श्रावण ३१, २०८३ आइतबार August 16, 2026

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर (कैलाली), २२ जेठ : कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ ।

टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सक सेवा, प्रयोगशाला परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरिएको छ । यसका साथै क्षयरोग परीक्षण र आँखा उपचार सेवा प्रदान गर्न थालिएको छ ।

शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिकको घरदैलोसम्म उपचार सेवा पुर्याउने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “पहिलो दिन आइतबार तीन सय एकजनाको उपचार गरिएको छ । वडा नं २ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नशा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् ।

थारू समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि प्रयोगशाला सुविधा गाउँगाउँमा लगिएको र शङ्का लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । नगरपालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ ।

स्वास्थ्य उपचार सेवा लिनुभएका रामेश्वर चौधरीले खुसी लागेको बताउनुभयो । “आँखा, कान तथा नसासम्बन्धी समस्या थियो”, उहाँले भन्नुभयो, “राम्ररी हिँड्न सक्दिनँ, नातिले लिएर आएको हो । एकै ठाउँमा सबै उपचार पाएँ । नगरपालिकाले राम्रो सेवा दियो ।”

नगरप्रमुख रामलाल डगौरा थारूले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले नगरपालिकाले गाउँगाउँमा सेवा दिन थालेकोे बताउनुभयो । “हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो”, उहाँले भन्नुभयो, “एकै ठाउँमा धेरै खाले उपचारका लागि एकीकृत सेवा दिन थालेका हौँ ।”

वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताउनुभयो । स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्रीकृष्ण आँखा अस्पतालका चिकित्सकले उपचार सेवा दिनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार