असार २८, २०८२ शनिबार July 12, 2025

संसद बैठकमा संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सदनमा प्रस्तुत गर्नुभएको संघीय निजामती सेवा विधेयकमा सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा सांसदहरुले निजामती सेवामा कस्तो व्यक्तिलाई प्रवेश गराउने भन्ने मुख्य विषय भएको भन्दै प्राज्ञिक हिसाबले काविल र नैतिक हिसाबले प्रतिबद्ध व्यक्ति निजामती सेवामा आवश्यक रहेको धारणा राख्नुभयो ।

सांसदहरुले निजामती सेवामा एउटा मात्र आधिकारिक सङ्गठन राख्नुपर्ने, निजामती सेवा समावेशी र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्ने लगायतका विषयहरू उठाउनुभयो ।

सांसदहरुले कर्मचारीमा हुने हुकुमी शासनको अन्त्य गर्नुपर्ने, राजनीतिभन्दा टाढा राख्नुपर्ने, कर्मचारीहरू विदेशी सङ्घसंस्थामा जाने आशक्ति रोक्नुपर्ने, झन्झटिलो प्रक्रियामुखी प्रणालीको अन्त्य गर्नुपर्ने लगायतका धारणाहरू राख्नुभयो ।

यसअघि, विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माण, संसद्को प्रभावकारिता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले ‘ल्याण्डफिल्ड साइट’ प्रभावित जनताको समस्या, संसदीय समितिको काम कारबाही प्रभावकारी हुन नसकेको, भारतले दैनिक उपभोग्य वस्तु खरिदमा अवरोध तथा अपमानपूर्ण व्यवहार गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यक्षेत्रमा हस्तक्षेप भएको, नेपालभित्र उत्पादित वस्तुको बजारीकरण हुन नसकेको, सवारी दुर्घटना बढिरहेको, सहकारी ठगीका दोषीलाई कारबाही हुन नसकेको र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या साधान हुन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठक जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया