काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समतामुलक र समावेशी समाज नै संघीय लोकतान्त्रिक गणतन्त्रको विशेषता भएकाले सर्वसाधारण नागरिकले विना भेदभाव बाँच्न पाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय समावेशी आयोगले स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमल्सिनाले विभिन्न जातजाति, भाषाभाषीभित्र पनि वर्गीय समानता हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संवैधानिक आयोगहरूले राष्ट्रिय सभामा पेस गर्ने वार्षिक प्रतिवेदनबारे छलफल गर्ने गरी नयाँ कानूनी व्यवस्था गरेको बताउनुहुँदै अध्यक्ष तिमल्सिनाले संवैधानिक अयोगहरूलाई प्रतिस्पर्धा हुने गरी कार्य सम्पादन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सिनाले राज्यले अब वर्गीय समावेशीकरण खोजेकाले सामाजिक न्यायका लागि एक जुट भएर नीति निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
आयोगका सदस्य विष्णुमाया ओझाले आयोगले गर्ने विभिन्न ११ वटा क्षेत्रमा अध्ययन अनुसन्धान गरी सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयनमा बेवास्ता गरिएको बताउनुभयो ।
यस अवसरमा नेपालमा समावेशीकरण संक्षिप्त जानकारी विषयक पुस्तकको पनि लोकार्पण गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया