श्रावण ४, २०८२ आइतबार July 20, 2025

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आएको र नागरिकले सोहीअनुसार सेवासुविधा पाउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् ।

अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट कम आउने गरेको उहाँको भनाइ छ । हाल गाउँका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापनपछि टाढाका गर्भवतीलाई सहज हुँदै गएको प्रमुख खनाल बताउनुहुन्छ । कहिलेकाहीँ टाढाबाट स्वास्थ्य संस्थामा आउँदाआउँदै बाटोमा समेत नवजात शिशु जन्मने गरेको उहाँको भनाइ छ ।

“अहिले नागरिकमा चेतनाको वृद्धि भएको छ, पहिलेजस्तो घरमै शिशु जन्माउनुपर्छ भन्ने सोचको अन्त्य भएको छ, गर्भवतीको घरघरमा स्वयंसेविका पठाउने, फोन, एसएमएसमार्फत जानकारी गराउने गर्छौँ, जनचेतना फैलियो, उहाँहरू पनि सचेत हुनुभयो, त्यही भएर घरमा बच्चा जन्माउने अवस्थाको अन्त्य भयो”, उहाँले भन्नुभयो, “अहिले त गर्भवतीको मोबाइलमा गर्भ जाँच्न आउनु भनेर म्यासेज जान्छ, त्यही भएर पनि कसैले घरमा नवजात शिशु जन्माउनुहुन्न ।”

उहाँका अनुसार बागलुङ नगरपालिकाको १४ वटा वडामा २३ स्वास्थ्य संस्था छन् । ती मध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिकामा एउटा नगर अस्पताल, नौवटा स्वास्थ्य चौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र, आठवटा सहरी स्वास्थ्य एकाइ र एउटा मातृ तथा शिशु क्लिनिक रहेका छन् । स्वास्थ्यसम्बन्धी सेवासुविधा बढेपछि नागरिकले समस्या भोग्नु नपरेको उहाँको भनाइ छ । गत वर्षको तथ्याङ्कमा धवलागिरि अस्पतालमा मात्रै एक हजार महिला सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागि नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको बताउनुभयो । आमा र शिशुको ज्यानको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन जरुरी रहेको हुँदा नगरपालिकाले सोहीअनुसार प्रोहोत्सन गर्दा अहिले पालिका शून्य होमडेलिभरी हुन पुगेको उहाँको भनाइ छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आएको र नागरिकले सोहीअनुसार सेवासुविधा पाउन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो स्वास्थ्य हो, नागरिकको स्वास्थ्य बचाउनु हाम्रो दायित्व हो, यसमा हामी प्रतिबद्ध भएर लागेका छौँ, बजार क्षेत्रका नागरिकले त धवलागिरि अस्पतालबाट सेवा लिन सक्नुहुन्छ, गाउँबाट आउनेलाई समस्या हुन्छ, त्यसले गर्दा गाउँगाउँका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ, नगरपालिकाभरि एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार