काठमाडौंः सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतकका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारका प्रतिनिधिबीचको वार्तापछि चार बुँदे सहमति भएको हो।
उक्त सहमति पत्रमा सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेका छन् । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्।
गएको शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषय भएको प्रदर्शनका क्रममा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको छ । त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो। सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ।
दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको हो। शव सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया