मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग

निर्माणाधीन अस्पतालको पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको हो ।

चिसापानीमा निर्माणाधीन अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको जनाइएको छ ।

करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिलर ठड्याउने काममात्र हुँदै गरेको पाइएको छ । निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिलर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस ११ गते ढलान भत्काउने मौखिक सहमति गरिए पनि कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले बताउनुभयो । “गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । निर्माण कम्पनी र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “आजको मितिसम्म भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहाँ न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै ! कमसल सामान प्रयोग गरेर निर्माण भइरहेको संरचना भत्काएर सही र गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस् । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौँ ।”

निर्माणाधीन अस्पतालको जगमा ढलानका लागि सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताउनुभयो । “गाउँपालिकाका तर्फबाट ल्याब टेष्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका छन् । गुणस्तरमा शङ्का लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेष्टमा पठाइएको थियो । ल्याब टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ”, उहाँले भन्नुभयो, “सुरुमा स्याम्पल देखाउनुभो । ल्याब टेष्टमा पास भएमात्र ल्याउनु भनेका थियौँ । तर ल्याएर झारेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ । बीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौँ जानुप¥यो । त्यही बेला बालुवा मिसाएर चलाइदिएछ । यहीँबाट समस्या आएको हो ।”
निर्माणाधीन अस्पताल भवनमा ठेकेदारले बारीबाट माटै उठाएर ल्याएको भन्ने स्थानीयबाट जानकारी आएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले बताउनुभयो । “ठेकेदारले माटो मिसिएको बालुवा ल्याएर थुपार्नु नै गल्ती भयो । तुरुन्त हटाउनु भनेका थियौँ । मेसिन नभएर लगिनौँ भन्ने गरेको थियो”, उहाँले भन्नुभयो, “हामीले तुरुन्त हटाउ भनेका थियौँ । प्रयोग त गरे होलान् । इन्जिनियरले पनि नगर्नुस् भनेको रहेछ । तर ल्याबमा हाल्नुपर्छ भनेर पठाइएको थियो । ल्याबमा फेल भएको भन्ने छ । गुणस्तरहीन सामग्री प्रयोग भएको रहेछ भने तत्काल भत्काएर पुनः निर्माण गर्न लगाउँछौँ ।”

निर्माणाधीन अस्पतालमा खटिएका सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गामीले भने अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गर्नुभयो । ल्याब परीक्षण फेल भएपछि त्यो बालुवालाई नचलाई जगको सर्फेस मिलाउनमात्र प्रयोग गरेको इन्जिनियर गामीले जानकारी दिनुभयो ।

कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन विसं २०७७ मङ्सिर १५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार