काठमाडौं । सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसदहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । साथै, स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन । उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन। सोही पार्टीका डा विमला पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन,शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरिन् ।
नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरिन् । उक्त घटनामा सांसदसमेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहार्याउनसमेत आग्रह गरिन्
सोही पार्टीकी तारादेवी भट्टले कोभिड–१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याइन् । चुरेको दोहन रोक्न गम्भीर कदम चाल्नसमेत उनले सरकारलाई आग्रह गरिन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया