काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।
मुख्यमन्त्री शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । उनले विश्वासको मत पाउने या नपाउने अझै स्पष्ट छैन ।
५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया