असार ३०, २०८२ सोमबार July 14, 2025

आईओएमको डिन नियुक्ति सच्याउन डा. केसीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार वरिष्ठता मिचेर डिनमा डा.दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् ।

वरिष्ठताकै आधारमा डिन लगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले शुक्रबार जारी विज्ञप्तीमा भनेका छन् । ‘यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ’ उनले भनेका छन् ।

वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको पनि बताएका छन । ‘त्यसो हुँदा संस्था फेरि धराशायी हुने निश्चित छ’ केसीले विज्ञप्ति जारी गरी भनेका छन् ।

डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली-प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

यस्तो छ डा. केसीले जारी गरेको प्रेश विज्ञप्तीः

प्रेस विज्ञप्ति

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं । हामीले यो अभियानको शुरुआती चरणदेखि नै सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुमा व्याप्त चरम् राजनीतिकरण र दलीय भागवण्डा रोक्न संघर्ष गरिरहेका छौं । त्यही भागवण्डाका कारण धराशायी हुने अवस्थामा पुगेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) वरिष्ठताका आधारमा डिन नियुक्ति भएपछि उक्त संस्थाका अवस्थामा उल्लेख्य सुधार भएको छ ।

त्यसैले यसपल्ट पनि वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर हामीले बारम्बार सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँदै आएका हौं । त्यसको बाबजुद वरिष्ठताको आधार लत्याएर डिन नियुक्ति भएकोमा हाम्रो गम्भीर आपत्ति छ । यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ । अहिले नै पार्टी कार्यकर्ताहरु आइओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेका छन् । तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागी परेका छन् । त्यसो हुँदा संस्था फेरि धराशायी हुने निश्चित छ ।

त्यसैले हाल भएका तथा अब हुने नियुक्तिका कारण सिर्जना हुने कुनै पनि परिस्थितिका लागि प्रधानमन्त्री केपी ओलीको सरकार जिम्मेवार हुनेछ । यस अगाडि हामी सत्याग्रहमै रहँदा माफियाहरुको हित हुने गरी चिकित्सा शिक्षा ऐन पारित गर्नमा प्रधानमन्त्री ओलीको मुख्य भुमिका थियो भने त्यस अघि र पछि समेत मेडिकल माफियाहरु उनको निकटका मानिसहरु तथा पार्टीका नेता र कार्यकर्ता छन् । वरिष्ठताका आधारमा हुने नियुक्तिलगायत सुधारका जति काम पनि अहिलेसम्म भए, ती उल्ट्याउन सके फेरि माफियाराज चलाउन पाइन्थ्यो भनेर नै उनीहरुले अहिले आइओएमजस्ता नियामक निकायहरुलाई धराशायी बनाउने प्रयास गरिरहेका छन् ।

हामीले बारम्बार पदाधिकारी नियुक्तिका लागि पराशर कोइराला समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग राखेका छौं । पदाधिकारी नियुक्तिको त्यस्तो विधि कायम नहुँदासम्म सरकारमा हुने व्यक्तिहरुले आफ्नो खल्तीका मानिसलाई पदाधिकारी बनाउने, ती पदाधिकारीको वफादारी संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने नेताप्रति हुने र अन्ततः संस्था धराशायी हुने अवस्था आउँछ । व्यवहारमा बारम्बार यो कुरा पुष्टि भइसक्दा पनि सार्वजनिक संस्थानहरुको नियुक्तिमा सरकारले निरन्तर दलीय वफादारितालाई मात्रै आधार बनाएको छ । सरकारको यस्तो कदम हामीलाई सह्य छैन ।

यही बेला भ्रष्टाचारका लागि बदनाम माफिया तथा प्रचण्डका कार्यकर्ता पूर्व पदाधिकारीहरुले हाम्रो अभियानको नाम भजाएर पद हत्याउने होडमा लागेका छन् भन्ने समाचार हामीलाई प्राप्त भएका छन् । त्यसप्रति हाम्रो कडा आपत्ति छ । विगतमा जसका कुकृत्यका कारण आइओएमजस्तो संस्था धराशायी बनेको थियो, त्यस्ता व्यक्तिहरु कुनै पनि हालतमा पदाधिकारी बन्नु हुँदैन । साथै कुनै पनि पार्टी कार्यकर्ताहरुले आफ्नो स्वार्थ पूरा गर्न हाम्रो नाम भजाउन खोज्छन् भने त्यो हामीलाई स्वीकार्य छैन । हामी कहिल्यै पनि कुनै व्यक्ति वा पार्टी विशेषका लागि नभएर विधि र थिति बसाल्न लड्दै आएका छौं ।

त्यसैले कुनै पनि नियुक्ति दलीय वफादारीका आधारमा नभई वरिष्ठताका आधारमा गर्न तथा वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दर्छौं । त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली-प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।

डा. गोविन्द केसी
२०७७।३।५ गते ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार