जेठ ४, २०८१ शुक्रबार May 17, 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी। मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

वासन्ती छठ षष्टि तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अर्घ्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी/चेली (छोरी, दिदीबहिनी, फुपू), मित/मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार