो । उहाँले अहिलेको युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न जरुरी रहेको पनि बताउनुभयो ।

मन्त्री लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिँडिरहेको उल्लेख गर्नुभयो । आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको भन्दै उहाँले जनअपेक्षा अनुरूप काम गर्न सक्दो प्रयास भने गरिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसलाई गुटका नाममा कमजोर बनाउन नहुने भन्दै लिम्बुले एकताबद्ध काँग्रेस अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले काँग्रेस सरकारमा सहभागी भएकाले जनउत्तरदायी बनेर मन जित्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लामा युवा, खेल र खेलाडीको विकासका लागि मन्त्री लिम्बुसमक्ष पार्टीका तर्फबाट ध्यानाकर्षण गराउनुभएको थियो । सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेता कार्यकर्ताले मन्त्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया