श्रावण ४, २०८२ आइतबार July 20, 2025

रेबिज रोकथाम गर्न बन्ध्याकरण र खोप अभियान

‘नेपालमा बर्सेनि ६० देखि एक सय व्यक्ति र ४० देखि ५० हजार सङ्ख्याका गाईवस्तु रेबिजकै कारण मर्ने गरेको तथ्यांक छ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रेबिज रोग रोकथामका लागि कैलालीमा थालिएको बृहत् खोप अभियानअन्तर्गत १० हजार सङ्ख्याका घरपालुवा कुकुर र बिरालोमा रेबिज रोगविरुद्धको खोप लगाइएको छ।

खोप अभियानका क्रममा सात सयभन्दा बढी सङ्ख्याका भाले र पोथी सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाका सबै १३ पालिकासँग समन्वय गरेर रेबिज रोगविरुद्धको खोप चलाइएको हो।

स्थायी बन्ध्याकरण गरिएका कुकुरको पहिचानका लागि उनीहरूको कानमा ‘नचिङ’ (सांकेतिक चिह्न) गरिएको छ। बन्ध्याकरणबाट कुकुरको प्रजननदर नियन्त्रण गरी बच्चा जन्मिने क्रम रोक्न सकिने बताइएको छ।

कैलालीसहितका जिल्लामा विपन्न समुदाय रहेको ग्रामीण बस्तीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिज रोगको जोखिम पनि बढेको बताइएको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले टोलबस्तीमा पाल्तु कुकुरको सङ्ख्या बढेसँगै बढेको रेबिज रोगको जोखिमलाई रोक्न खोप र बन्ध्याकरण अभियान थालिएको बताए।

‘जिल्लाको गौरीगंगा नगरलाई रेबिज रोगविरुद्धमा पूर्ण खोपयुक्त नगरपालिका बनाउने योजना छ,’ उनले भने, ‘खोप दिइएका कुकुर, बिरालोमा रोग प्रतिरोधी क्षमताका लागि खोप दिएको तीन महिना पूरा भएपछि बुस्टर डोज लगाउने गरी खोपकार्ड वितरण गरेका छौं।’

रेबिज रोग तातो रगत भएका स्तनधारी पशुपक्षीमा लाग्ने ‘लिस्सा’ भाइरसबाट हुने प्राणघातक रोग रहेको डा. अवस्थी बताउँछन्। खोप लगाउन सकिएमा यो रोगबाट बच्न सकिन्छ। यो रोग लागेको पशुले मानिसमा टोक्दा यसको भाइरस दिमाग वा गिदीमा पुगेपछि रोगको लक्षण देखिन सुरु हुन्छ।

रेबिज रोगका जंगली र सहरी गरी दुई चक्र हुन्छन्। जंगली चक्रमा जंगली स्याल, फ्याउरो, भ्याम्पायर, चमेरोमा हुन्छ। सहरी चक्र सहर गाउँबस्तीमा पालिएका कुकुर, बिरालो र स्तनधारी पशुमा हुन्छ।

रेबिज लागेको जङ्गली स्याल, फ्याउरो र घरपालुवा सामुदायिक कुकुर, बिरालोको सम्पर्क भई टोकाइ भएमा यो रोग मानिसमा सर्ने गर्छ। यस्तो जोखिको अवस्थामा पाल्तु कुकुरको व्यवस्थापन र बृहत् खोप कार्यक्रम गरेर रेबिजको भाइरसको सम्पर्क टुटाउन सक्नुपर्ने पशुचिकित्सकको भनाइ छ।

‘सहरी र जंगली चक्रबीचको सम्पर्क टुटाउन नसकिएमा रेबिजको जोखिम रहिरहन्छ,’ डा. अवस्थीले भने, ‘नेपालमा बर्सेनि ६० देखि एक सय व्यक्ति र ४० देखि ५० हजार सङ्ख्याका गाईवस्तु रेबिजकै कारण मर्ने गरेको तथ्यांक छ।’

अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपालमा सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य राखिएको छ। पशु अधिकार र पशु कल्याणका दृष्टिमा कुकुरलाई मार्न नपाइने भएकाले मानवीय तवरबाट कुकुरको सङ्ख्या घटाउनका लागि यसको बन्ध्याकरण गर्नुपर्ने विश्वव्यापी अभ्यास छ।

यसका अतिरिक्त रेबिज रोग नियन्त्रण गर्न नागरिकमा निरन्तर जनचेतना अभिवृद्धि कार्यक्रमका साथै सबै टोलबस्तीका कुकुरमा खोप र बन्ध्याकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ।

विश्व स्वाथ्य संगठनको तथ्यांकका अनुसार रेबिज रोगकै कारण विश्वमा बर्सेनि ६० हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। मृत्यु हुनेमा आधाभन्दा बढी पाँचदेखि १५ वर्ष उमेर समूहका बढी रहेको जनाइएको छ। रेबिज लागेको कुकुरसहित अन्य पशुबाट यो रोग लाग्न सक्ने भए पनि ९५ प्रतिशत रेबिज रोग कुकुरको टोकाइबाट लाग्ने गरेको तथ्यांक छ।

नेपाललगायत विकासोन्मुख मुलुकमा रेबिज लागेर बौलाएका कुकुर, बिराला, स्याल, फ्याउरोले टोकेका मानिसले त्यति वास्ता नगर्ने गरेको, चिकित्सको सल्लाह नलिने र खोप पनि नलाउने प्रवृत्ति रहँदा रेबिजको जोखिम रहेको बताइन्छ।

रेबिज लागेको बौलाहा कुकुरलगायतका पशुले टोकेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप लगाउनुपर्छ। त्यस्ता पशुलाई पनि एन्टिरेबिज खोप लगाउनुपर्छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार